काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताले हवाई सुरक्षाको गम्भीर उल्लङ्घन गरेका छन् ।
आज बुधवार एमाले मधेस प्रदेशको अधिवेशन उद्घाटनका लागि पार्टी अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट जनकपुर विमानस्थलमा पुगेका थिए । त्यसबेला उनलाई स्वागत गर्न एमाले कार्यकर्ता धावनमार्गमै पुगेका थिए ।

स्वगतको लागि जहाजको ढोकैसम्मै पुग्नु हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । विमानस्थलभित्र यात्रु र सर्वसाधारणले बोर्डिङ पासबिना जहाजको छेउमा जान पाइँदैन ।
यसको जिम्मा सम्बन्धित विमानस्थल कार्यालयले लिनुपर्ने प्रवक्ता निरौला बताउँछन् । एमाले कार्यकर्ताहरू सुरक्षा घेरालाई चुनौती दिएर धावनमार्गमा प्रवेश गरेको विमानस्थल प्रमुख भीमदत्त पन्तले बताएका छन् ।
अतिथिलाई स्वागत गर्न भिआइपी कक्ष र धावन मार्ग बाहिरै पाँच जना मात्र जान पाउने नियम छ । तर, एमालेले उक्त नियमको उल्लङ्घन गरेका छन् ।














