काठमाडौं । नयाँ सरकार बनेपछि अधिकांश महत्वपूर्ण विभागका महानिर्देशकहरु फेरिइसकेका छन् । तर, केही विभागमा भने शेरबहादुर देउवाले नियुक्त गरेकै महानिर्देशकले रजाई छ ।

प्रधानमन्त्रीको मातहत दुई महत्वपूर्ण विभाग छन् । राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग । यसमध्ये राजश्व अनुसन्धन विभागका महानिर्देशक हेरफेर भइसकेका छन् । सहसचिव नारायण सापकोटालाई सो विभागको जिम्मेवारी दिइएको छ । सम्पत्ति शुद्धीकरणको महानिर्देशक भने फेरिएको छैन ।
विगतमा आरजु देउवासँग सेटिङ मिलाएर त्यहाँ पुगेका तारानाथ अधिकारीले अहिले प्रचण्डलाई पनि रिझाउन सफल भएका छन् । विगतमा केही समय प्रचण्डसँग काम गरेको सम्बन्धका आधारमा उनी यसपटक सेटिङ मिलाउन सफल भएका हुन् । उनी महानिर्देशक भएपछि विभागले ठूला मुद्दामा अनुसन्धान र अभियोजन गर्नै सकेको छैन । विभाग तर्साउने र असुल्ने अखडा बनेको छ । त्यही सेटिङको आडमा उनले सरुवा रोकाएका हुन् ।
त्यस्तै, यातायात व्यवस्था विभागमा डा.टोकराज पाण्डेलाई तीन महिनामै हटाएर तुलसीराम गौतमलाई पठाइएको छ । सहकारी विभागमा नमराज घिमिरेलाई पठाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा रुद्र गौतम महानिर्देशक भएका छन् । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली पनि अघिल्लो सरकारकै पालामा गएपनि दुई महिना मात्र भएको छ ।
विगतमा केपी ओलीको विश्वास जितेर राजश्व अनुसन्धान विभागमा राम्रो काम गरेकाले उनको भने हेरफेर नहुने सम्भावना रहेको बताइन्छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढा भने जनार्दन शर्माको पालामा गएकाले उनको सरुवा हुने सम्भावना छ ।











