काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्येक कम्युनिस्ट पार्टीमा एकभारी समस्या रहेको बताएका छन् ।
‘पार्टी पुनर्गठन’को कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिवाद एक महारोगका रुपमा फैलिरहेको टिप्पणी गरे । उनले आफूले पार्टी एकताको कुरा गर्दैगर्दा सम्भावनाका साथै चुनौतीसमेत देखेको बताए ।

उनले भने, ‘एकताका कुरा गर्दैगर्दा हामीले के देख्यौं भने सम्भावनाका कुरा राम्रा छन् । चुनौतीका कुरा पनि यथार्थ हुन्। चुनौती बेवास्ता गर्यौं भने सम्भावनाको प्रयोग गर्न सक्दैनौं ।’
उनले कम्युनिस्ट आन्दोलनका समस्यालाई रोगका रुपमा उल्लेख गरे । उनले भने, ‘प्रत्येक पार्टीमा व्यक्तिवाद एक महारोग रहेको छ । गुटवाद अर्को रोग छ। भ्रष्टिकरण अर्को रोग छ । स्वार्थ अर्को रोग छ। स्वार्थ पूरा भएन भने पार्टी र आन्दोलन छाड्ने अर्को रोग छ ।’
उनले क्रान्तिकारीहरु कार्यदिशाका आधारमा एकताबद्ध गर्नुपर्ने बताए । विचार नभएका पार्टीमा माफियाको हालीमुहाली हुने बताउँदै विचार र निष्ठावान जोडिदै जाने र जनताको माझमा पार्टी आफैं पार्टी लोकप्रिय हुने दाबी गरे ।











