Logo
Logo

एआइजी र डिआइजी बढुवाको तयारी



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका रिक्त रहेका उच्च पदमा बढुवाको गृहकार्य सुरु भएको छ । नेपाल प्रहरीमा एआइजी तथा सशस्त्र प्रहरीमा डिआइजीका पद महिनौंदेखि रिक्त छन् ।

फागुनको अन्तिममा मात्र बढुवा गर्ने भन्दै डिआइजीहरूलाई प्रदेशमा खटाइएपनि अहिले फेरि बढुवाको तयारी सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ । डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्दा समस्या हुनसक्ने भएकाले गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढुवाको तयारी थाल्न निर्देशन दिएको स्रोत बताउँछ । जसअनुसार फागुनको दोस्रो साता एआइजी बढुवा हुने सम्भावना छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह यो हप्ता विदेशमा हुने भएकाले सरुवा–बढुवाका काम रोकिएका छन् । यसअघि गृहमन्त्री रहेका रवि लामिछानेले तत्काल एआइजी बढुवा रोकेका थिए । उनी सरकारबाट हटिसकेपछि एआइजी बढुवाको तयारी सुरु भएको हो । जसकारण प्रदेशमा खटाइएका डिआइजीहरू शक्तिकेन्द्र धाउन नपाउँदा तनावमा परेका छन् ।

प्रदेशमै खटाइएका डीआइजीहरू नै एआइजी बढुवाका प्रमुख दाबेदार हुन् । प्रदेश नम्बर १ का श्यामलाल ज्ञवाली, मधेस प्रदेशका बसन्त कुँवर, बागमतीका दीपक थापा, लुम्बिनीका टेकप्रसाद राई, कर्णालीका भीम ढकाल, सुदूरपश्चिमका अशोक सिंह बढुवाका प्रमुख आकांक्षी मानिन्छन् ।

त्यस्तै हेडक्वार्टरमा रहेका उमेशराज जोशी, सन्दीप भण्डारी, किरण बज्राचार्य, ट्राफिककी मिरा चौधरी पनि एआइजी बढुवाका दाबेदार हुन् । फागुन दोस्रो साता एआइजी पूजा सिंहले अवकाश पाउने भएकाले एआइजीका पाँच दरबन्दी रिक्त हुनेछन् । जसमा २० डिआइजबीच प्रतिस्पर्धा छ । आइजिपीकै ब्याचका तीनजना भने बढुवामा पर्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

बढुवामा केही जुनियर र काठमाडौं परिसरमा हुँदा कारबाहीमा परेका डिआइजीको अस्वभाविक चलखेलका कारण विवादमा पर्ने सम्भवना देखिएके छ । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि आइजिपीकाण्डका कारण सरकार बदनाम भएको थियो । अहिलेको अस्वभाविक चलखेल सफल भएमा प्रचण्डको यो कार्यकालमा पनि आइजिपी काण्ड हुने सम्भावना देखिएको छ ।

अर्काेतर्फ, नयाँ प्रहरी ऐन अघि बढाउने तयारीबारे पनि छलफल अघि बढेको गृह स्रोतले बताएको छ । ३० वर्षे सेवाहदले समस्या ल्याएपछि त्यो प्रावधान हटाउन प्रधानमन्त्री प्रचण्डले छलफल थालेको स्रोत बताउँछ ।

त्यस्तै, सशस्त्र प्रहरीमा पनि रोकिएको डिआइजी बढुवा अघि बढेको छ । गत १९ माघमा बढुवा समितिका सदस्यसचिव एआइजी नारायणदत्त पौडेलले बढुवाको फर्म भर्न सात दिनको म्याद दिएर सूचना निकालेका छन् ।

सशस्त्रमा डिआइजीका ४ पदमा ९ एसएसपीबीच प्रतिस्पर्धा छ । नेपाल प्रहरीबाट स्थानन्तरण भएका कृष्णराज पाठक सबैभन्दा सिनियर छन् । प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा स्थानन्तरण भएका उनी कार्यक्षमतामा भने कमजोर मानिन्छन् ।

सशस्त्रमा सिं सं १ को टोली पहिलोपटक डिआइजी पदमा पुग्दैछन् । सो टोलीका नौ जना एसएसपी छन् । जसमध्ये एसएसपी प्रकाश थापाले स्टाफ कलेज नगरेकाले उनी बढुवाको प्रतिस्र्धाबाट स्वतः बाहिरिएका छन् । एसएसपीहरु दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनी कुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र बिनोदराज श्रेष्ठमध्येबाट बढुवा हुनेछन् । यही ब्याचबाट सशस्त्रमा महानिरीक्षक समेत बन्ने भएकाले बढुवा चर्काे प्रतिस्पर्धा छ ।

यसअघि सि.स २ का एसएसपी दीपेन्द्र कुँवरले समेत चलखेल गर्दा सशस्त्रका आइजिपी राजु अर्यालले बढुवा रोकेका थिए । शेरबहादुर देउवा सत्ताबाट हटेसँगै कुँवरको चलखेल पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्