काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धका सन्दर्भमा सरकारले गलत नीति लिएको बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा बिहीबार ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र आफूले त्यस सम्बन्धमा असहमति राखेको बताए । नेपाल सरकारले रुस–युक्रेनका विषयमा देखाएको पक्षधरताप्रति असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘यो गम्भीर गल्ती भयो भन्ने हाम्रो धारणा हो । एकातर्फ भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम समर्थन गरिरहेको अवस्थामा हामीले कसैको पक्षमा बोल्नुहुँदैनथ्यो ।’ वक्तव्य क्याबिनेटबाट निर्णय भएर नआएको बताउँदै उनले भने, ‘हामीले तत्काल गठबन्धन बैठकमा यो विषयमा असहमति राखेका थियौं ।’
नेपालले स्वतन्त्र असंलग्न नीतिको मान्यता अनुशरण गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले भने, ‘संवादको माध्यमबाट वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरियोस् भन्ने सजिलो विधि हुँदाहुँदै यो वा त्यो पक्षमा अभिव्यक्ति दिनु हाम्रो भूराजनीतिक अवस्थासँग मेल खाँदैन ।’














