
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिने समय थपिएको छ ।
फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदन समय तो यसबीचमा सरकारी बिदा परेको भन्दै अर्थ मन्त्रालयले आवेदन दिने समय एक साता थपेको हो ।
अब इच्छुक उम्मेदवारले फागुन २५ गतेसम्म आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । सीईओ हुनका लागि उम्मेदवार धितोपत्र बजार सञ्चालन नियमावली २०६४ बमोजिमका योग्यता पूरा भएको हुनुपर्ने उल्लेख छ ।
सो नियमावलीमा सीईओ हुनका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हुासिल गरी पुँजीबजार वा वित्त क्षेत्रमा कम्तीमा ७ वर्षको उच्च व्यवस्थापकीय तहमा अनुभव भएको हुनुपर्नेछ ।
यस्तै उम्मेदवार ३० वर्ष उमेर पूरा भई ६५ बर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारले पुँजीबजारको सैद्धान्तिक पृष्ठभूमि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यको पहिचानसहितका विभिन्न नेप्से सुधारका योजनासहितका कार्ययोजना सिफारिस समितिलाई बुझाउनुपर्नेछ ।
मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाइसकेको छ । सिफारिस समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ। समग्रमा उम्मेदवारको अंकमा १ सय रहेको छ ।
सोही अंकमा आधार रहेर सिफारिस समितिले उम्मेदवारबाट सीईओ नियुक्तिका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ ।











