
देशमा अहिले कसैको डंका बजेको छ भने, त्यो ओलीकै बजेको छ । सामान्यीकरण नगर्ने हो भने ओली भन्ने बित्तिकै लगभग सबैको आँखामा एउटै अनुहार नाच्न थाल्छ, खड्गप्रसाद शर्मा ओलीको । कतिपय नयाँहरूलाई यो नाम अपरिचित पनि लाग्न सक्छ । उनीहरूको जानकारीको लागि यति भनौँ, अहिले के पी ओली भनेर जसलाई चिनिन्छ, यो उनकै पूरा नाम हो ।
उनी ०४६ सालअघि खड्ग ओलीको नामले मात्र चिनिन्थे । बहुदल आएपछि भोटको राजनीति सुरु भयो, त्यसमा थर–जात–गोत्रको पनि अर्थ हुन थाल्यो । त्यसै क्रममा खड्ग ओलीले पनि आफ्नो नाममा प्रसाद र शर्मा थपे । यी सबै थप्नुको चुरो कुरो आफूलाई झर्रो ब्राह्मण हुँ भन्ने देखाएर केही कर्मकाण्डी मतको जोहो गर्नु थियो ।
खड्गप्रसाद शर्मा ओली– अभीष्ट पूरा भएर हो वा नाम लामो लागेर हो, केही वर्ष बितेपछि केपी ओलीको नयाँ अवतारमा प्रकट भए । यो अवतारमा उनले के गरे भन्दा पनि के गरेनन् भन्नुपर्ने हुन्छ । परिणामतः अब उनी पात्र मात्र रहेनन्, प्रवृत्ति नै भैसके– ‘ओली–प्रवृत्ति’ । अब त यो उनको ब्रान्ड नै भइसक्यो ।
‘ओली–प्रवृत्ति’– एक ब्राण्डका रूपमा यसको इमेज राम्रो छैन । ओली प्रवृत्ति भन्ने बित्तिकै छलछाम, गफ, झुट, फरेब, तिकडम, धोकामार्फत् शक्ति आर्जन गरेर र ‘म खाउँ, मै लाउँ’ भन्ने प्रवृत्ति बुझिन्छ । यो प्रवृत्ति कवि शिरोमणि लेखेनाथ पौड्यालको तरूण तपस्वीमा संगृहित श्लोकसँग ठ्याक्कै मिल्छ,
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू
यी त्यो श्लोकका सुरूका दुई पङ्क्ति हुन् । ओली अहिले सुरूका यी दुई पङ्क्ति भ्याएर मध्यान्तरमा छन् । यो भनेको ‘म खाऊँ मै लाऊँ’ भन्दै अथाह शक्ति आर्जन गरेर ‘उत्थान’को चरम विन्दुमा पुगेको अवस्था हो । यो मैमत्था अवस्थामा अब कथाले यु–टर्न लिन्छ र बिस्तारै ‘पतन’को दिशातिर लैजान्छ । जसलाई त्यही श्लोकका बाँकी दुई पंक्तिले यसरी वर्णन गर्छन्,
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी
मध्यान्तरपछिको पर्दा खुल्ने बेला भएको छ र त्यसको संकेत पनि मिल्न थालेको छ । अब बिस्तारै अरूलाई मूर्ख बनाएर शक्ति आर्जन गरेका ओली स्वयंको मूर्खता पटाक्षेप हुँदै जान्छ । हुँदाहुँदा यस्तो दिन पनि आउँछ, जुन दिन उनको मूर्खता देखेर चिता पनि खित्का छोडी छोडी हाँस्ने स्थितिमा पुग्छ ।
कतिपयलाई लाग्न सक्छ, आज ओली जहाँ छन्, उनी आफ्नो योग्यता, त्याग, योगदान र समर्पणले नै पुगेका हुन् । तर, यथार्थ त्यस्तो हैन, उनले आज हासिल गरेको मुकाम उनी आफूले गरेका छलछामहरू, अरूलाई दिइएका धोकाहरू र आफ्नो बारेमा बनाइएका भाष्यहरूको पासा पल्टिएर मिलेको हो । यो लाभ गणेशमान सिंहले भनेजस्तो ‘जनता भेडा’ हुँदा पनि मिलेको हो, देशमा लोभी–पापी राजनीति संस्थागत हुँदा पनि जुटेको हो । यी दुबैलाई संयोजन चाहिँ उनको जादूगरी वाकपटूताले गरेको हो । उनीसँग बोलेर दिउँसै रात पार्न सक्ने अद्भूत क्षमता छ ।
योग्यताको पहिलो मानक शिक्षा हो । यो कोणबाट हेर्दा ओलीले एसएलसी पनि पास गरेका छैनन् । उनले केही सक्कली र केही नक्कली संस्थाका मानार्थ विद्यावारिधि जुटाएका छन् । तर, त्यो भनेको योग्यता हैन । शिक्षाका बारेमा अरू धेरै कुरा अपवाद पनि होलान् तर मूल कुरा बुझाइएको क्षितिज फराकिलो बनाउन उच्च शिक्षा नभई हुँदैन । एउटा बहुचर्चित भनाइ छ, सबै विश्वविद्यालय जानेहरू विद्वान नै हुन्छन् भन्ने निश्चित हुँदैन तर एउटा कुरा चाहिँ निश्चित हुन्छ, त्यो भनेको उनीहरूको बुझाइको क्षितिज भने फराकिलो हुन्छ ।
ओली बुझाइको क्षितिज ज्यादै सानो भएका दुःखी प्राणी हुन् । यस्ता प्राणीहरू लघुताभाषले ग्रस्त हुन्छन् र धेरै शिक्षा हासिल गरेकाहरूलाई सम्मान नै गर्दैनन् । ओलीले पढेका मानिसहरूलाई कसरी उडाइरहेका हुन्छन्, त्यो त जगजाहेर नै छ । पढेकालाई सम्मान नगर्ने भएपछि उनको वरिपरि पनि उनी जस्तै मान्छे हुने भए । त्यसको जिउँदो जाग्दो उदाहरण खोज्न टाढा जानै पर्दैन, अहिले उनका दायाँ–बायाँ भएका दुई ‘जर्नेल’हरू विष्णु पौडेल र प्रदीप ज्ञवाली हेरे पुग्छ ।
ओलीमा शैक्षिक योग्यताको मात्र हैन, राजनीतिक ज्ञानको पनि जबर्जस्त सीमा छ । त्यही सिमाका कारण उनी कम्युनिष्ट पार्टीको अध्यक्ष भएर पनि भूतप्रेत, धामी–झाँक्री, झारफुक, दशा–ग्रह, वंश–परम्पराजस्ता पश्चगामी कुराहरूमा विश्वास गर्छन् । कहिले शिव चाम्लिङ नै शिव–महादेव भएको भनेर जग हसाउँछन् त कहिले अयोध्या चितवनमा छ भन्दै राम नेपालमै जन्मेको दाबी गर्छन् ।
अब त्यागको कुरा गरौँ । उनी गणतन्त्रका लागि १४ वर्ष जेल परेको दाबी गर्छन् । हुँदाहुँदा त पछिल्लो समय एमाले पोलिटब्युरो बैठकमै ७० वर्षे उमेर सीमाको कुरा गर्दा जेल बसेको १४ वर्ष त्यसमा घटाउनुपर्ने सम्मको तर्क गरेर हसाएछन् । यथार्थ त्यस्तो हैन, उनले त्यतिबेला गणतन्त्र त कुरै छोडौँ, गणतन्त्रको ग पनि सुनेका थिएनन् । उनी तत्कालीन मालेको ‘वर्ग शत्रु सफाय’ दस्ताका एक नाजुक कार्यकर्ता थिए । हलियाको छोरो उनलाई धनी–गरीव सबै समान हुनुपर्छ भन्ने भूत चढाइएको थियो । त्यही भूत चढेर उनी धर्मप्रसाद ढकालको टाउको काट्ने मिशनमा सहभागी भए । त्यही ज्यान मारेको अभियोगमा उनी १४ वर्ष जेल बसेका हुन् ।
जेल बसेको बेला पनि उनले के के हर्कत गरे, त्यो उनका सहकर्मी–कम्रेडहरूले सार्वजनिक गरिसकेकै छन् । त्यति मात्र हैन, त्यो ‘वर्ग शत्रु सफाय’ गलत थियो भनेर उनको पार्टी मालेले आत्मालोचना नै गरिसक्यो । त्यसको अर्थ हो, त्यो सफाय मात्र गलत थिएन, त्यो गलत गर्ने मानिस पनि गलत नै थियो ।
मिशन गलत भयो भनेर पार्टीले आधिकारिक रूपमा आत्मालोचना गरेपछि त्यो मिशनको एक पात्र चाहिँ त्यागको पर्याय हुने कुरै भएन । यो त स्वयंसिद्ध तथ्य हो । अर्को कुरा, उनी २०४६ को जनआन्दोलनको केही समय अगाडि राजासँग माफी मागेर जेलबाट निस्केका हुन् । र, मिसिलहरूमा पनि ‘ज्यान मारेको अभियुक्त ओलीले माफी मागेकोले राजाबाट माफी मिलेको’ नै भनिएको छ । त्यसैले विशुद्ध व्यक्ति हत्यासँग सम्बन्धित त्यो जेल बसाइँसँग गणतन्त्रको कुनै गोरु बेचेको साइनो पनि छैन ।
अब योगदानको कुरा गरौँ । यसको थालनी उनको पार्टी माले–एमालेको संगठन निर्माणबाट सुरु गर्नुपर्छ । मालेको संगठन उनी जेल बसेको बेला बिस्तार भएको हो । त्यसैले यसमा उनको कुनै योगदान नै छैन । जब उनी बाहिर आए, त्यसको केही समयपछि नै बहुदल आइहाल्यो । बहुदल आएपछि माले पनि भूमिगत अवस्थाबाट सतहमा आयो । त्यतिबासम्म उनले संगठनको मेसो नै पाएका थिएनन् ।
मदन भण्डारीको अवसानपछि माधव नेपाल महासचिव भए । त्यसपछि त ओली पार्टी संस्थापनको लगभग स्थायी प्रतिपक्ष नै भए । यस बीचमा उनले पार्टीको संगठन हैन, आफ्नो गुट बनाए । त्यो गुट बनाउन उनले मदन भण्डारीको जबजको विरासत बोकेकी विद्या भण्डारीको भरपूर उपयोग गरे । समानान्तर गतिविधि गर्न मदन भण्डारी फाउण्डेसन नै बनाइयो । प्रकारान्तरमा उनको त्यही गुटले एमाले कब्जा गरेर ओमाले बनायो ।
कब्जा गर्ने क्रममा मालेका संस्थापक नेताहरूलाई नै निस्कासन गरियो । नेता मात्र हैन, कार्यकर्ता र सदस्यहरूको एउटा ठूलो पङ्क्ति नै बाहिरिएर अहिले नेकपा एस बनेको छ । यो कोणबाट हेर्दा पनि ओलीले एमालेको संगठन बनाएनन्, उल्टै भएको पनि भत्काए ।
अब धोका र छलछामको कुरा गरौँ । धर्म प्रसादको हत्या हुँदा तत्कालीन माले–कम्रेडहरूसँग गरेको छलछामदेखि अहिले विद्या भण्डारीलाई दिएको धोकासम्मको वृतान्त राख्दा महाभारत नै हुन्छ । त्यो सबै एउटै स्तम्भमा सम्भव पनि हुँदैन र त्यो आवश्यक पनि छैन । किनकि, ओली धोकाका राजा मात्र हैन, महाराजा नै हुन् भन्ने जगजाहेर नै छ ।
ओली कति छली र धोकेबाज हुन् भन्ने कुरा त उनी अध्यक्ष हुँदा के कति छलछाम गरे र त्यसलाई समयक्रममा एकपछि अर्को गर्दै कसरी धोकामा रूपान्तरण गरे?, त्यति नै हेरे पर्याप्त हुन्छ । एमालेको नवौँ महाधिवेशन भृकुटीमण्डपमा हुँदै थियो । त्यसअघिको बुटवल महाधिवेशनमा झलनाथ खनालसँग हारेका ओली यसपटक माधव नेपालसँग आमुन्नेसामुन्ने हुँदै थिए । उनको जीतको कुनै सम्भावना नै थिएन । दुबै मृगौलाले लगभग काम गर्न छोडेका ओली कति बेलासम्म रहन्छन् भन्ने कुनै पत्तो थिएन । उनले त्यही समवेदनालाई आफ्नो अश्त्र बनाएर एकपटक अध्यक्ष बनाइदिन सबैसँग हारगुहार मागे । उनको कित्तामा मदन भण्डारीको विरासतसहित विद्यादेवी त हाजिर थिइन् नै, तर त्यो जीतका लागि पर्याप्त थिएन । अर्को खेमामा रहेका तत्कालीन महासचिव ईश्वर पोखरेललाई पुनः महासचिवमा उठाउने भनेर ओली खेमामा तानियो । माधव नेपाल खेमाले पुनः महासचिवमा नदोहो¥याउने भएपछि पोखरेलले यो विकल्प रोजे ।
अझै पनि ओलीको जित्ने सम्भावना थिएन । त्यतिबेला कुनै पनि पक्षमा जीतको पल्ला भारी बनाउन निर्णायक थिए, वामदेव गौतम । ओलीले स्वास्थ्यको कारण देखाउँदै केही समयपछि नै उनलाई कार्यवाहक अध्यक्ष बनाउने वाचा गरे । हौसिने स्वभावका हुस्सु वामद्व पनि फुरूक्कै भएर ओलीको पछि लागे । यो सबै परिस्थिति बनेपछि अन्तिम समयमा झलनाथ खनालले पनि खुलेर माधवलाई सघाएनन् । यी सारा जोडजामपछि ओली एमाले अध्यक्ष भए ।
ओलीलाई पहिलोपटक एमाले अध्यक्ष बनाउने भनेकै विद्या भण्डारी, इश्वर पोखरेल, वामदेव गौतम र झलनाथ खनाल हुन् । यदि उनीहरूमध्ये एकजनाले मात्र पनि साथ नदिएको भए ओली अध्यक्ष हुने सम्भावना नै थिएन । त्यतिबेलाको जीत–हारको मतान्तर यसको ज्यूँदो प्रमाण हो ।
यसरी सारालाई वचन दिएर जितेका ओलीले जितेपछि के के गरेर एमाले कब्जा गरे ?, त्यो त सबैका सामु छर्लङ्गै छ । सबैभन्दा उनको मृगौला प्रत्यारोपण भयो । उनी स्वस्थ र हृस्टपुष्ट हुँदै गए । त्यसपछि एक–एक गरेर सबलाई धोका दिदै गए । पहिला झलनाथलाई त्यसपछि वामदेवलाई धोका दिए । यो धोकाको क्रम यतिमै सकिएको छैन, अब लाइनमा आइपुगेका छन्, ईश्वर पोखरेल र विद्यादेवी भण्डारी ।
भण्डारी र पोखरेलको साथ लिएर एमालेलाई ओमाले बनाएका ओली अहिले यति शक्तिशाली छन् कि उनीसँग भण्डारी–पोखरेलको त के?, कसैको पनि दैया चल्ने अवस्थै छैन । उनका वरिपरि शक्तिका पूजारी लोभीपापीहरू फालिम लागेका छन् । जब लोभ र पापसँग हुन्छ, तब विवेक हराउँछ । अहिले एमालेमा विवेक हराएको छ र विवेक नभएका खड्गप्रसाद ‘कुर्माने’हरू जहाँ पनि ल्याप्चेछाप लगाउन तयार छन् ।
अब धोका पाएर रुने पालो ईश्वर पोखरेल र विद्यादेवी भण्डारीको हो । यसअघि खड्गप्रसादसँग मिलेर वामदेव र झलनाथलाई रुवाएका यिनीहरूको पापको घैटो फुट्ने दिन आयो । यिनीहरूका लागि त बिचरा भन्नेहरू पनि छैनन् । उल्टै, ‘ पहिला अरूलाई रुवाएका थियौ, अब रुने पालो आएछ । ठीकै पर्यो’ भन्दै खुच्चिङ गर्नेहरूकै संख्या बढी देखिन्छ । अझ कतिसम्म पनि देखिएको छ भने हिजो विद्यादेवी र ईश्वरको कोटामा तर मारेकाहरू पनि अहिले ‘मरेको लाश’लाई जुम्राले छोडेझै छोडिसके । आखिर जसको शक्ति उसकै भक्ति त हो, शक्ति र सत्ताको खेल ।
तर पनि कथा यतिमै सकिएको छैन र सकिदैन पनि । एन्टोगोनिष्ट खड्गप्रसाद तरूण तपसीमा भनिएझै ‘दाह्रा धस्ने अबुझ शठ’ जस्तै हुन् । उनलाई देखेर खित्का छोडेर चिता मरीमरी हाँस्न बाँकी नै छ । केही ट्विस्टको माग गरेपछि कथाको अन्त हुन्छ ।
अझ गतिको तेस्रो नियमले त के पनि भन्छ भने ‘सबै बलहरू बराबर तर विपरित दिशामा हुन्छन् ।‘ यो नियम गतिमा मात्र हैन, प्रवृत्तिमा पनि लागु हुन्छ । अब त्यो लागू हुने पालो ओली प्रवृत्तिमा हो ।
भनाइ नै छ, अति सर्वत्र बर्जयते । ओलीले अति मात्र हैन, अत्याचार नै गरेका छन् । त्यसको फल कस्तो हुन्छ, त्यो हेर्नलाई पनि बाँच्नुपर्ने हुन्छ । बाँचे मात्र देखिने हो ।











