काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले कोभिडका कारण आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रबार संसद बैठकमा आफ्ना धारणा राख्दै सांसद संग्रौलाले कांग्रेस सभापति शेर बहादुर देउबाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढेको बताउँदै कोरोना महामारीका कारण आर्थिक रुपले कमजोर भएकाहरुलाई राहत दिन माग गरेकी हुन्।
उनले भनिन्, ‘कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन्। लाखौं बालबालिकाले पढ्न पाएका छैनन्। सरकारले कोभिडविरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछ ।
कोभिडका कारण घरेलु हिम्सा, महिला विरुद्ध हिम्साका घटनाहरु बढेको भन्दै नउले महिला सुरक्षामा सरकारले प्राथिमकता दिनुपर्ने बताइन्। ‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन्। तीमध्ये करिब १० जना भेटिन्छन्। आधाभन्दा बढीचाहिँ हराइरहेका छन्। त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु’, उनले भनिन्।