Logo
Logo

कोशी सरकार गठनबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न अध्यक्ष राजेन्द्र लिङदेनले शुक्रबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार बैठकमा कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिने भएको छ ।

राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग सुझाव लिई कोशी सरकारबारे निर्णय लिन सक्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो । कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउने जमर्को गरिरहेको छ । तर, राप्रपाले सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय शुक्रबार बिहान मात्रै गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्