Logo
Logo

रङको हर्ष, दाग नबनोस्


693
Shares

रङहरूको पर्व फागुपूर्णिमा अर्थात् होली । यस पर्वको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक विशेषता छुट्टै होलान् । तर, अहिले यो एउटा रमाइलो पर्वको रूपमा स्थापित भएको छ । जो रंगिन चाहन्छन् ।

मान्छेको जीवनमा रङले ठूलो महात्व राख्छ, किनकि जीवन रंगिन छ । जिन्दगी भनेको सप्तरङ्गी इन्द्रेणी हो, जहाँ हरेक भावनाको आफ्नै रङ हुन्छ । त्यसैले बच्चादेखि वृद्धासम्म आफूलाई सुहाउने रङको खोजीमा हुन्छन् । जीवनमा रङ नभए मानिस उदास हुन्छन् । निराश हुन्छन् । बेचैन हुन्छन् । आशा मर्छ । विश्वास मर्छ । चाहना मर्छ । जीवनमा रङ भए खुसी हुन्छन् ! प्रसन्न हुन्छन् !

रङ्गहीन जीवन बाँच्न धेरै मुस्किल छ ! तर, बाँच्नै नसक्ने भन्ने चाहिँ होइन ! जीवन जसरी पनि चल्छ । त्यो आ–आफ्नो रोजाइ हो । कसैलाई सादा जीवन मनपर्छ । कसैलाई रंगिन । स्वीकार र संकल्पना न हो । जस्तो सोच्यो, जस्तो भोग्यो, त्यस्तै भइदिन्छ जीवन ! जीवन, एउटा भोगाइ न हो ।

समयसँगै जीवनमा रङ छर्ने माध्यम धेरै थपिएका छन् । भोजभतेर, चाडपर्व, मेलामहोत्सव पनि जीवनमा रङ छर्ने एउटा माध्यम हो । सायद, जीवनमा रङको यही महत्त्वलाई हृदयंगम गरेर हाम्रा पूर्वजहरूले चाडपर्व, जात्रा तथा उत्सवहरूको आविष्कार गरेका होलान् ! तीमध्ये सबैभन्दा रंगिन पर्व हो– होली । यो पर्व कहिलेदेखि मनाउन थालियो ? कसरी सुरु भयो ? यसको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व छुट्टै होलान् । तर, यो होली अहिले हर्षोल्लासको पर्व बनेको छ ।

यो उत्सव हामी त्यहीबेला मनाउँछौँ, जतिबेला प्रकृतिमा हरियाली छाउन सुरु हुन्छ । बोट– बिरुवामा नयाँ पालुवा पलाउन थाल्छ । फूलहरू हावामा बयेली खेल्न थाल्छन् । यसले प्रकृतिसँग एकाकार हुनुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

होलीको दिन कुनै भिन्नता रहँदैन । न जातको, न वर्गको, न उमेरको, न त रङको । हिजोको वैमनस्यलाई आजको रङले मेटाइन्छ । विगतका तिक्तताहरू मिठासमा परिणत हुन्छन् । सायद, होली केवल एक पर्व मात्रै होइन । सम्बन्धहरूको पुनर्जन्मको दिवस पनि हो ।

तर, आज होलीको नाममा जुन प्रवृत्ति मौलाउँदै गएको छ, त्यसले पवित्र पर्वलाई विकृत बनाउँदै लगेको छ । होली प्रेम र उल्लासको पर्व हो । तर, पछिल्लो समय जबरजस्ती, दुव्र्यवहार, अमर्यादित हर्कत, र नशाको अराजकता मिसिँदै गएको छ ।

होली भनेको हाँसो, रमाइलो र मेलमिलापको पर्व हो । तर, कतिपयका लागि यो जथाभाबी मदिरा सेवन गर्ने, लागू पदार्थ दुव्र्यसन गर्ने, सडकमा हुडदङ्गा मच्चाउने अवसर बन्दै गएको छ । पर्वको नाममा तडकभडक र छाडापन बढेको कसैबाट छिपेको छैन ।

सबैलाई रङ मन नपर्न सक्छ । कतिलाई रङ नफाप्न सक्छ । रसायनयुक्त रङले छालामा एलर्जी हुन सक्छ । छालामा रोग लागेर दाग बस्न सक्छ । चाउरीपनजस्ता समस्या आउन सक्छ । आँखामा पर्दा ज्योति गुम्ने डर हुन्छ । त्यसैले केही रङसँग टाढा हुन चाहन्छन् । तर, ‘आज त होली हो’ भन्दै जबरजस्ती अबिर दल्ने, पानी खन्याउने, लछारपछार गर्ने प्रवृत्ति पनि देखिन्छ । त्यो कसैको लागि अभिशाप बन्न सक्छ !

पहिले होलीमा फूलका रस, प्राकृतिक रङहरू, अबिर, टिका प्रयोग गरिन्थ्यो । तर अहिले सस्तो मूल्यका हानिकारक रङहरू प्रचलनमा छन्, जसले मानव शरीर मात्र होइन, प्रकृति र वातावरणलाई समेत दूषित बनाइरहेको छ । अनेकौँ विकृति र विसङ्गतिले प्रश्रय पाउँदै आएको छ ।

अर्कोतिर रङ लगाउने बहानामा महिलालाई दुव्र्यवहार गर्ने गरेको पनि पाइन्छ । जसले होलीलाई नै बदनाम गरिरहेको छ । सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्य रहेका हुन्छन् । तर, हामीले नै यसलाई विकृत बनाइरहेका हुन्छौँ । होलीमा बढ्दै गएका विकृतिहरू रोक्न ध्यान दिएनौँ भने यसको नकारात्मक दुष्परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ ।

जो रङ्गिन चाहन्छन् । उसैलाई मात्रै रङाउनुहोस् । उसैसँग मात्र होली खेल्नुहोस्, जो तपाईँको साथमा रमाउन चाहन्छन् । रमाइलोको नाममा विकृति नफिँजाऊँ । होली खेलौँ, कसैको पनि शरीरसित नखेलौँ ! कसैको लागि पनि होलीको रङ घिनलाग्दा र टीठलाग्दो नबनोस् । उमंगको पंख फिँजाऔँ । असुरक्षाको शंख नफुकौँ ! रङले मानिसलाई रङाउन सिकाओस् । नङ्ग्याउन नसिकाओस् ।

उखानै छ– एकोहोरो रोटी पाक्दैन । होली पनि एकोहोरो रमाइलो हुँदैन । दुईतर्फीमै मजा हुन्छ । आफूले दलेको रङ आफूसम्म फिर्ता आयो भने रङ्गिएको पनि सार्थक हुन्छ । रङाएको पनि अर्थ हुन्छ । होली उनीहरूसँग मात्रै खेल्नुहोस्, जहाँ आफू पूर्ण सुरक्षित महसुस गर्नुहुन्छ । उसैसित खेल्नुहोस् जोसँग विश्वस्त हुन सकिन्छ ।

होली पर्व सद्भाव र भ्रातृत्वको मियो हो । होलीका रङहरू केवल अनुहारमा पोतिँदैनन्, आत्मामा मिश्रण हुन्छन् । रिस, तिक्तता, वैमनस्य सबै पखालिन्छ । होली केवल एउटा दिन मात्र होइन, यो एउटा अनुभूति हो । केवल रङ मात्र होइन, यो सम्बन्धहरूको पुनर्जन्म हो । यो उत्सव मात्र होइन, जीवन जिउने कला पनि हो ।

त्यसैले होलीलाई मर्यादित रूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होलीलाई मर्यादित पर्वको रूपमा चिनाउन आवश्यक छ ।

होलीले मानिसमा प्रेम, एकता एवं सद्भावना बढाउँछ । तर, रङ्गिने चाहना नराख्नेहरूको भावनाको पनि कदर गर्नुपर्छ । पर्वलाई नै बदनाम गर्ने नियत भएकाहरूको कुकृत्यलाई सबैले आ–आफ्नो ठाउँबाट निरुत्साहित गर्न सक्नुपर्छ ।

होली परिचितसँग खेल्ने हो । अपरिचितको अनुमतिबिना होली खेल्नु भनेको व्यक्तिको हक÷अधिकारलाई कुण्ठित बनाउनु हो । तसर्थ समाजमा मिलेर बसौँ । वर्षको एक दिन खुलेर हर्ष मनाऔँ । पिर चिन्ता तनाव भुलौँ । एकापसमा मिलेर रमाऔँ । होलीको रङ आत्मियताको रङ बनोस् । एकदिनको रङ जीवनभरिको दाग नबनोस् । होली हर्षको होस् । प्रेमको होस् । जीवनको होस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्