कहिल्यै नसकिने ‘घरबेटी पिरलो’ « Drishti News – Nepalese News Portal
Logo

कहिल्यै नसकिने ‘घरबेटी पिरलो’


नवीन राई


०७१ सालमा उच्च शिक्षा लिने, जागिर खाने, ठूलो मान्छे बन्ने सपना बोकेर राजधानी काठमाडौं छिरेको थिएँ । सायद, यस्तो सपना मेरोमात्रै होइन, गाउँमा जन्मिएका प्रायः सबैको हुन्छ ।

क्याम्पस भर्ना भएसँगै मेरोजस्तै सपना बोकेर आउने धेरै भेटिए । उनीहरु कोही ‘हलो’ साथी बने, कोही ‘चलो’ साथी बने र कोही ‘भलो’ साथी । ‘भलो’ साथीहरुबीच कुरा भयो, सँगै बसौँ । हामी सबै आ–आफ्नो आफन्तकोमा बस्दै आएका थियौँ । आफन्तहरुकोमा पनि कति बस्नु । उनीहरु पनि देशकै परदेशी हुन् ।

सबैको सपना र समस्यालाई एउटै चितामा हाल्यो । र, सबैले काँध थाप्यौँ । ०७२ सालको भूकम्प पछिको कुरा हो । तीन जना ‘भलो साथी’ सँगै बस्न थाल्यौँ । आफ्नो थाँतथलो छाडेर बसाइँ सरेको भोगाई कतै असाध्यै मिठो, कतै नमिठो ! समस्या पनि अनेक । त्यसैमध्येको एउटा समस्या हो, कोठा नपाउने ।

लगातार नौं दिन कोठा खोजेपछि फ्ल्याट पायौँ । जहाँ, एउटा किचन र दुई वटा कोठा थियो । तीनवटा कोठामा तीन चुलाजस्तो मान्छे । तीन वर्ष राम्रैसँग बित्यो । घरबेटीसँग पनि कुनै द्वन्द्व भएन ।

समयसँगै जिम्मेवारी पनि थपिँदै गयो । हाम्रै जस्तोे सपना बोकेर भाइबहिनी पनि राजधानी आए । त्यहिँ घरमा अर्को एउटा कोठा थप्यौँ । एकजना साथीले बिहे पनि गरे । कोठा चार । मान्छेको संख्या ६ पुग्यो । मान्छे र कोठाको संख्यासँगै घरबेटीसँगको सम्बन्धको दूरी पनि बढ्दै गयो ।

भाडामा बस्ने धेरैको गुनासो हुन्छ, घरबेटीसँग– पर्याप्त पानी नदिने, पाहुना आए कचकच गर्ने, राती ढिलो पुगे गेटमा ताल्चा लगाइदिने आदि । हाम्रो पनि यस्तै गुनासो थियो । पाहुना आउनसाथ पानी गायब ! शनिबार पनि पानी गायब ! र पनि, घरबेटीसँग त्यति धेरै गुनासो थिएन । उनीहरुको पनि आफ्नै समस्या र बाध्यता होला भन्ने लाग्यो ।

जब कोठाबाट कोही निकालिए, कसैले कोठा पाएनन् भन्ने हल्ला चल्छ । तब घरबेटीको एउटा व्यवहारले सँधै सताउँछ । अहिले दलित भएका कारण काठमाडौंमा डेरा नपाएको अमानविय परिघटना सेलाएको छैन । उक्त कुराले फेरि एकपटक सम्झाइदियो ०७६ कात्तिक ।

०७६ कात्तिकमा हाम्रो परिवारमा एउटा खुशी थपियो । चार वर्षदेखि सँगै बस्दै आएका एक साथी बुबा बने । हाम्रो परिवारमा एउटी लक्ष्मी थपिइन् । त्यो खुशीसँगै ‘घरबेटी समस्या’ थपियो । आमा र बच्चाको स्वास्थ्यमा समस्या आयो । आमालाई हेल्पिङ हेण्डस् र बच्चालाई बालक्रान्ति अस्पतालमा राख्नुपर्यो ।

बहिनीसँग सोधेँ, उनी किन रोएकी ? बहिनीले सुनाइन्– ‘घरबेटी आन्टीले भोलि नै निस्केर जाऊ भने ।’ कारण थियो– बच्चा भएकालाई कोठा नदिने । उनी सुत्केरी भएको साता दिन पनि भएको थिएन ।

हप्ता दिनको अस्पताल बसाइपछि आमा कोठा फर्किन् । त्यो दिन पनि सधैंझैँ साढै नौ बजेतिर कोठा पुगेँ । बहिनी किचनमा आँखाका ढिलभरी आँसु पार्दै खाना पकाउँदै थिइन् । अर्को कोठमा साथीकी श्रीमती सुँक्कसुँक्क गरेर रोइरहेकी थिइन् ।

छोरी बालक्रान्तिको आइसियूमै थिइन् । ठाँने, छोरीको स्वास्थ्य जटिल भयो । साथीलाई फोन गरेँ । छोरीको स्वास्थ्य अवस्था बुझेँ । ‘चिन्ता नगर, एक/दुई दिनमा अस्पताबाट डिस्चार्ज हुन्छ’ भन्ने साथीको जवाफ पाएपछि ढुक्क भयौँ ।

बहिनीसँग सोधेँ, उनी (साथीकी श्रीमती) किन रोएकी ? बहिनीले सुनाइन्– ‘घरबेटी आन्टीले तिमीहरु मेरो घरमा नबस, भोलि नै निस्केर जाऊ भने, अरु कोठा खोज्दा पनि पाइएन ।’

घरबेटीले निस्केर जाऊ भन्नुको कारण थियो– बच्चा भएकालाई कोठा नदिने । साथीकी श्रीमतीलाई सम्झायौँ तर सकेनौँ । उनी खान नखाइ सुँक्कसुँक्क रोइरहिन् । सधैंजस्तै बिहान पाँच बजे अफिसतिर लागे ।

बेलुका कोठा फर्कँदा सुनसान थियो । बेडहरु थिएन, किचनमा पनि थोरैमात्रै सामानहरु थिए ।

बैनीबाट थाहा पाएँ । साथीहरुले नजिकै फ्ल्याट भेटेछन् । त्यहाँ पनि घरबेटीले पाँच जनाभन्दा बढी बस्न नदिने भनेपछि साथीहरुले मेरो भागको सामान छाडेर त्यहाँ सरेछन् । त्यो थाहा पाएपछि अलिकति भएपनि मन शान्त भयो ।

उनीहरुलाई भेट्न गए । सबै घटनाक्रम सुनायो । साथीले भने, ‘हामीले एक अर्कालाई राम्रोसँग चिनेका छौँ । तँलाई सबै कुरा थाहा छ, यहाँ पनि यस्तै भयो, के गर्ने केटा छुटेर बस्ने मन त थिएन तर बाध्यता छुट्नुपर्ने बनायो ।’

साथीहरु सरेकोमा मलार्ई कुनै दुखमनाउ थिएनँ । साथीसँग छुट्नु परेको दुःखभन्दा कोठा पाएकोमा धेरै खुशी लाग्यो । हामी छुटेर बसेको अरु साथीहरु र आफन्तहरुलाई विश्वास नै लागेन । तर, सबै कुरा थाहा पाएपछि ‘तिमीहरु छुटेर बसेको देख्दा दुःख लाग्यो’ बाहेक केही भन्न सकेनन् ।

बहिनीको बिहान क्याम्पस । दिउँसो पनि सानोतिनो काम । म पनि बिहान पाँचबजे निस्केपछि राति साढे नौ बजेमात्रै कोठा पुग्थेँ । हामीसँग कोठा खोज्ने समय पनि थिएन । साथीहरुमार्फत पनि बुझेँ तर कोठा भेटाइएन । दलालसमेत लगायौं । र, पनि भेटाइएन ।

अन्ततः त्यहीँको एउटा कोठमा बस्ने भयौँ, दाजुबैनी । गत वर्षको लकडाउन अघिसम्म बसाइ राम्रै थियो । लकडाउन शुरु भएसँगै घरबेटीसँग द्वन्द्व शुरु भयो । पानी लिन, कपडा सुकाउन जाँदा पनि कोरोना सर्छ माथि नआऊ भन्न थाले । कोरोनाको पोकाले नै हान्छ जस्तो व्यवहार ! लकडाउन खुल्न साथ डेरा सर्यौँ । हामीमात्रै होइन, त्यहाँ बस्ने सबै सरे ।

काठमाडौंमा जति नै धेरै घर भएपनि कोठमा पाउन मुस्किल छ । डेरामा बस्ने भनेपछि तिमी के गछौं ? को–को बस्छौँ ? बिहे गरेको छ कि छैन ? केटालाई मात्रै त कोठा दिन्नौं । यस्ता प्रश्न र भनाइहरुको सामना प्रायः सबैले गरेको अनुभव हो । हुन त नचिनेका मानिसहरू आफ्नो घरमा बस्न दिनु जोखिमपूर्ण हुनसक्छ । लामो समय बसेर पैसा नतिरी हिँड्नेहरू पनि छन् ।

घरभाडाका विषयमा घरबेटीले भोग्नुपर्ने समस्या भनेको कतिपय भाडावालबाट हुने मदिरा सेवन र अनैतिक गतिविधिहरु हुन् । भाडावालले मदिरा सेवन गरेर घरबेटी तथा अन्य परिवारलाई दुःख दिने तथा गाली बेइज्जती गरेका घटना उत्तिकै छन् ।

यहाँ दलित भएका कारण मात्र नभई विभिन्न बहानामा कोठा नपाउने र कोठाबाट निकालिनेको संख्या ठूलो छ । एक उदाहरण– म आफैँ हुँ । सबै घरबेटी नराम्रा हुन्छन् भन्ने होइन । कति घरबेटी त आफूले सोचेभन्दा पनि राम्रा हुन्छन्, आभिभावक जस्ता ।

विभिन्न कारण शहर पस्नेहरुको संख्या बढेसँगै कोठा तथा घरभाडाको माग अत्यधिक बढेको छ । राजधानीमा बस्ने करिब ७५ प्रतिशत मानिस भाडामै बस्ने अनुमान गरिन्छ । र, पनि, सरकारले घरभाडा लेनदेनको स्पष्ट नीति बनाउन सकेको छैन । न कोठाको मापदण्ड तोकिएको छ । न त भाडा नै निर्धारण गरिएको छ ।

व्यापारिक प्रयोजनका लागि घर भाडामा लिँदा लिखित सम्झौता हुुने गरेपनि आवासका लागि सम्झौता हुँदैन । घरबेटी र भाडावालको आपसी सहमतिमा नै भाडा तय हुँदै आएको छ । कति समयमा कति भाडा बढाउन पाउने भन्ने पनि कुनै मापदण्ड छैन । कत्रो कोठाको कति पैसा लिने, पैसा लिएपछि के–के सुविधा दिनुपर्ने भन्ने कुनै प्रावधान छैन ।

बिना कागजी सम्झौता कोठा भाडामा दिने–लिने गर्नाले बेलाबेला समस्य उत्पन्न हुने गर्छ । सम्झौता नभएपछि घरवालाले के गर्न हुने नहुने, डेरामा बस्नेले के गर्न हुने नहुने भन्ने कुरै भएन । यस्तो अस्पष्टताले घरबेटी र डेरावाल दुवैलाई समस्यामा पार्दै आएको छ ।

नेपालमा घरभाडा लिएर बस्नेहरूको हकहितको प्रवर्द्धन गर्न घरबहाल सरोकार महासंघ पनि छ । तर, धेरैले यो घरबहाल सरोकार महासंघ नामसमेत सुनेका छैनन् । भाडामा बस्ने र घरभाडामा दिनेहरुको समस्या समाधानको लागि २०६८ सालमा महासंघको स्थापना भएको थियो । तरपनि अझै समस्या उस्तै छन् ।

यसका लागि सरकारले नीति ल्याउनुपर्छ । वैज्ञानिक भाडादर कायम गरिनुपर्छ । घरभाडा बढाउने आधार के–के हुन् भन्ने पनि प्रष्ट हुनुपर्छ । सुविधा, पहुँच, माग र आवश्यकताको आधारमा वैज्ञानिक भाडादर कायम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्