काठमाडौं । विपक्षी चारदलीय समाजवादी मोर्चाले आउँदो चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । शुक्रबार आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार प्रदर्शनका लागि संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ’ उनले भने, ‘संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’
यस्तै, मुलकुको राजनीति परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय गरेको छ । साथै, दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने मोर्चाले जनाएको छ ।