
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको सहमति गर्न चुनौति बनिरहेका बेला दलहरुले उम्मेदवार सिफारिस गर्न थालेको छ ।
एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीको काठमाडौं क्षेत्र नम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको अध्यक्ष रामकृष्ण सेढाईंले जानकारी दिए ।
पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष हुन् । पोखरेल कानुन व्यवसायी हुन् । यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं क्षेत्र नम्बर ५ एकीकृत समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।
यसैगरी संघमा समानुपातिकतर्फ अष्टनारायण डंगोलको नाम सिफारिस गरिएको सेढाईंले जानकारी दिए । यसैगरी प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ (क) मा प्रत्यक्षतर्फ हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा र समानुपातिकमा सानुमैया सुवेदी सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर ५ (ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेका छन् । समानुपातिकमा देवराज डंगोलको नाम सिफारिस गरेको सेढाईंले जानकारी दिए ।











