काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।

भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले निर्वाचनमा बहुमत ल्याउने संकल्प सहितको सन्देश दिने बताए । मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने उनले बताए ।
भट्टराईले सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको समेत आरोप लगाए । त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको उनले बताए ।
‘गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाहिं नेपालको मामिलामा एकअर्का बीचमा भनाभन गरिराखेका छन्’, भट्टराईले भने ।
‘अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसैले देशभित्रको आवश्यकताले नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले) को नेतृत्व खोजिराखेको छ । यिनै कुराहरूका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’











