काठमाडौं । नेपाली काग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । तोकिएको समयभन्दा झण्डै एक घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बिहान ११ः३० बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेमात्र सुरु भएको छ ।

आज सोमबारको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङपछि पदाधिकारीले धारणा राखेर बैठक आजै टुंग्याउने तयारी छ ।
शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ गरिरहेका छन् । त्यो क्रम आजको बैठकमा पनि हुनेछ ।
पार्टी सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा भने नेता शेखर कोइराला समूहका नेताहरुले विपक्षमा उभिएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् ।














