Logo
Logo

जबजको खोल र एमाले


2.4k
Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमै फर्किने कुराले एमाले तरंगित बनिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका गुट जसरी भए पनि भण्डारीलाई भावी अध्यक्ष बन्न नदिने षडयन्त्रमा जुटेको छ ।

भण्डारीले भने ‘म पछाडि फर्किन्नँ’ भन्ने सन्देश आम कार्यकर्तामाझ पु¥याइसकेकी छिन् । दुई दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्किनु गणतन्त्रकै लागि शोभनीय हुँदैन भनेर एकथरी एमालेका कार्यकर्ताहरूलाई बालुवाटार बोलाएर प्रशिक्षण गरिदै छ भने, अर्काथरी कार्यकर्ताहरू भण्डारीलाई जसरी भए पनि पार्टी अध्यक्ष बनाउनैपर्ने दृढ अडानमा छन् । यस्तो अवस्थाका बिच भण्डारी कसरी अगाडि बढ्छिन्, त्यो कुरा उनको भावी रणनीतिले तय गर्नेछ ।

तर, आश्चर्यजनक कुरा के भने–म एमालेमा फर्किन्छुभन्दा ढोकै बन्द गर्ने, मैले सदस्यता नवीकरण गरिसकेँभन्दा चुइक्क नबोल्ने, सहमतिबाटै अगाडि बढ्छुभन्दा सहमति शब्दसँगै तर्सिने, प्रतिष्पर्धाबाट भाग्न विधान नै परिवर्तन गर्न खोज्नेजस्ता कुराले एमाले नेतृत्वले पार्टीलाई कुन भड्खालोमा जाग्न खोज्दैछ भन्ने कुरातर्फ कार्यकर्ताले ध्यान पु¥याउनुपर्ने देखिएको छ ।

एमाले भन्ने पार्टी निर्माणमा कैयौँले बलिदान दिएका छन्, कैयौँ नेता–कार्यकर्ताले जीवनअर्पण गरेका छन् । यो पार्टी उखान टुक्काले निर्माण भएको होइन । पार्टीलाई नयाँ जीवन दिन जननेता मदन भण्डारीजस्ता नेताले जीवन समर्पण गरेको कुरा बुझ्नुपर्छ ।

पार्टी जीवन हठ, लहड, बहुलठ्ठी पाराले चल्दैन । पार्टी चलाउन विधि, विधान, नीति, सिद्धान्त चाहिन्छ । यो कुरा अहिलेको नेतृत्वले नबुझेको होइन, तर व्यवहारमा एमाले विचारको पार्टी नभइ लहडको पार्टी बनेकोले यो पार्टीको भविष्यप्रति सबै चिन्तित हुनु स्वाभाविकै हो ।

त्यही चिन्तनको जगमा उभिएर एमालेलाई पहिलो पार्टी बनाउँछु, सबै वामपन्थी पार्टीलाई गोलबन्द गर्छु र जबजको माध्यमबाट आर्थिक क्रान्ति गरेर मुलुकलाई समृद्ध बनाउछुभन्दा ‘त्यो पर्दैन’ भन्ने कस्तो एमाले बनाउन खोज्दैछन् वर्तमान नेतृत्व ? भण्डारीको पक्षमा लाग्ने नेता तथा कार्यकर्तालाई कारबाहीको त्रास देखाउँदै छ बालुवाटार । तर पनि भण्डारीको पक्षमा देशव्यापी माहोल बन्दै छ । एमालेलाई व्यक्तिको होइन, विचारको पार्टी बनाउनु पर्छ भन्ने लाखौँ कार्यकर्ताको भावनाको प्रतिनिधित्व भण्डारीले गर्दैछिन् ।

खासमा भण्डारीको चीन भ्रमणले जुन सन्देश दियो, त्यो सन्देशलाई कार्यान्वयन गर्न नदिन एमाले नेतृत्वले भण्डारीलाई रोक्न खोजेको देखिन्छ । नेपाललाई दक्षिणको दास बनाएर सत्तामा रजगज गर्नेहरूले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि तिनीहरू दास मानसिकताकै हुन्छन् भन्ने कुरा उनीहरूको प्रवृत्तिले देखाइसकेको छ । त्यसैले उनीहरूले आफूलाई जतिसुकै क्रान्तिकारी कम्युनिष्ट देखाए पनि उनीहरूको चरित्र, व्यवहार, कार्यशैली, स्वभाव र मानसिकता अहिलेको षडयन्त्रबाट उजागर भइरहेको छ ।

जबजको खोल ओढेर ढोल पिट्नेहरू विद्याको नामले तर्सिन थालेका छन् । आफूलाई मदन भण्डारीको विचारक ठान्नेहरूको होसहवास गुम भएको छ । नक्कली कम्युनिष्टबाट जबज कार्यान्वयन हुन पनि सक्दैन । त्यसैले ११औँ महाधिवेशनबाट एमालेलाई नयाँ जीवन दिइनुपर्छ, त्यसका लागि नयाँ नेतृत्व आउनुपर्छ । जुन आजका युवाहरूको सपना पनि हो । यो कुरालाई एमालेभित्रका दोस्रो पुस्ताले समयमै बुझेर अगाडि नबढ्ने हो भने ओली प्रवृत्तिका कारण घर जलाएर खरानी घस्ने दिन आउन धेरै कुर्न पर्दैन ।

प्रतिक्रिया दिनुहोस्