चितवन । १९ वर्षअघि एक महिलाको हत्या गरेको आरोपमा एक साधु पक्राउ परेका छन् ।
साधु बनेर मन्दिरमा बस्दै आएका ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई हत्या आरोपमा पक्राउ गरेर प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनी सोमबार पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
तोयानाथले वि।सं। २०६१ मंसिर १४ मा मनकुमारी वाग्लेको हत्या गरेको प्रहरीको आरोप छ । ढुंगा र बाँसको लौराले टाउकोमा हानेर मनकुमारीको हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
हत्यापछि तोयानाथले मनकुमारीको कानको गहना पनि लुटेर लगेको डीएसपी पण्डितले बताए ।
तोयानाथलाई प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रहरीको सहयोगमा बर्दघाट–४ बाढीपीडितको शिव मन्दिरबाट समाएको हो ।
चितवनको साविक मेघौली गाविस(३ र हाल भरतपुर महानगरपालिका(२८ का तोयानाथ र मनकुमारी सौतेनी आमाछोरा भएको डीएसपी पण्डितले बताए ।
उनका अनुसार भरतपुर–७ को घरमा बस्दै आएकी मनकुमारीको हत्या गरेर फरार रहेका तोयानाथ सुरूमा लुक्दै केही समय होटलमा पनि काम गरेको खुल्न आएको छ ।














