Logo
Logo

पैसाले खुसी किन्न सकिँदैन


नवीन राई

5.7k
Shares

देशको राजनीति, आर्थिक र सामाजिक परिवेश लथालिङ्ग छ । जताततै अराजकता बढेको छ । राजनीतिक दलहरु सत्ता खिचातानीमा व्यस्त छन् । कोरोना महामारीले देशको अर्थतन्त्र डामाडोल छ । लाखौँ युवा बरोजगारको छन् । आत्महत्या गर्नेको संख्या दिनै बढ्दैछन् । केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको छ । महिला हिंसा र अपराध बढ्याबढ्यै छ । तैपनि नेपाली औधी खुसी छन् !

अनेक पीडाहरुको चंगुलमा बाँचेका हामी नेपाली पनि खुसी छन् भन्ने तथ्याङ्कहरु सार्वजनिक हुँदा अझ बढी खुसी भएर बुरुक्क हुनुपर्ने दिन पनि आयो । विश्वव्यापी एक तथ्याङ्कले ‘नागरिक खुसी भएका देश’मा नेपाल ८७औँ स्थानमा देखायो । अझ खुसी हुनेको संख्या बढेको हो । गत वर्ष त ९२औँ स्थानमा थियो । यसको मतलव हामीमाथि जति दुःख कष्ट थपिए पनि हरेक वर्ष खुसी थपिँदैछ !

राष्ट्रसंघले कोरोना महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा खुसी मापन गरेको थियो । जसमा नेपाल ५.२६९ स्कोर प्राप्त गर्दै दक्षिण एसियाकै खुसी मुलुक घोषित भयो । विगतका वर्षहरूमा दक्षिण एशियामा खुसी हुने देशमा भुटान एक नम्बरमा पर्थ्याे । यो वर्ष भने भुटानले सहभागीता जनाएन ।

अहिले नेपालमा खुसी बढेकै हो त ? खुसी के हो ? कस्ता मान्छेलाई खुसी भन्ने ? कसरी खुसी हुने ? हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौँ । राम्रो जागिर खान चाहन्छौँ । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौँ । घर, गाडी, बैंक ब्यालेन्स् होस् भन्ने चाहन्छौँं । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुसी ।

त्यतिमात्रै होइन, सिनेमाघर धाउँछौँ । बार र डिस्कोम पुग्छाैँ। घरमा भोजभतेर राख्छौँ । मदिरा सेवन गर्छौं । हामी खुसी खोज्न अनेक वाहाना गर्छौं । तर, खुसी खोज्दा खोज्दै दुःखको भुमरीमा कति बेला फस्छौँ भन्ने आफैँलाई थाहा हुँदैन । खुसीको मुख्य स्रोत म आफै हुँ भन्नेसमेत भुलिरहका हुन्छौँ ।

खुसी हुनु एक कला पनि हो । जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।

धेरै मानिसले विलासितालाई खुसी ठान्छन् । तर, गरिब पनि खुसी हुन सक्छन् । सुखमा रहने सबैसँग खुसी नहुन पनि सक्छ । खुसीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर नै । आखिर खुसी त उही हो ।

खुसीले धनी र गरिब छुट्याउने भए विश्वमा सबैभन्दा खुसी हुने देश कतार पर्थ्याे । तर, अध्ययनले विश्वमा सबैभन्दा खुसी हुने देशमा फिनल्याण्डलाई देखायो । फिनल्याण्ड विश्वकै खुसी देश हो, धनी होइन । कुल ग्रार्हस्थ उत्पादनलाई हेर्ने हो भने कतार विश्वको पहिलो नम्बरमा छ । फिनल्याण्ड भने २६औँ नम्बरमा छ ।

शक्तिको हिसाबले हेर्ने हो भने सबैभन्दा खुसी हुने नागरिक अमेरिकी हुन्थे । त्यसपछि चीन, रुस र भारत पर्नुपर्थ्याे। तर, खुसीको सूचिमा अमेरिका १९औँ, चीन २४औँ, रुस ७६औँ र भारत १३९ औँ नम्बर छन् । यसले के प्रस्ट पार्छ भने पैसाले खुसी किन्न र शक्तिले खुसी आर्जन गर्न सकिँदैन ।

सहरमा ठूलो घर, गाडी, बैंक ब्यालेन्स आदिले मान्छेलाई सुख त पक्कै दिन्छ नै । तर, खुसी भने सबैलाई दिन सक्दैन । यदी, पैसाले खुसी दिन्थ्यो भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुसी हुने थिए ।

यदी, पैसाले मात्रै खुसी दिन्थ्यो भने अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसको
सम्बन्धविच्छेद हुने थिएन । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले पनि उनकी पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्ने थिएनन् ।

अर्थ र विकासले मात्रै खुसी दिँदैन भन्ने एक गतिलो उदारहण हो भुटान । सन् १९७४ सम्म सार्क राष्ट्रमात्रै नभएर संसारकै धेरै जनता खुसी भएको राष्ट्रको रुपमा परिचित थियो । त्योबेला भुटानमा बाहिरी पर्यटकहरूको लागि प्रवेशको अनुमति दिइएको थिएन ।

सरकारले ल्याएको बाहिरी पर्यटकलाई प्रवेश गर्नसक्ने नीतिसँगै ती खुसीहरू क्षणिक हुन थाल्यो । देखावटी खुसीको लागि आफ्नो वास्तविक खुसी बेच्न बाध्य भए । आफूलाई अरुसँग दाँज्न थाले । चाहनाहरूले आकाश छोयो । जीवनशैलीमा पूरै भिन्नता आयो । मौलिकताबाट आधुनिकतामा पूरै परिवर्तन भए । त्यसैले अहिले भुटानका जनाता दुःखी बन्दै गएका छन् ।

यसको अर्थ हामी पनि अरुजस्तै चरम भौतिकवादी बन्दै गइरहेका छौँ । सामान्यतया सुख र खुसी एकै सिक्काका दुई पाटा हन् भन्ने भान धेरैलाई हुनसक्छ । तर, खुसी केवल सुखबाट मात्रै हुने प्राप्त होइन, दुःखबाट पनि खुसी मिल्छ ।

भनिन्छ, मानिसले सुख आर्जन गर्न वा कमाउन सक्छ तर, खुसी किन्न सक्दैन । खुसी हुनका लागि सुखी हुनैपर्छ भन्ने पनि छैन । त्यसैले त विजयकुमार पाण्डेले ‘खुसी’मा लेखेका छन्, ‘खुसी न ठूलाहरूसँग सम्बन्ध जोडिएर हुने रहेछ, न त पद प्रतिष्ठा आर्जनसँग मै ।’

खुसीसँग आर्थिक उन्नति या पैसामात्र नभइ अन्य धेरै कुरा जोडिएर आउँछ । हामी कस्तो परिस्थितिमा छौँ, त्यहीअनुसार हामीलाई खुसी मिल्छ । त्यसैले त हामी ‘जे हुन्छ राम्रैको लागि हुन्छ’ भन्छौँ । तीन दशकअघि मेलम्चीको पानी काठमाडौं आउँछ है भन्दा पनि खुसी नै थियौँ । केही समयअघि पानी आउँदा झन खुसी भयौँ । अहिले पानी आउन छाड्यो, तैपनि पनि खुसी नै छौँ ।

भनिन्छ, ‘खुसी हुनु एक कला पनि हो ।’ जन्मिएपछि हामी बाँच्छौं । तर, कस्तो जीवन बाँच्छौं भन्ने कुरामा भरपर्छ । कसैले बेकार जीवन बाँच्लान् । कसैले सुखी जीवन बाँच्छन्, अनि कसैले खुसी जीवन बाँच्लान् । त्यसैले त भनिन्छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’

अमेरिका बस्ने र काठमाडौँ बस्नेका खुसी नमिल्न पनि सक्छन् । नेपालकै गाउँ र सहरमा बस्नेको खुसी पनि फरक-फरक हुन सक्छन् । सहरकाले लाखौँ रुपैयाँ खर्च गर्दापनि प्राप्त गर्न नसकेको खुसी गाउँघरका मानिसले सित्तैमा पाइरहेका हुन पनि सक्छ । झुत्रो कपडा लगाएर छाप्रोमा बस्नेहरूको खुसी महलमा बस्नेहरुको भन्दा धेरै गुणा बढी पनि हुनसक्छन् ।

झट्ट हेर्दा धेरैलाई लाग्नसक्छ, गाउँले जीवन धेरै दुःखी र संघर्षशील छ । पिउने पानी लिन पनि एक घण्टासम्म हिँडेर जानुपर्छ । तर, वास्तविक अनुभूति भने धेरै फरक हुन्छ । पानी लिन जान टाढा भएर के भयो त ? विना पैसा पानी पाइन्छ । न त हरेक महिनाको अन्तिममा पानीको विल कति धेरै आएको ? भन्दै गनगन गर्नु नै पर्छ । न त पानी नआउने धाराको बिल तिरेर दुःखी हुनुपर्छ ।

प्रचलित भनाइ छ, ‘भोक मीठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?’ विश्वका सबैभन्दा धनाड्य र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुसीमा खास अन्तर छैन । एउटा अर्बपतिले करोडौँ आर्जन गर्दा जति खुसी अनुभूत गर्छ, त्यति नै खुसी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छन् । वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुसी होइनन् । त्यसैले त नेपालीहरू दुःखमै खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्