काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालमा सोमबार साँझ इजरायलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन् ।

सो आक्रमणको व्यापक निन्दा भएको छ । अस्पताल तथा सञ्चारकर्मीलाई लक्षित गरिएको आक्रमणमाथि छानबिनको माग गरिएको छ । बीबीसीका अनुसार हमलामा अस्पताल परिसरको त्यो भागलाई निशाना बनाइएको थियो जहाँ धेरै विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए ।
मृतकहरूमा समाचार संकलनमा संलग्न रहेका स्थानीय र अन्तर्राष्ट्रिय समाचार संस्थामा काम गर्ने पाँच प्यालेस्टिनी पत्रकार पनि छन् ।
रोयटर्सका फोटोग्राफर होसम अल–मसरी, अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकारहरू मरियम अबु दक्का र मोआज अबु ताहाको मृत्यु भएको छ। त्यस्तै एक स्थानीय समाचार एजेन्सीका पत्रकार अहमद अबु अजिजको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ ।
गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या पुष्टि गर्दै आक्रमणमा दर्जनौं अन्य घाइते भएको जनाएको छ । मन्त्रालयले यो हमलालाई ‘भयानक नरसंहार’ भनेको छ। साथै अस्पताल र स्वास्थ्यकर्मीहरूलाई विशेष सुरक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भन्दै निन्दा गरेको छ ।
इजरायली सेनाले हमला स्वीकार गर्दै यसलाई ‘दुःखद दुर्घटना’भनेको छ। घटनाको अनुसन्धान सुरू गर्ने घोषणा पनि गरेको छ। इजरायली सेनाले विज्ञप्ति जारी गर्दै ‘नागरिकहरूमाथि भएको हानिप्रति दुःख व्यक्त गर्दछ’ भनेको छ र हमलाको उद्देश्य अस्पताल वा पत्रकारहरूलाई निशाना बनाउनु नभएको जनाएको छ ।
सो आक्रमणप्रति अन्तर्राष्ट्रिय संस्थाहरू र प्रेस स्वतन्त्रताका लागि काम गर्ने संस्थाहरूले आक्रोश व्यक्त गरेका छन् । सेन्टर फर प्रोटेक्सन अफ जर्नालिस्ट र रिपोर्टर्स विदआउट बोर्डर्सले पत्रकारहरूको हत्याको निन्दा गर्दै जवाफदेहिताको माग गरेका छन् ।











