
एमालेको भावी अध्यक्षका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दह्रो मनोबलका साथ उभिएकी छन् । म एमालेको अध्यक्ष भएरै छाड्छु भन्ने उनीमा दृढविश्वास देखिन्छ । यही आत्मविश्वासले उनलाई नेपालको राजनीतिमा डोहो¥याइरहेको छ ।
उनको यो आत्मबललाई कमजोर बनाउन एमालेभित्रकै केही जिम्मेवार पदाधिकारीहरु लागेका छन्, यो उनीहरुको कायरता हो । एमालेमा विद्याविरुद्ध तेस्र्याइएका अनेकौं अवरोध पन्छाउँदै अस्ति आइतबार अपराह्न उनी पार्टी कार्यालय च्यासल पुगिन् ।
उनी त्यहाँ पुग्दा एमाले कार्यकर्ताहरुमा बेग्लै उत्साह थियो भने, उनीविरुद्ध षड्यन्त्र गर्नेहरुको अनुहार मलिन देखिन्थ्यो । यसबाट पनि के झल्किन्छ भने, विद्या भण्डारी मनोवैज्ञानिक रुपमा एमालेको अध्यक्ष बनिसकिन्, अब प्राविधिकरुपमा मात्र उनी विजयी हुन बाँकी छ ।
विद्या भण्डारीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने समय माग्दा ओलीले आइतबार अपराह्न बालुवाटार बोलाएका थिए । तर, बालुवाटार जान विद्या भण्डारीले इन्कार गरिदिइन् र पार्टी कार्यालयमा भेट्ने इच्छा राखिन् ।
ओलीलाई हरेक पाइलामा परास्त गर्ने उनको यो रणनीति त्यतिबेला सफल भयो, जतिबेला प्रधानमन्त्री ओली पार्टी कार्यालयमै विद्या भण्डारीसँग भेट्न तयार भए । ओली पार्टी कार्यालय पुग्दा त्यति उत्साहजनक वातावरण थिएन, जति उत्साह विद्या भण्डारी पुग्दा थियो । यसबाट पनि ओलीले अब विद्या भण्डारीलाई रोक्न सक्लान् जस्तो लाग्दैन ।
च्यासल पार्टी कार्यालयमा ओली र विद्याबीच झण्डै दुई घण्टा कुराकानी भयो । पक्कै पनि विद्याले ओलीलाई पद छाड्न आग्रह गरिन् होला । जवाफमा ओलीले केही बोल्न सकेनन् । किनभने, ओली नैतिक रूपमा पनि कमजोर धरातलमा उभिएका छन् । एमालेको विधानले नै दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने र ७० वर्ष उमेरहद तोकेको छ । त्यो कुरा त विद्याले ओलीलाई सम्झाइरहन पर्दैन थियो होला, तै पनि विद्यालाई रोक्न आगामी विधान अधिवेशनमा जे जति षड्यन्त्र गर्न खोजिएको छ, त्यो पनि त्यति सजिलो छैन । यसर्थ, पनि विद्या भण्डारी नै एमालेको भावी अध्यक्ष बन्ने कुरामा दुईमत छैन । त्यसमाथि ओलीकै प्रस्तावमा उनी सर्वसम्मत रुपमा अध्यक्ष चुनिइन् भने आश्चर्यजनक हुने छैन । विद्याको पक्षमा एमालेभित्रको मनोविज्ञान यसरी पनि विकसित भइरहेको छ ।
विद्याको ‘मिसन’ र ‘भिजन’ स्पष्ट र दूरदर्शी छ । कतै छलछाम, षड्यन्त्र छैन । ओलीजस्तो जसरी पनि सत्तामा पुग्ने ‘स्वर्ग नर्कसँगै जाने’ नियत उनमा देखिन्न । विद्याको पहिलो कार्यभार नै वामपन्थी दलहरुबीचको एकता र ‘जबज’को सफल प्रयोगबाट समाजवादसम्मको गन्तव्य हो । त्यसका लागि के–के गर्नुपर्छ भन्ने सैद्धान्तिक र व्यावहारिक खाका उनले कोरिसकेकी छन् ।
मिसन ८४ उनको पहिलो अग्निपरीक्षा हो । त्यसमा उनी सफल भइन् भने नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ जीवन पाउने छ । सबै कम्युनिष्ट नेताहरुले वाम एकताको कुरा गरे पनि त्यसले मूर्तरुप लिनसकेको छैन । वाम एकताको असफल अभ्यासबाट पाठ सिक्दै साँचो अर्थमा वाम एकताको मार्गदर्शन सिद्धान्त कोर्न सकियो भने त्यसले कम्युनिष्ट आन्दोलनको जग बलियो बनाउने मात्र होइन, नयाँ नेपालको निर्माणसमेत गर्नेछ, जुन कुरा हाम्रो संविधानले परिकल्पना गरेको छ ।
सबैलाई थाहा छ, वाम एकताको बाधक केपी शर्मा ओली नै हुन् । उनकै कारण नेकपा फुट्यो । नेकपा फुटाउन ओलीले न्यायालयसम्मलाई दुरुपयोग गरे । अनेकौं घामपानीबाट पार्टीलाई जोगाएका माधवकुमार नेपाललाई पार्टीभित्र टिक्न दिएनन् ।
वामदेव गौतम पार्टीमा फर्कन्छु भन्दा फोनसमेत ‘रिसिभ’ गरेनन् । यस्ता धेरै उदाहरणहरु छन् जसका कारण एमाले सैद्धान्तिक र वैचारिक रुपमा स्खलित हुँदै ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भन्ने स्थानमा ओलीले एमालेलाई पु¥याए । यो गलत बाटोबाट एमालेलाई जोगाउन पनि विद्या भण्डारीको विकल्प छैन ।











