Logo
Logo

कमल थापाले भने- ‘राजतन्त्र बोकेर हिँडेको पुरस्कार पाइयो, राजाको भलो होस्’

निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि कमल थापाले पराजय स्वीकार गर्ने बताएका छन् । थापाले आज विहान ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताएका हुन् ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले ट्वीट गर्दै भनेका छन् ।

राजेन्द्र लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो पनि भनेका छन् । ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप समेत लगाएका छन् । ‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्