Logo
Logo

विद्या–राजनीतिको हत्या, श्री ३ ओलीको उदय


41.5k
Shares

सिद्धान्तत् एमाले (एकीकृत माक्र्सवादी लेलिनवादी) रूपमा जस्तो देखिए पनि सारमा ओमाले अर्थात् ओली माले भैसकेको हो । केही समययता एमालेका नाममा जे जस्ता दृश्यहरू मञ्चन भएका छन्, ती त केही बिचरा साक्षी मात्र हुन् । समयक्रममा अरू पनि थुप्रै कुरा उजागर हुँदैजाँदा भ्रममा बाँचेका बाँकीहरू पनि छ्याङ्ग हुनेछन् ।

समान्यतः कम्युनिष्ट पार्टीहरूको चरित्र नै यस्तै हो । जतिसुकै नीतिप्रधान भनिए पनि व्यवहारतः नेताप्रधान नै हुन्छन् । कुनै अमुक नेताले उसको नेतृत्व स्थापित गर्न नै नीति बनाएको हुन्छ । जे जस्तो भाष्य दिइए पनि चुरो कुरो व्यक्तिलाई नेता बनाउने कुरामै गएर जोडिन्छ ।

एमालेको कुरा गर्दा पनि त्यही हो । ओलीले पनि एमाले ओमाले नबनुन्जेल विधानको कुरा गरेकै हुन्, जनवादी केन्द्रीयताको कुरा उचालेकै हुन्, आन्तरिक लोकतन्त्रको दुहाई दिएकै हुन्, दुई कार्यकालको कुरा गरेर नेतृत्व हस्तान्तरणको रट लगाएकै हुन्, ७० वर्षे उमेर सीमा लगाएर युवा नेतृत्वको चकलेट पनि देखाएकै हुन् । तर, ती सबै ओलीले आफ्नो नेतृत्व स्थापित गर्न मात्र गरेका थिए । समयक्रममा ती सबै मामाको घोडाका लागि कोटेसन पार्न बनाइएका योग्यता जस्तै देखिए ।

अब त एमाले नै ओमाले बनिसक्यो । ओलीले आफूलाई नेता बनाइराख्न पनि ती सबै जोगाएर हुँदैन, भत्काउनु पर्छ । अहिले उनी विशिष्ट परिस्थिति भनेर आफ्नो नेतृत्व कायम राख्न ती सबै भत्काइरहेका छन् । यस क्रममा उनले भनी नै सके, ‘अबको २५ वर्ष एमाले अध्यक्ष मैं हुँ । अर्को नेतृत्व आवश्यक छैन ।‘

यसको अर्थ सिधा छ, ओली बाँचुञ्जेल एमालेमा नेतृत्व हस्तान्तरण सम्भव छैन । एमाले शीर्ष नेतृत्वको पछिल्लो चयन प्रकिया हेर्यो भने उनले भनेको बढी पनि हैन । अहिलेको केन्द्रीय नेतृत्वमा जो जो जे जे पदमा छन्, ती सबै ओलीले चितवनमा टीका लगाइदिएर ‘तँ यो होस्’ भनेर स्थापना गरेका थपना मात्रै हुन् ।

यो सत्यको अतिरिक्त पनि ओमालेभित्र ओलीपछिको लिगिलगे प्रतिस्पर्धा त कायमै छ । विभिन्न गुट–उपगुट छन् । तिनीहरूबीच तल्लो निकायसम्मै हानथाप र प्रतिस्पर्धा छ । यो हानथापको शीर्षमा छ, एमालेमा ‘ओलीपछि को ?’ भन्ने प्रश्न । त्यही क्रममा उभ्याइएकी वा उभिएकी पात्र हुन्, विद्यादेवी भण्डारी । यथार्थमा विद्या ओलीकै सारथि हुन् । आज ओली जहाँ छन्, उनलाई त्यहाँ उकाल्न विद्याको अहम् योगदान छ । विद्या मदन भण्डारीकी विधवा हुन्न थिइन् र जबजसहित ओलीको सारथि बन्न तयार हुन्थिनन् भने ओलीको खुइते राजनीति उहिलै सकिएको हुन्थ्यो । सम्भवतः एमालेबाटै निकालिएर असान्दर्भिक भैसकेका हुन्थे ।

तर, अहिले परिस्थिति ठीक उल्टो छ । पार्टीबाट निकालिने अवस्थाका ओलीले उल्टै अग्रज नेतृत्व निकालेर ढलिमली गरिरहेका छन् । अब त निस्कासनको भन्दा पनि एमाले पार्टी नै ओमाले अर्थात् ओली माले पार्टी भैसक्यो । यतिबेला यो पार्टीमा मात्र ओलीको डंका बजेको छ, बाँकी कसैको दैया चल्ने अवस्था छैन ।

त्यसैको पछिल्लो सजीव दृश्य हो, विद्या भण्डारीले नवीकरण गरेको सदस्यता नम्बर ६४१ खारेज । ओमाले केन्द्रीय कमिटीको निर्णय हेर्ने हो भने त सदस्यता खारेज मात्र हैन, अब विद्याका लागि एमाले पस्ने बाटो नै बन्द छ । ओमालेको भाषामा, राष्ट्रपति भैसकेको मान्छे पार्टी राजनीतिमा फर्कनु हुन्न । यसो भनेर उसले विद्याका लागि एमालेसहित सबै पार्टीको पनि ढोकै बन्द गर्न चाहेको देखिन्छ ।

ओमालेले यो सबै गणतन्त्र रक्षाको लागि वा राष्ट्रपतिको सम्मान र गरिमाको लागि भनेर भाष्य बनाउन खोजेको छ । ओमालेलाई राष्ट्रपतिको गरिमाको चिन्ता– सुन्दा मात्र पनि अनौठो लाग्छ । यही ओमाले र ओली हैनन्, विद्या राष्ट्रपति हुँदा शीतल निबासलाई ओली कार्यालय बनाउने? यी तिनै राष्ट्रपति विद्या भण्डारी हैनन्, रातको १२ बजेपछि पनि कार्यालय खोलेर ओलीको संसद विघटनको आदेश जारी गर्ने ? त्यो पनि एकपटक हैन, दुई–दुईपटक ।

राष्ट्रपतिको पदमा हुँदा एमालेको पक्षमा असंवैधानिक आदेश गर्न लगाएर मानमर्दन गर्ने, अनि अहिले आएर राष्ट्रपतिको गरिमा मण्डन गर्ने ? यो जति द्वैधचरित्र र पाखण्डपन के हुन सक्छ र ?
हुन पनि हो, गणतन्त्र नेपालमा राष्ट्रपतिको जुन गरिमामय स्थान र भूमिकाको परिकल्पना गरिएको छ, सुरूदेखि नै त्यस्तो हुन सकेको छैन । पहिलोपटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामवरण यादव राष्ट्रपति चुनिए । उनी नेपालका सुपरिचित गणतन्त्रवादी नेता राजारामप्रसाद सिंहलाई पराजित गरेर राष्ट्रपति भएका थिए । पार्टी बाहिरका शीर्ष गणतन्त्रवादी नेता हारेर कांग्रेस पार्टीका केन्द्रीय सदस्यले राष्ट्रपति जितेकै दिन नै नेपालमा गणतन्त्र हारेको थियो ।

रामवरण एक हुल कांग्रेसी कार्यकर्ता लिएर शीतल निवास छिरे । उनी आफ्नो कार्यकालभरि कम राष्ट्रपति र बढी कांग्रेस केन्द्रीय सदस्य रहे । उनका हरेक निर्णय कांग्रेसका पक्षमा थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डविरूद्ध कटुवालकाण्ड घटाउने यिनै रामवरण थिए । उनका अरू निर्णय पनि त्यस्तै थिए ।

त्यसपछि राष्ट्रपति भइन्, तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी । एक हुल एमाले कार्यकर्ता लिएर शीतल निवास छिरेकी उनी कम राष्ट्रपति र बढी ओली गुटकै एमाले उपाध्यक्षको भूमिका थिइन् । एमाले अध्यक्ष ओलीको आदेशमा दुई दुईपटक असंवैधानिक किसिमले संससद विघटन गरिदिइन् । तत्कालीन नेकपा मिलाउने र एमाले जोगाउने नाममा राष्ट्रपति कार्यालय ओली गुटको देउसी भैलो खेल्ने आँगन नै बन्यो ।

शायद विद्याले यो सबै एमालेको सक्रिय राजनीतिमा फर्कने पृष्ठभूमी बनाउनकै लागि गरेकी थिइन् । र, यसमा ओलीले पनि नेतृत्व आश्वासनको मिठो चकलेट देखाएकै थिए ।

एक राष्ट्रपतिको रूपमा विद्याको कार्यकाल न उल्लेखयोग्य रह्यो, न विवादरहित । उनी जनताकी छोरी गणतन्त्र नेपालको राष्ट्राध्यक्ष भएको भन्दा पनि एक सुविधाभोगी ‘महारानी’का रूपमा बदनाम भइन् । अहिले ओलीको गतिविधि देख्दा यो सबै विद्यालाई बदनाम बनाउन उनकै सुनियोजित चालको हिस्सा हुन सक्छ ।

प्रश्न विद्याको मात्र हैन, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल पनि उही ड्याङ्कै मुला हुन् । कांग्रेसको वरिष्ठ नेता उनी सांसद हुँदै राष्ट्रपति भए । कांग्रेसी गुट राजनीतिमा चुर्लम्मै डुबेका उनी नजित्ने प्रधानमन्त्रीका लागि १८ पटकसम्म उममेद्वार भएका पदलोलुप नेताका रूपमा बदनाम छन् । ‘कमाएकै छैन, एकपटक मन्त्री हुन पाउँ’ भनेर सम्माननीय सभामुख भरसकेपछि पनि कमाऊ माननीय मन्त्री भएका थिए ।

एक हुल आफ्नो गुटका कांग्रेस कार्यकर्ता लिएर शीतल निवास छिरेका उनका निर्णय पनि कांग्रेसकै पक्षपोषणमा छन् । पार्टी राजनीतिबाट माथि उठेर गणतन्त्र नेपालको राष्ट्रपति बन्न भ्याएकै छैनन् ।

जब कुनै व्यक्ति पार्टीको सक्रिय राजनीतिमै रहेको बेला त्यही पार्टीका एक हुल कार्यकर्ता लिएर शीतल निवास छिर्छ र आफ्नो गुट र पार्टीकै पक्षमा निर्णयहरू गर्छ भने त्यो कसरी सिंगो राष्ट्रको गरिमामय राष्ट्राध्यक्ष हुन सक्छ र ? साँच्चै भन्ने हो भने नेपालका कुनै पनि राष्ट्रपति सारा जनताले सम्मान गर्ने हैसियतका राष्टाध्यक्ष बन्न सकेकै छैनन् ।

यसको मूलकारण अहिलेसम्म भएका सबै राष्ट्रपति पार्टीका सक्रिय नेता भएर नै हो । खासगरी नेता व्यवस्थापनको लागि राष्ट्रपति हुने र माउ पार्टीको स्वार्थभन्दा माथि उठ्नै नसक्ने एक किसिमको रोग नै भएको छ । त्यसमा पनि विद्या त सबैभन्दा खह्रो उत्रिनेमा पर्छिन् । एक राष्ट्रपतिका रूपमा उनी पटक्कै लोकप्रिय पनि रहिनन् ।

उनै विद्या आफ्नो माउ पार्टी एमालेको पार्टी सदस्यता नम्बर ६४१ नवीकरण गरेर सक्रिय भइन् । झट्ट हेर्दा यो उदेक्कलाग्दो नै छ । राष्ट्रपति भैसकेको मान्छे, कुनै एक पार्टीको चौवन्नी सदस्य नवीकरण गर्ने अवस्थामा पुग्नु आफैँमा एक तन्नम सोच हो । तर, दुस्साहस नै सही, एक किसिमको साहस त हो नै । त्यस अर्थमा भने उनको निर्णय सम्मानयोग्य पनि छ ।

देशको विद्यमान संविधान, कानून, ऐन आदिले नछेक्ने अवस्थामा यस्तो ‘दुस्साहस’ छेक्ने भनेको सम्बन्धित व्यक्तिको विवेक, स्व–ईच्छा र नैतिकताले मात्र हो । यो पक्षलाई पूर्णतः बेवास्ता गर्दै सदस्यता नवीकरण गरेर पार्टीमा आइसकेपछि रोक्नु भनेको गैरकानूनी त हो नै, ओली–स्वेच्छाचारिताको चरम नमूना पनि हो । यसलाई ओमालेमा भएको नयाँ कोतपर्व भन्दा पनि अत्युक्ति हुँदैन । यसको अभिष्ट प्रष्ट छ, यो कोतमा विद्याको राजनीतिकि हत्या गरेर श्री ३ जंगे ओली जन्माउने । यस्तो कदमको भने जहाँ–कहीँबाट जो–कोहीले पनि विरोध गर्नैपर्छ ।

पूर्वराष्ट्रपति सक्रिय पार्टी राजनीतिमा आउनु हुन्छ कि हुँदैन, यसमा बहस हुन सक्छ र भैरहेको पनि छ । बहस भन्ने बित्तिकै पक्ष–विपक्ष त हुने नै भयो, भएको पनि छ । तर, संविधानले खास भूमिकाका लागि नचिन्ने पूर्वराष्ट्रपति पद भएकै आधारमा एक सार्भभौम नागरिकलाई राजनीतिक पार्टीमा संगठित भएर राजनीतिक गतिविधि गर्न पाउँदैनस् भन्नु चाहिँ सर्वथा अनुचित हो । अझ, त्यसमा पनि त्यो पक्षपोषणले लोकतन्त्रको पक्षपोषण हुन्छ कि हुँदैन ?,विचारणीय पक्ष यो पनि हो ।

यहाँ विद्याको पक्षपोषण भनेको एक सार्वभौम नागरिकको राजनीतिक अधिकारको पक्षपोषण त हो नै, सँगसँगै ओलीको निरंकुशतन्त्रको विरोध पनि हो । ओलीले एमालेलाई ओमाले बनाएर गरेको यो स्वेच्छाचारिता ज्ञानेन्द्रको निरंकुशताभन्दा कति पनि कम र भिन्न छैन । यो स्वेच्छाचारिताको सबै कोणबाट विरोध हुनैपर्छ ।

हो, विद्याले हिजो ओलीको सारथि भएर जे जे गरिन्, त्यो सबै एक विषालु सर्पको बच्चालाई दूध खुवाएर हुर्काएको जस्तै थियो । सर्पको धर्म नै हुर्केपछि हुर्काउने नै ठुङ्ने हो । अहिले ओली विद्यालाई ठुङ्ने मात्र हैन, सके उनको राजनीतिक भविष्य नै सिद्ध्याउन चाहन्छन् । पार्टी सदस्यता नै खारेज गरेर पार्टीमा प्रवेश गर्न नदिनु भनेको उनको राजनीतिक जीवनको हत्या नै हो ।

यतिबेला, हिजो ओली–विद्याको कोपभाजनको शिकार भएकाहरूको मनमा विद्यालाई ठिक्कै प¥यो भन्ने लागेको हुन सक्छ । यो मानवजन्य स्वभाव पनि हो । तर, यो पनि सत्य हो कि ओली एमालेको मात्र हैन, नेपालको वामपन्थी आन्दोलन र समस्त लोकतन्त्रकै साझा शत्रु हुन् । उनमा रहेको ‘मै खाऊँ मै लाऊ’ भन्ने ओली–प्रवृति देशका लागि विषवृक्ष नै हो । यो विष फैलिन नदिन पनि उनका हाँगाहरू काटिनै पर्छ । अझ, एमाले त उनको जरा नै हो ।

त्यो जरा उखाल्न पनि तत्कालका लागि एमालेमा विद्याको विकल्प देखिँदैन । त्यसैले पनि यतिबेला विद्याको पक्षमा उभिनु भनेको निरंकुशतन्त्रको विपक्षमा अझ भनौ लोकतन्त्रको पक्षमा उभिनुको पर्याय बनेको छ । यस अर्थमा पनि यो विद्याको लागि खुचिङ गर्ने बेला हैन ।

भनाइ नै छ, हिरा काट्न हिरा नै चाहिन्छ । ओली प्रवृतिको जरा काट्न अहिलेका लागि विद्या त्यस्तै हिरा हुन सक्छिन् । हो, अहिले एमालेमा उनको संख्यात्मक बल कम देखिएको छ, रक्षात्मक स्थितिमै धकेलिएकी छन् । तर, खुट्टा कमाइनन् भने उनमा ओलीका जरा काट्ने पर्याप्त पाइन छ । एकातिर मदनको विरासत त छ नै, अर्कोतिर ओलीको बढ्दो अत्याचार पनि कम छैन ।

प्रश्न ढिलो÷चाँडोको मात्र हो, ओलीको पतन निश्चित छ । त्यसपछिको ओलीरहित एमाले नै नेपालको वाम आन्दोलनको मूलधार हो । नेपालको राजनीतिक स्थायित्वको लागि पनि सैद्धान्तिक आधारमा दुईदलीय ध्रुवीकरणको विकल्प छैन । त्यो समयको माग विद्याको नेतृत्वमा सम्बोधन हुन सक्छ । विद्याको पक्षमा उभिनुको चुरो स्वार्थ पनि यही हो । मोही माग्नु छ, ढुंग्रो किन लुकाउनु र ?

प्रतिक्रिया दिनुहोस्