Logo
Logo

भक्तपुरमा डेङ्गु फैलिँदै, साता दिनमै ९९ जनामा संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौं । भक्तपुर डेँगू संक्रमणमा उच्च जोखिममा परेको छ । देशभर महामारीका रुपमा फैलिँदै गएको डेँगू भक्तपुरमा एक साताको अवधिमा ९९ जनामा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबार बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको संक्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए । उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए । यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए । उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्