काठमाडौं । विशेष अदालतमा भ्रष्टाचारका ५–६ वर्ष पुराना मुद्दाको सुनुवाइ हुनसकेको छैन । तर, कतिपय मुद्दामा २–४ महिनामै फैसला हुने गरेको र आरोपीले सफाइ पनि पाउने गरेको घटना छ ।

यस्तै एउटा मुद्दामा गत शुक्रबार फैसला भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा दायर गरेको मुद्दामा पाँच महिनामै फैसला भएको हो । जुम्लाको चन्दननाथ नगरपालिकाका कर्मचारी राजेन्द्रबहादुर भण्डारीले यसरी सफाई पाएका हुन् ।
आयोगले गत ५ असोजमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सामाजिक सुरक्षा भत्ताको २० लाख ७८ हजार ६ सय रुपैयाँ हिनामिनाको अभियोग उनीमाथि थियो । लाभग्राहीलाई दिनुपर्ने भत्ता आफ्ना नाबालक छोराको व्यक्तिगत खातामा जम्मा गरी हिनामिनाको आरोप लागेको थियो ।
लाभग्राहीलाई बैंक खातामा जम्मा गर्नुपर्नेमा बैंकलाई पत्र लेखी आफैं दस्तखत गरी पैसा छोराको खातामा जम्मा गराई निकालेका थिए । पीडित लाभग्राहीकै उजुरीका आधारमा मुद्दा दायर भएकोमा लाभग्राहीलाई फकाएर आफ्नो पक्षमा बयान दिन लगाई उनले यसरी पाँच महिनामै मुद्दा जित्न सफल भएका हुन् । यसलाई अनौठो मानिएको छ ।
बिशेष अदालतमा मुद्दाको अत्याधिक चाप छ । गत वर्ष लामो समय दरबन्दीनुसार न्यायाधीश नहुँदा मुद्दाको सुनुवाई प्रभावित भएको थियो । जसकारण अहिले पेशीमा चढेपनि कतिपय मुद्दा हेर्न नमिल्नेमा पर्ने गरेका छन् । सुनुवाईमा ढिलाई हुँदा कतिपय व्यक्ति थप अन्यायमा पर्ने गरेका छन् ।











