Logo
Logo

‘मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नुपर्छ’


693
Shares

मोरङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज आयोजित ‘स्वास्थ्यसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएका जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, बालमृत्यु, मातृ मृत्युदर घटाउने कार्यमा समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिए । उनले विश्व मञ्चमा नेपालले कोभिड रोकथाम, नियन्त्रण र खोप कार्यको प्रशंसनीय चर्चा भएको जनाउँदै वर्तमान अवस्थामा जोखिम अन्त्य भए पनि जनताको स्वास्थ्य सुरक्षाका क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको चर्चा गरे । अध्यक्ष तिमिल्सिनाले जनतालाई बिरामी पर्नबाट जोगाउन जनप्रतिनिधिलाई आहारविहार, संस्कारमा परिवर्तन गरी जनजागरण अभियान सञ्चालन गर्न आग्रह गरे ।

उनले विकास र समृद्धि कायम गर्ने चाहना पूरा गर्न दोहोरिने जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिँदै पार्टीहरुले क्षमताका आधारमा उम्मेदवार छान्नुपर्ने आवश्यकता औँल्याए । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधिले जोखिम अन्त्यका लागि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम परिणामुखी हुने विश्वास व्यक्त गरे । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले सबैको सक्रिय सहभागितामा प्रदेशमा पूर्ण खोप कार्यक्रम सफल हुने बताए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले प्रकोप नियन्त्रण एवं रोकथामका लागि नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै दुई तिहाई नागरिकमा फोक्सो, मुटु, मस्तिष्क घात, उच्च रक्तचापलगायत रोग रहेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले मुलुकमा कोभिड जाँच गर्ने १०५ प्रयोगशाला र तीन करोड ९७ लाख १६ हजार ७९८ जनाले कोभिडविरुद्धको खोप लगाएको जानकारी दिए । जनस्वास्थ्य विपद् तथा महामारीको रोकथाम र नियन्त्रणमा जोखिम सञ्चार तथा सामुदायिक सहभागिताले आपतकाल/विपतको समयमा यसको प्रतिकार्य योजना क्रियाशील बनाउन र संकटको अग्रिम रोकथाम गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेशसभाका सदस्य, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि एवं चिकित्सकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्