Logo
Logo

पाहुनाको प्रतिक्षामा घरबास



कावासोती । सामान्य अवस्था भएको भए विभिन्न कार्यक्रम र पाहुनाले व्यस्त हुने यहाँको घरबास अहिले सुनसान छन् । पाहुनाको स्वागत र सत्कारमा व्यस्त हुने सञ्चालक अहिले घरधन्दाको काम गरेर दिन बिताइरहेका छन् ।

“अहिले सुनसान छ, कोभिडले पाहुना आउने क्रम अझै सुरु भएको छैन, हामी त पाहुनाको स्वागतका लागि तयारी छौँ”, घरबास सञ्चालक झर्ना बोटेले भने, “परिस्थिति अझै सामान्य बनेको छैन, पाहुना आउनेक्रम सुरु भएको छैन ।”

कोभिड-१९ सङ्क्रमणका कारण पाहुना आउने वातावरण नहुँदा पूर्वी नवलपरासीको कावासोती–१५ मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक घरबास अहिले सुनसान छ । कोभिड-१९ सङ्क्रमणका कारण विश्व नै महामारीको चपेटामा पर्दा यहाँका पर्यटन व्यवसायमा समेत ठूलो असर परेको छ ।

पहिलो लहरको कोरोना सङ्क्रमणका बेलामा करिब आठ महिना व्यवसाय ठप्प हुँदा ठूलो नोक्सान व्यहोरेका यहाँका घरबास सञ्चालक दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणबाट पनि अछुतो रहन सकेनन् ।

गत वैशाखबाट यहाँ व्यवसाय ठप्प बनेको छ । पहिलो लहरको कोरोना सङ्क्रमणमा आठ महिना ठप्प भएर चार महिना जति चहलपहल भएको थियो । दोस्रो लहरको सङ्क्रमणले फेरि व्यवसाय ठप्प बनेको हो । घरबासका व्यवस्थापक धनीराम गुरौका अनुसार दुई/चार जना मात्रै घरबासमा राखिँदैन । कम्तीमा १० जनाभन्दा माथि भएमा मात्रै राखिने भएकाले व्यवसायी धेरै मारमा परेको गुरौले बताए ।

वैशाखदेखि साउनसम्म चार महिनामा तीन समूहको कार्यक्रम मात्रै भएको गुरौले जानकारी दिए । कोभिड महामारी पूर्व यहाँका घरबास सञ्चालकले प्रतिघर सिजनका बेला ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । सिजन नहुँदा पनि रु २५ देखि ३० हजार आम्दानी हुने गरेको उनको भनाइ छ ।

अमलटारी मध्यवर्ती सामुदायिक घरबासका कोषाध्यक्ष चन्द्रबहादुर महतोले लामो समयसम्म व्यवसाय ठप्प हुँदा व्यवसायमा घाटा लाग्नाका साथै घर व्यवहार चलाउनसमेत गाह्रो पर्न थालेको गुनासो गरे । “कोभिडले हामी पर्यटन व्यवसायी निकै मारमा छौँ, विश्व नै आक्रान्त बनेकाले बाहिरका पर्यटक आउने कुरा भएन, आन्तरिक पर्यटक आउने माहोल पनि छैन, कोभिडका कारण कार्यक्रम भएका छैनन्”, महतोले भने ।

कोभिड नभएको भए अहिलेको समयमा पनि महिनामा रु २५/३० हजार कमाउइ हुने घरबास सञ्चालक गङ्गा महतोको भनाई छ । “कोभिड कम भएर पाहुना आउनुहोला भनेर भएको पैसा पनि घरबास सिँगार्न लगायौँ, तर कोभिड झनै बढेको छ, तेस्रो लहर आउँछ भन्छन्, हामी त निकै मारमा पर्नेभयौँ”, उनले भने ।

कोभिडका कारण लकडाउन हुँदा यहाँका सञ्चालकले घरबासलाई मर्मतसहित सिँगारेका छन् । भित्री भागमा थारू समुदायका परम्परागत घर निर्माण गर्ने खडाइको प्रयोग गरेर सिँगार्ने काम गरेका छन् । सांस्कृतिक घरसहित पाहुना बस्ने आवासलाई उनीहरुले मौलिक र परम्परागत जीवनशैली झल्कने गरी सिँगारेर पाहुनाको स्वागतका लागि प्रतिक्षामा रहेका छन् । यहाँ अहिले माझी, मुसहर, बोटे, थारू समुदाय गरी ३१ घरले घरबास सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्