
हरेक क्रियाको समान तर विपरीत दिशामा प्रतिक्रिया हुन्छ । यो गतिको तेस्रो नियम हो । यसलाई अनेकौँ आयाममा फैलाएर व्याख्या गर्न सकिन्छ, विश्लेषण गर्न सकिन्छ । त्यस्तै एउटा चलनचल्तीको आयाम हो, जसका धेरै भक्त हुन्छन्, उसका निन्दक पनि उतिकै सङ्ख्यामा हुन्छन् । यसलाई अलि आधुनिक भाषामा भन्दा जसको मेनिया हुन्छ, त्यसको फोबिया पनि हुन्छ ।
प्रसंग रवि लामिछानेको हो । उनका भक्त जति छन्, निन्दक पनि त्यति नै छन् । तर, सङ्ख्यामा हेर्दा पहिला भक्त धेरै थिए, अहिले निन्दक धेरै छन् । पहिला रवि–मेनियाको पल्ला भारी थियो, यतिबेला रवि–फोवियाको । उनका आलोचकहरू पहिला पनि थिए, अहिले पनि छन् । तर, यो संख्या पनि पहिलेको भन्दा बढेकै छ । सुरूमा रविलाई ‘पर्ख र हेर’ भन्दै शंकाको सुविधा दिने एउटा ठूलो पङ्क्ति भने यतिबेला निराश छ ।
रवि लामिछाने यतिबेला भैरहवा कारागारमा छन् । उनको वर्तमान परिचय भनेको एक थुनुवाको मात्र हो । नाजायज सम्पत्ति आर्जन, सहकारी ठगी र संगठित अपराधका तीन–तीनवटा संगीन आरोप लागेर पुर्पक्षमा गएको एक थुनुवा । चार जिल्लामा उस्तै कसुरका आरोपी उनी अहिले चारमध्ये एक रुपन्देही जिल्लाको मुद्दाको क्रममा थुनुवा भएका हुन् । धरौटीमा छुटेर मुद्दा खेप्न नपाउने तहको कसुर गरेपछि उनको यो हविगत भएको हो ।
रविको बहालवाला परिचय एक थुनुवाको भए पनि उनका अरूखाले थुप्रै परिचय छन् । कुनै भूतपूर्व परिचय, कुनै निलम्बित परिचय त कुनै मुल्तवीवाला परिचय । उनको भूतपूर्व परिचय हो, पूर्वउपप्रधान तथा गृहमन्त्री । निलम्बित परिचय हो, चितवन २ का निलम्बित सांसद । उनका दुई परिचय मुल्तबीमा छन्, रास्वपाको सभापति तथा संसदीय दलको नेता । यसो त उनको भूतपूर्व परिचयमा अमेरिकी नागरिक पनि गन्नुपर्ने हुन्छ । यो परिचयलाई वर्तमान बनाउँदा उनले अर्को एउटा परिचय पनि भूतपूर्व बनाएका थिए, भूतपूर्व नेपाली नागरिक ।
रविका लागि कुन परिचय कतिबेला वर्तमान हुन्छ र कतिबेला भूतपूर्व हुन्छ, त्यो अनुमान बाहिर हुन्छ । चरम महत्वाकांक्षा र स्वार्थले निर्धारित परिचयहरूको दिशा र दशा यस्तै हो । उनका व्यक्तिगत र पारिवारिक सम्बन्धहरू पनि लगभग यस्तै छन् । पछिल्लो दसैँमा त उनी टीका थाप्न न घर गए, न ससुराली । उनको मात्र हैन, उनले आफ्ना तीन सन्तानहरूको हालत पनि लगभग उस्तै बनाइदिए ।
रविसँग विगतको ठूलो ब्यागेज छ । त्यसमा अनेकौँ विवादास्पद आइटम छन् । उनलाई लागेको थियो, ती सबै बिसाएर उनी राजनीतिमा पाइतो सरे । तर, त्यस्तो हुँदैन । सार्वजनिक जीवनमा जानेहरूको ब्यक्तिगत ब्यागेज खासै बिसाउन मिल्दैन । अहिले उनी त्यस्तै बिसाउन नमिल्ने सहकारी ब्यागेजका कारण थुनुवा बन्न पुगेका हुन् । अर्को यस्तै दोहोरा राहदानीको ब्यागेज छ, रामशाहपथको रातो घरमा बिसाइएको त्यो ब्यागेज कुनै पनि बेला रविको घाँटीमाथि तरबार भएर खस्न सक्छ ।
रवि अत्यन्तै चलाख छन् । कसरी आफ्नो काम फत्ते गर्न सकिन्छ, त्यो कलामा उनलाई कसैले जित्दैन । उनका सबै सम्बन्धहरू स्वार्थका लागि हुन्छन् । जब स्वार्थ पूरा हुन्छ, ती सम्बन्ध पनि उनका लागि कण्डोम जस्तै हुन्, युज एण्ड थ्रो ।
रविको त्यस्तै एउटै सम्बन्ध हो, जीवी राईसँगको सम्बन्ध । हो, जीवीको पृष्ठभूमी खराब छ, उनले अनेकौँलाई मुर्गा बनाएर अकूत सम्पत्ति कमाएका थिए । तर, ग्यालेक्सी टीभीमा आइपुग्दा उनी आफैँ रवि लामिछानेको फेला परे र अर्बौँको मुर्गा बने । रविलाई लागेको थियो, उनी जीवीलाई मुर्गा बनाएर सजिलै उम्किन सक्छन् ।
तर, त्यस्तो भएन । कारण, जीवी आफैंमा एक नटवरलाल थिए । उनलाई थाहा थियो, कागजलाई कसरी बोल्ने बनाएर दशी–प्रमाण छोड्न सकिन्छ । त्यसैले, कण्डोम बनाएर फालिएका जीवीले ग्यालेक्सीमा परेको विर्य देखाएर अन्ततः रविलाई थुनुवा बनाइ दिए ।
जब सत्य तथ्य हुन्छ, कसैको दैया चल्दैन । अहिले रविको सहकारी सत्य पनि तथ्यमा बदलिएको अवस्था हो । त्यसो नहुँदो हो त, एकमना संसद् नभएको यो सङ्क्रमणको बेला देशको चौथो ठूलो दलको सभापतिको यस्तो हरिबिजोग हुनै सक्दैनथ्यो । त्यसमाथि पनि रविसँग त कनिकालाई चामल भनेर बिकाउने वाककला छ ।
रविका लागि कारागार प्रिय हुने कुरै भएन । उनले बाहिर निस्कन के गर्छन् भन्दा पनि के गर्दैनन् भनेर थेसिसमा हैन, एन्टी थेसिसमै सोच्नुपर्ने स्थिति छ । यसैपनि खालि दिमाख सैतानको घर भनिन्छ । त्यसमाथि पनि रविको त घर हैन, बंगला नै हुन्छ । कारागारमा केही काम नहुँदा उनको दिमाखमा के के मात्र नखेलेको होला र ?
यही क्रममा उनले केही दिन अघि मात्र आफूलाई निर्दोष साबित गर्न हस्ताक्षर र सहयोगका लागि चन्दा संकलन सुरु गराए । उनको दाबी थियो कि उनीमाथि पूर्वाग्रह भयो । उनी हस्ताक्षरको बलमा बाहिर निस्कन चाहन्थे । हस्ताक्षर पनि गतिलै जम्मा भयो, ३२ लाखभन्दा बढी । पैसा पनि मनग्गै भेला पारे, ५६ लाखभन्दा धेरै ।
यसबाट उनी के पनि प्रमाणित गर्न चाहन्थे भने उनी सहकारी ठग हैनन्, एक राजबन्दी हुन् । सरकारले उनलाई पूर्वाग्रह राखेर थुनायो । तर, उनले के चाहिँ हेक्का राखेनन् भने उनी अदालतको निर्णयअनुसार थुनिएका हुन् । पूर्वाग्रहको कुरा गर्नु अदालतको मानहानीको विषय हो र यसबाट अदालत चिढिन सक्छ ।
रविले यो कुरा नबुझेको होलान् भन्न सकिन्न तर उनी को पूर्वाग्रही भएको भन्ने कुरा पेटबोलीमा राखेर आफूमाथि पूर्वाग्रह नै भएको भन्ने भाष्य बनाउन चाहन्थे । यसमा उनलाई मनग्गै सफलता पनि मिल्यो । उनको पक्षमा सर्वसाधारणले मात्र हैन, समाजका विभिन्न क्षेत्रका सेलिब्रेटीहरूले समेत हस्ताक्षर गरे । यसको अर्थ उनीहरूले पनि अदालतको निर्णयविरूद्ध हस्ताक्षर गरे । तर, यो विषयमाथि त्यो कोणबाट बहस भएन । यसले रविलाई मात्र हैन, समाजका सेलिब्रेटीहरूलाई पनि राहत मिल्यो ।
सामान्यतः अदालतले पुर्पक्षको लागि थुनामा पठाएको ठगीको अभियुक्तको पक्षमा न यस्तो अभियान चलाइन्छ, न सार्वजनिक व्यक्तित्वहरूले हस्ताक्षर नै गर्छन् । तर, नेपाल नै यस्तो अजब गजबको देश हो, जहाँ सबै हुन्छ । अझ हुनेभन्दा पनि नहुने धेरै हुन्छ । अझै पनि ठगी अभियुक्त रविको पक्षमा हस्ताक्षर र सहयोग संकलन जारी छ । कुनै पनि बेला यसमा हस्ताक्षर गर्नेहरूले अदालतको मानहानीको मुद्दा खेप्नुपर्ने पनि हुन सक्छ ।
रविलाई थाहा थियो, ‘यो अभियानबाट बढीमा भेटी जम्मा हुने हो, हस्ताक्षर संकलन हुने हो, त्यो भयो । तर, यसबाट आफू थुनामुक्त चाहिँ हुन सम्भव छैन । उनले यसमार्फत् एक किसिमको आफ्नो लोकप्रियता ट्रायल गर्नुका साथै नेता–कार्यकर्तालाई काम दिएका थिए, त्यो कोणबाट भने यो अभियान सफल नै भयो ।
रविको खालि दिमाखमा तमाम कुराले परेड खेले पनि चुरो कुरो भने कसरी थुनुवामुक्त हुने भन्ने नै हो । यही बिचमा उनले थुनामुक्त हुने शायद अन्तिम उपाय खोजे । त्यही उपायअनुसार उनले साउन १९ गते १२ पृष्ठ लामो एक निवेदन लेख्दै थुनामुक्तको लागि जिल्ला अदालत रूपन्देहीमा निवेदन दर्ता गराएका छन् । यस क्रममा उनले आफ्नो भागको बिगो दुई करोड ७४ लाख ८४ हजार रूपैयाँको बैक जमानत पनि दाखिला गरे ।
उनको १३ नम्बरे दाबी छ, ‘पदीय जिम्मेवारीका कारण बिगोबापत २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको छु । ‘न्वारानदेखिको बल लगाएर आफूले एक पैसा पनि हिनामिना गरेको छैन भन्ने रविले बिगो भुक्तान गर्दा पनि ठूलो कुरा गर्न छोडेनन् । उनको दाबी छ, निर्दोष भए पनि पदीय जिम्मेवारीका कारण बिगो दिएको । यसै पनि पश्चिमा जगतमा १३ संख्या दुर्भाग्यपूर्ण संख्या मानिन्छ । ठगी कबुल गरेको अर्थमा बिगोको ब्याख्या भयो भने रविका लागि पनि १३ संख्या पनौती नै हुन सक्छ ।
गजबको कुरा, रविका लागि करोडौँ सहयोग गर्नेहरूको हो । उनलाई यो २ करोड ७४ लाख ८४ हजारको सहयोग तीनजना शुभचिन्तकहरूबाट मिलेको हो । रविकै अनुसार उनलाई शंकरप्रसाद श्रेष्ठले एक करोड ५० लाख, रामानन्द घिमिरेले ९४ लाख ८४ हजार र मनोहर प्रधानले ५० लाख सहयोग दिएका छन् । सहकारी ठगीमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको एक व्यक्तिका लागि यतिका धेरै सहयोग गर्ने दानबीर कर्णहरू को हुन्?, यो स्तम्भ लेखिरहेको बेला उनीहरूको नाम मात्रै बाहिरिएको छ, पाठकसम्म आइपुग्दा तीनपुस्ते पनि सार्वजनिक भैसक्ला नै । अझ, उनीहरूको आर्थिक हैसियत र यतिका सहयोग गर्ने सम्पतिको स्रोतका बारेमा पनि उत्खनन् होला नै ।
रविले थुनामुक्तिका लागि अदालतमा निवेदन दिए लगतै उनकै वकिलले पेशी पनि सार्न भ्याइसकेका छन् । यसै क्रममा आफूलाई पायक पर्ने न्यायाधीशको बेञ्चमा मुद्दा नपरेकाले पेशी सारिएको भन्ने आशंका पनि न्यायवृतबाटै गरिएको छ । नेपालका वकिलहरू बिचौलियाको काम गर्ने र बेञ्च सपिङमा संलग्न हुने गरेको सर्वोच्च अदालतकै एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । रविको थुनामुक्ति जीवन मरणको प्रश्न बनिरहेको यतिबेला उनैले दिएको मुद्दाको पेशी सारिनु ‘स्याल पनि कराउनु, बाख्रो पनि हराउनु’ हो मात्र भन्न सकिने ठाउँ छैन ।
यतिबेला फेरि एकपटक सबैको ध्यान रुपन्देही जिल्ला अदालततिर तेर्सिएको छ । के रविले दाबी गरेजस्तै उनी थुनामुक्त हुन योग्य छन् ? के यस्तो थुनामुक्तिको नजीर छ ? मानौ, रविको पक्षमा निर्णय भयो रे, सहकारी पीडितसँग मिलापत्र गर्दै त्यो बिगो रकम उनीहरूलाई दिनुपर्ने हुन्छ । यसको अर्थ त्यो पैसा रविले अपचलन गरेको भन्ने हो । यो भनेको उनले दोष स्विकार्नु हो । यो मुद्दामा रविमात्र प्रतिवादी छैनन् । यस्तो अवस्थामा यो मुद्दाको भविष्य के हुन्छ ?
अदालतले रविको थुनामुक्तिको मात्र हैन, यस्ता सम्भावित प्रश्नहरूको पनि जवाफ दिनुपर्ने हुन्छ । रवि मात्र प्रतिवादी नभएको र उनको बिगोले ठगिएको सबै रकम नब्यहोर्ने मौजुदा स्थितिमा यो मुद्दाको निकास रविले सोचेजस्तै सहज देखिँदैन ।
रवि रुपन्देही कारागरमा थुनुवा भएपछिका केही दिन गुमनाम थिए । उनी पढन्ते बनेका केही छिटपुट समाचारहरू मात्रै बाहिरिएका थिए । यस्तो देखेपछि धेरैलाई लागेको थियो, अब रवि पनि म्याद सकिएको दबाइ भएछन् । बाचाल रविलाई यसको अनुभूति नहुने कुरै भएन । त्यसपछि उनले कहिले जेल सार्ने निवेदन दिएर त कहिले हस्ताक्षर तथा चन्दा संकलन अभियान चलाएर आफूलाई समाचार बनाइरहे । त्यही क्रम अगाडि बढ्दै जाँदा अहिले रिहाइ–निवेदनको पालो आइपुगेको हो ।
कुनै समयका भाइरल सञ्चारकर्मी रविलाई थाहा छ, कस्तो समाचार शीर्षक बिकाऊ हुन्छ । विकाउ समाचार शीर्षकसँग उनी आफैंको पनि पुरानै सम्बन्ध छ । कुनैबेला अरूलाई विकाउ शीर्षक बनाउने उनी कुनैबेला आफैँ विकाउ शीर्षक बन्छन् । शालिकराम प्रकरणयता सम्झदै ल्यायो भने उनी आफैँ धेरैपटक विकाउ समाचार शीर्षक बनिसकेका छन् । रिहाइका लागि अदालतमा दिइएको निवेदन त्यस्तै समाचार शीर्षकको पछिल्लो श्रृंखला हो ।
रविको मूल समस्या भनेको उनी आफैँ विवादास्पद विगतको ठूलो ब्यागेज हुन् । उनी राजनीतिमा आइसकेपछि बारम्बार गृहमन्त्रालय नै लिएर सरकारमा जानुपर्नाको करण पनि ब्यागेज हो । सहकारी प्रकरण जेनतेन किनारा लागे पनि दोहोरो राहदानीबाट पार पाउँन सहज छैन । सारा प्रमाण बोकेको दोहोरो राहदानीले उनलाई जेलमा मात्रै पुराउँदैन, दलीय राजनीतिमा नचल्ने रेशम चौधरीजस्तै खोटो सिक्का पनि बनाइदिन्छ ।
रविले राजनीतिमा आएपछि कुनै प्रमाणित अपराध गरेका छैनन् । पुरानाका तुलना ताजै छन् । यद्यपि, के पनि सत्य हो भने उनी नयाँका नाममा छिट्टै पुरानो भएका झल्लु मार्काचाहिँ हुन् । यसको पछाडिको चुरो कारण पनि उनको विगतको ब्यागेज नै हो । त्यो ब्यागेजले उनलाई मेरूदण्ड सोझो बनाएर उभिनै दिँदैन । यद्यपि, उनी युवा छन् र अझै पनि बोलेर दिउँसै रात पार्ने क्षमता राख्छन् । सबैभन्दा महत्व कुरा त उनलाई नेपाली जनतालाई कसरी घाँस हाल्न सकिन्छ, राम्ररी थाहा छ ।
रविका तमाम कमजोरी हुँदाहुँदै पनि एउटा कुराचाहिँ घामजत्तिकै सत्य हो कि उनीविरूद्ध सरकार लागेको हो । उनी जतिको अभियुक्त पुराना दलमा दर्जनौँ छन् । तीन दलका तीन ठूला नेताका किचेन क्याविनेटका अधिकांश तरमाराहरू यो वा त्यो नाममा लखनउ लुट मच्चाइरहेकै छन् । उनीहरूलाई केही भएको छैन । तर, त्यत्तिकै मात्राको सहकारी–जालझेल गरेका रवि भने थुनामा छन् । यस कोणबाट हेर्दा उनीमाथि सरकारले आँखा चिम्म नगरेर पूर्वाग्रह राखेको चाहिँ भन्न सकिएला । तर, अदालतमा पुगेपछि कानुनतः भएको फैसलाले त्यस्तो भनिरहेको छैन । प्रमाणहरू बोलिरहेका छन् । रविलाई जति यो सत्य नांगो किसिमले अरू कसैलाई थाहा हुनै कुरै छैन ।
०००
नेपाल लामो समयदेखि राजनीतिको अति प्रयोगशाला हुँदै आएको छ । त्यसैले अब पनि नयाँका नाममा कुनै अर्को असफल प्रयोग गर्नु समयको बर्बादीमात्र हो । गर्नुपर्ने कुरा चाहिँ के हो भने नेपालको राजनीतिलाई वैचारिक रूपले दुई दलीय ध्रुवीकरणमा लैजानु । त्यसका लागि दक्षिणपन्थीहरू एक कित्तामा र वामपन्थीहरू अर्को कित्तामा गोलबद्ध भएर आपसमा स्वस्थ प्रतिस्पर्धा गर्नतिर लाग्नुपर्छ । सम्बन्धित दलको आन्तरिक लोकतन्त्र जीवन्त बनाउन युवा हस्तक्षेप जरूरी छ । राजनीति गर्छु भनेर नयाँ पसल थाप्ने युवाहरूले त्यस दिशामा आफूलाई सक्रिय बनाए उनीहरूको त भलो हुन्छ नै, सारा नेपाली र नेपालको पनि भलो हुन्छ ।
रविको लागि पनि बाटो त्यही हो । उनको पृष्ठभूमि राजावादी हो । अहिले पनि उनको अन्तरआत्माले त्यही भन्छ । त्यसैले नेपाली कांग्रेस, राप्रपा र रास्वपालगायतका दक्षिणपन्थीहरूले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बनाएर जनतामा गए हुन्छ । त्यसको विपक्षमा सारा वामपन्थी, संघीयतावादीहरू एक कित्तामा उभिएर गणतन्त्र र धर्मनिरपेक्षको पक्षमा उभिएर जनमत संग्रहमा गए हुन्छ । त्यसले नेपाललाई राजनीतिक दर्शनको आधारमा स्पष्ट दुई कित्तामा त विभाजित गर्छ नै, नेपाललाई एक बलियो राष्ट्रका रूपमा उभ्याउँदै राजनीतिक निकास पनि दिन्छ ।











