Logo
Logo

राजनीतिमा कलाकारको योगदान के छ ?


एमपी सुब्बा


एमपी सुब्बा

‘दिएपछि लिने कि लिएपछि दिने ?’ एक बरिष्ठ कलाकार तथा निर्देशकले पंक्तिकारसँग प्रश्न गर्दै गुनासो पोखे, ‘यहाँ लिनेहरुबीच नै हानथाप देखिन्छ, आशा के राख्नु ।’

प्रसंग, साता दिनअघिको हो, जतिखेर नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति अन्तिम चरणमा पुगेको थियो । निर्वतमान अध्यक्ष निकिता पौडेलले पदबाट राजिनामा दिएपछि केही चलचित्रकर्मीले अध्यक्ष बन्न आवेदन दिएका थिए । ती आवेदन दिनेमध्ये उनी एक थिए । आफू अध्यक्ष नबन्ने पक्का भएपछि उनीमा त्यो निराशा पैदा भएको थियो ।

विगतको पृष्ठभूमि हेर्दा राजनीतिक नियुक्तिकै कारण यसअघिका विकास बोर्डका अध्यक्षहरु विवादित बनेका छन् । तर, यसपटक विकास बोर्डको अध्यक्ष नियुक्तिप्रति विवाद आएन ।

यसै साता मन्त्रिपरिषदको निर्णयले विकास बोर्डको अध्यक्षमा बरिष्ठ कलाकार केशव भट्टराईलाई नियुक्ति गरेको छ । भट्टराईको नियुक्ति राजनीति भएपनि चलचित्र क्षेत्रमा पु¥याएको योगदान र क्षमताका कारण कलाकर्मीले सरकारको निर्णयलाई स्वागत गरेका छन् ।

अध्यक्षमा भट्टराई नियुक्ति भएपछि निर्देशक समाजका अध्यक्ष आकाश अधिकारीले भने, ‘बोर्डले आफ्नो इतिहासमै पहिलोपटक सक्षम अध्यक्ष पाएको छ । यसमा हामी सम्पूर्ण चलचित्रकर्मी खुसी छौँ ।’ नवनियुक्त अध्यक्ष भट्टराईले फिल्म क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

पदभार ग्रहणकै दिन अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने प्रतिवद्धता जाहेर गरे । अध्यक्ष भट्टराईको स्वागतमा बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने, ‘विगतका दिनमा चलचित्र विकास बोर्डमा के कस्तो काम भए त्यो मलाई थाहा छैन । मेरो कार्यकालमा फिल्म क्षेत्रको श्रीबृद्धिमा लागि पर्नेछु ।’ उनले आफूले राजनीतिक दलको कार्यकर्ता भएर पदभार ग्रहण नगरेको पनि दावी गरे ।

अध्यक्ष भट्टराईले भने, ‘चलचित्र क्षेत्रका संघसंस्थामाथि कुनैपनि खालको हस्तक्षेपकारी नीति अपनाउने छैन ।’ उनले सरकारलाई १६ बुँदे महत्वाकांक्षी कार्ययोजना बुझाएको र छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गर्ने बताए ।

राजनीतिमा कलाकारको योगदान

नेपाली कलाकारिता क्षेत्र राजनीति निरपेक्ष छैन । नेपालको राजनीतिक इतिहासलाई केलाउने हो भने त्यहाँ कलाकारको योगदान पक्कै भेटिन्छ । जसरी राजनीतिक परिवर्तन आन्दोलन र निरन्तर संघर्षबाट प्राप्त भएको छ, त्यसमा कतै न कतै कलाकारको योगदान छ ।

देशमा बहुदल स्थापना गर्न पञ्चायती व्यवस्थाविरुद्ध रामेश, रायन, जेबी टुहुरे, खुसीराम पाख्रिन, मञ्जुल, जीवन शर्मा, मणि थापा, राजन राईजस्ता कलाकारले गाउँगाउँ पुगेर विद्रोहका गीत गाएका थिए । पञ्चायतविरोधी हरेक कार्यक्रममा उनीहरुको सहभागिता अनिवार्यजस्तै हुन्थ्यो त्यो समय ।

दसवर्षे माओवादी द्वन्द्वका बेलामा जीवन बाजी राखेर खुसीराम पाख्रिन, मणि थापा, ध्रुव ज्ञवाली, चुनु गुरुङ, शारदा श्रेष्ठ, मस्त विष्ट, माइला लामा, च्याङ्बा लामा, दिलमाया बम्जनजस्ता कलाकारले विद्रोहको बिगुल नफुकेका होइनन् ।

यस्तै, २०६२÷०६३ को जनआन्दोलनमा कलाकारको सहभागिताले राम्रै चर्चा पाएको थियो । राजनीतिक परिवर्तनपछि नेताहरू सत्ताका भागीदार बने । तर, कलाकारहरु सडकमै भए । कलाकारले आफ्नो पहिचान विस्तार गरेपनि त्यसमा राज्य र पार्टीको भूमिका छैन । तापनि राजनीतिक दलप्रति कलाकारको यति धेरै आकर्षण घतलाग्दो विषय बन्दै गएको छ ।

हुन त २०६२÷०६३ सालको जनआन्दोलनपछि केही कलाकार खुला राजनीतिमा देखिए । तर, ठूलाठूला राजनीतिक परिवर्तनमा सडक तताएका कलाकार त्यस्तै बेलामात्रै प्रयोग भए । न त राज्यको नीति निर्माण एवं निर्णायक तहमै कलाकारलाई ठाउँ दिइयो ।

अहिले गायिका कोमल वली राष्ट्रियसभा सदस्य छिन् । तर उनी कलाकार भएकै कारण यहाँसम्म पुगेकी होइन । जबकि कोमल वली एक प्रभावशाली सञ्चारकर्मी पनि हुन् । जसले गर्दा राजनीतिमा पहुँच पु¥याएरै राष्ट्रियसभा सदस्यसम्म पुगेकी हुन् । तर, पहुँच नभएकाहरु भने सडकमै छन् । कोमली वलीलेजस्तै, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, अभिनेता भुवन केसी, गायक बद्री पंगेनी, चलचित्र निर्देशक दिनेश डीसी, संगीतकर्मी अशोक राई, सूर्य थुलुङ, हास्यकलाकार मनोज गजुरेल, केशव भट्टराई, कृष्णभक्त महर्जन, उत्तम केसी, अशोक राईलगायत कलाकार तथा संगीतकर्मीले स्थानीय तहको चुनावमा तत्कालीन एमालेको नीति, विचारलाई गीतसंगीतमार्फत जनसमक्ष पु¥याउन ठूलै योगदान गरेका थिए ।

राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण

राज्यप्रति कलाकारको एउटै गुनासो छ, त्यो हो ‘कलाकारका लागि राज्यले केही गरेन ।’ कलाकारलाई राज्यले गर्ने एउटैमात्र उपाय हो, चलचित्र विकास बोर्ड र विभिन्न प्रज्ञा प्रतिष्ठानहरुमा नियुक्ति । तर, नियुक्तिमा पनि गैरकलाकार र पहुँचवालाले मात्र स्पेश पाउने गरेको गुनासो उनीहरुको छ । विगतका सरकारसँग उनीहरु यति रुष्ट भए, उनीहरुले ‘कलाकार राष्ट्रका गहना’ भन्ने भनाईलाई समेत अस्वीकार गर्न थाले ।

‘हामी गहना होइनौँ, जबकि आवश्यकता पर्दा मात्रै प्रयोग हुने भयो, हामी राष्ट्रको विकासमा एक हिस्सा बन्न चाहन्छौँ’ कलाकार संघका अध्यक्ष रामेश्वर बोगटीले भने, ‘वर्तमान सरकारको ‘समृद्ध नेपाल’ निर्माणमा हामी कलाकारले आफ्नो तर्फबाट योगदान गर्न सक्छौँ, तर यसका लागि हामीलाई राज्यले स्थान दिनुपर्छ ।’

वर्तमान सरकारले कलाकारका गुनासाहरुलाई शिरोधार्य गर्ने जनाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल’ निर्माणमा कलाकारको योगदान अपरिहार्य हुने पटक–पटक बताउँदै आएका छन् । ‘यो सरकार कलाकारप्रेमी सरकार हो । कला क्षेत्र र कलाकारका लागि यो सरकारले धेरै सोचेको छ’ करिब एक महिनाअघि अनामनगरस्थित मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘वर्तमान सरकार कलाकारप्रेमी हो, त्यसैले कलाकारका लागि केही गर्ने सोच बनाइसकेको छ ।’

प्रधानमन्त्री ओलीको यस्तो भनाइसँगै आशावादी बनेका कलाकारले पनि राज्यले स्थान दिए सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा बोकेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्