
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको यसपटकको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको दश दिने औपचारिक निम्तामा चीन भ्रमणमा जानुभएकी विद्या भण्डारीलाई पूर्वराष्ट्रपतिभन्दा पनि एमालेको शीर्ष नेताको हैसियतमा सिपिसीका प्रमुख लिउ नियान्चाओले स्वागत गर्नुभएको थियो । यसले पनि भण्डारीलाई चीनले एमालेको भावी नेतृत्वको रूपमा हेरिरहेको बुझ्न सकिन्छ ।
त्यसो त राष्ट्रपतिबाट बिदा भएपछि राजनीतिमा आउने इच्छा व्यक्त गर्नुभएकी भण्डारी नैतिक रूपमा एमालेको अध्यक्ष बन्न हुन्छ कि हुँदैन भन्ने कुरा एमालेभित्रै बहसको विषय बनेको छ । एमालेजस्तो संगठित र विशाल जनसमर्थन प्राप्त पार्टीमा केपी शर्मा ओलीपछिको नेतृत्व को होला भन्ने आम जनमानसमा जिज्ञासा छाइरहेको बेला भण्डारी एमाले नेतृत्वमा आउने चर्चाले आम नेता, कार्यकर्ताहरू उत्साहित नै देखिन्छन् ।
यस्तो बेला भएको भण्डारीको चीन भ्रमण र भण्डारीले चीनमा अभिव्यक्त गरेका विचारहरूले उहाँलाई परिपक्व नेताको रूपमा अगाडि बढाएको छ । नेकपा स्थापनाकालदेखि अहिलेसम्म जनमतको हिसाबले कम्युनिष्ट बाहुल्यता भएको देश भएर पनि सक्षम नेतृत्वको अभावमा कम्युनिष्ट आन्दोलन कमजोर मात्र भएको छैन, छिन्नभिन्न अवस्थामा छ ।
यो अवस्थाको अन्त्य र एकीकृत कम्युनिष्ट आन्दोलनका लागि पनि एमालेमा भण्डारीको नेतृत्व अपरिहार्य बनेको बुझिन्छ । गत सोमबार बेइजिङमा भण्डारीसँगको भेटमा चिनियाँ नेता लिउले नेपालमा राजनीतिक स्थिरता र वाम एकताका लागि पनि भण्डारीको नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।
भण्डारीले राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणमा निम्ता गर्दा चिनियाँ राष्ट्रपति सी निकै उत्साही बन्नुभएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणले दुवै देशको सम्बन्धलाई निकै उचाइमा पु¥याएको भए पनि त्यसले निरन्तरता नपाउँदा चीनसँग भएका सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
राष्ट्रपति सीले नेपालको पूर्वाधार विकास र कनेक्टिभिटीमा जोड दिनुभएको थियो । त्यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच निरन्तर सैद्धान्तिक संवाद जारी राख्ने सहमति भए पनि त्यो बिचैमा अलपत्र परेको अवस्था छ । विगतमा चीनसँग भएका सहमति, सम्झौता कार्यान्वयन गरेर ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा गर्न पनि एमालेमा भण्डारी नेतृत्वको आवश्यकता परेको हो ।
चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणताका सोल्टी होटलमा सबै कम्युनिष्ट नेताहरूलाई एकै ठाउँमा राखेर भनेका थिए– ‘माओले गरेको एउटा क्रान्तिले मात्रै चीनले आर्थिक समृद्धि हासिल गरेको होइन, चिनियाँ कम्युनिष्ट पार्टीप्रति चिनियाँ जनताको निरन्तर सम्बन्ध, सम्पर्क र मायाका कारण चीन यो ठाउँमा आइपुगेको हो ।’
यही कुरा चिनियाँ नेता लिउले दोहो¥याउँदै कम्युनिष्ट पार्टीले जनताकेन्द्रित भएर पार्टी र शासन सञ्चालन गर्नुपर्ने र मुख्य ध्यान नेपालको आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । यसबाट चिनियाँहरूले नेपाललाई कति नजिकबाट हेरिरहेका छन् भन्ने कुरा बुझ्न सकिन्छ ।
चिनियाँ नेता लिउले जननेता मदन भण्डारीको पनि स्मरण गर्दै भण्डारी दूरदर्शी नेता भएकै कारण नेपालको कम्युनिष्ट आन्दोलनले सफलता पाएको र यसलाई अझै सुदृढ गर्दै अगाडि बढ्न वाम एकताको विकल्प नभएको पनि बताउनुभयो ।
नेता लिउले नेपाल चीनको उच्च प्राथमिकतामा परेकोले नेपालको शान्ति र विकासप्रति चीन सदैव तयार रहेको बताउनुभएको थियो । त्यसैगरी, उपराष्ट्रपति हान चेङले पनि भण्डारीको चीन भ्रमणबाट दुई देश बिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास लिनुभएको थियो ।
चीनको मुख्य चासो बिआरआई सम्झौताको पूर्ण कार्यान्वयन र सुरक्षा हो । नेपालले मुखले एक चीन नीति भने पनि व्यवहारमा चीन विरोधी गतिविधि भइरहेको कुराबाट चीन अनविज्ञ छैन । त्यसैले एमसिसी परियोजना कार्यान्वयन गर्ने सवालमा नेपालमाथि अमेरिकी दबाब बढ्दै जाँदा त्यसको प्रतिवाद बेइजिङले गर्नु परेबाट पनि चीन सुरक्षा मामिलामा कति संवेदनशील छ भन्ने कुरा बुझ्न सकिन्छ ।
एमसिसी संसद्बाटै पास गराउन निर्णायक भूमिका खेल्ने पनि नेपालकै कम्युनिष्ट पार्टी हुन् । एमसिसी पास गर्नै हुन्न भन्ने पनि नेपालकै कम्युनिष्ट पार्टीहरू हुन् । नेपालको कम्युनिष्ट पार्टीको यस्तो दोहोरो भूमिकाबाट दिक्क भएको चीनले नेपालको वाम राजनीतिमा भण्डारीबाट सकारात्मक भूमिकाको अपेक्षा राख्नु नेपालका लागि पनि महत्त्वपूर्ण कुरा हो ।
नेपाली जनताको अपेक्षा वाम एकता र छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुधार गर्न पनि एमालेको नेतृत्वमा भण्डारी आउनुपर्ने कुरामा अन्य कम्युनिष्ट नेताहरूमा पनि दुईमत देखिन्न ।











