Logo
Logo

जनतालाई पटक-पटक झुक्याउन सकिँदैन



२०७४ साल नेपालको कम्युनिष्ट आन्दोलनको लागि अभूतपूर्व रह्यो । ०७४ सालले ७० वर्षदेखि छिन्नभिन्न अवस्थामा रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई जोड्ने काम गर्याे । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले नेपाली जनतामा एक प्रकारको उत्साह जाग्यो । गाउँ, नगर, सहर एकैपटक जुरुक्क उठ्यो र नेपाल कम्युनिष्ट पार्टीलाई इतिहासमै पहिलोपटक दुईतिहाइको मत दियो ।

राजनीतिक स्थिरता र आर्थिक समृद्धि जनताको आकांक्षा थियो । त्यसप्रति एमाले र माओवादी प्रतिबद्ध थिए । संयुक्त चुनावी घोषणापत्रमा पाँच वर्षभित्र गरिने कामको सपना बाँडिएको थियो । पाँच वर्षभित्र ‘नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा उभ्याइने’ प्रतिबद्धता जाहेर गरिएको थियो । ‘१० वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्याउने’ भनिएको थियो ।

त्यति मात्र होइन, ‘दुई वर्षभित्र आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र १० लाख युवालाई रोजगारी दिने सपना बाँडिएको थियो । तर, पाँच वर्षपछि यी सारा सपना सोम शर्माको कथामा परिणत भयो ।

जननेता मदन भण्डारी भन्थे– ‘एउटा माघले जाडो जाँदैन ।’ पाँच वर्षपछि फेरि वैशाख ३० गते आउँदैछ । देश पूरै स्थानीय निकायको निर्वाचनमा होमिदैछ । निर्वाचन त हरेक पाँच, पाँच वर्षमा आउँछ नै, तर यसपटकको निर्वाचन अलि फरक छ ।

जनता सोझा होलान्, एकपटक झुक्याउन सकिएला पटक–पटक झुक्याउन सकिँदैन भन्ने कुरा एमालेजनले बुझ्नुपर्छ । अन्यथा, एमालेका लागि स्थानीय तहको परिणाम हात लाग्यो ‘शून्य’ हुनेछ ।

२०७४ सालमा एमालेको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले १२३ मेयर, १३७ उपमेयर जित्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसले १०५ मेयर, ८४ उपमेयर जितेको थियो । अबको अवस्था फेरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर आ–आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन् ।

यो गठबन्धन प्रतिगामी तथा पुनर्उत्थानवादीविरुद्धको गठबन्धन हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन यो गठबन्धन भएको हो । त्यसमाथि एमालेबाट माधवकुमार नेपालले विद्रोह गरेर एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन् । हिजो एमालेमा रहेका इमान्दार, त्यागी नेता, कार्यकर्ता प्रतिगमनविरुद्ध एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका छन् ।

एमाले र एकीकृत समाजवादी पार्टीको ‘भोट बैंक’ एउटै बनेकोले यो गठबन्धनको दह्रो झड्का एमालेलाई पर्ने नै छ । त्यसैले २०७४ सालमा एमाले एक्लैले जित्दाको परिणाम २०७८ को स्थानीय तहको निर्वाचनमा आउने कुनै सम्भावना छैन ।

हरेक वडामा एकीकृत समाजवादीले एमालेको ५ सयदेखि एक हजार मत काट्यो भने पनि एमाले पत्तासाफ हुने निश्चित छ । त्यसको एउटै कारण भनेको एमाले अध्यक्ष ओलीको घमण्ड हो । एमाले जोगाउन माधवकुमार नेपालले ओलीलाई पटक–पटक जेठ २ मा फर्कियौं भनेर अनुरोध गरेका थिए । तर, ओलीले कति सालको जेठ २ गते भनेर व्यंग्य गरेका थिए । त्यसको पहिलो परिणाम ओलीले वैशाख ३० गते भोग्दैछन् ।

दुईतिहाइको सरकार ढालेर प्रतिगमन कदम चालेको एमाले जनताको कठघरामा उभिएको छ । सिद्धान्त, विचार त्यागेर ‘सूर्य’लाई बहुराष्ट्रिय कम्पनीको लोगोजस्तै ब्राण्डिङ गरिएको छ । चिसो भनेकै ‘कोकाकोला’ भनेजस्तै कम्युनिष्ट भनेकै ‘सूर्य’ चिह्न हो भन्ने भ्रम फैलाउँदैछ । अब ओलीको भ्रममा कोही पर्नेवाला छैन ।

जनता सोझा होलान्, एकपटक झुक्याउन सकिएला पटक–पटक झुक्याउन सकिँदैन भन्ने कुरा एमालेजनले बुझ्नुपर्छ । अन्यथा, एमालेका लागि स्थानीय तहको परिणाम हात लाग्यो ‘शून्य’ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्