Logo
Logo

‘मलाई सबै धार्मिक पर्वहरु मनपर्छ’


3.4k
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो, गायिका सविना कार्की । लामो समयदेखि गीतसंगीतमा सक्रिय छिन् उनी । उनका थुप्रै गीत चर्चित छन् । सुगम संगीतमार्फत पहिचान बनाएकी गायिका सविनाका केही एकल गीतिएल्बम बजारमा आएको छ । यहाँसम्म आइपुग्दा एक सयभन्दा बढी गीत गाइसकेकी सविना भन्छिन्, ‘मलाई प्राय सुगम गायिका भनेर श्रोताले चिन्छन् । तर, म सबै प्रकारमा गीत गाउँछु ।’ सविना भजन पनि गाउँछिन् । गायनसँगै समाजसेवामा सक्रिय गायिका सविना कार्कीसँग रेजिना पाण्डेको जम्काभेट :

तीज पर्व कसरी मनाउँदै हुनुहुन्छ ?
तीज मलाई मन पर्ने पर्व हो । खाशगरी मलाई धार्मिक पर्वहरु सबै मनपर्छ । म धर्ममा बिश्वास गर्ने मान्छे हुँ । मलाई बाल्यकालदेखि नै आमाहरुको साथमा लागेर रमाइलो गर्ने, व्रत बस्ने र पुजा गर्ने गर्थेँ । तीज खाशगरी हामी महिलाहरुको बिशेष पर्व पनि हो । आज तीजमा झमझमी नाच्ने हो ।

यसपाली पनि व्रत बस्नुभयो ?
बस्छु । म निलाहार व्रत बस्छु । व्रत बस्दा मलाई आन्नद लाग्छ । व्रतका साथसाथै मन्दिर जाने र नाचगान गर्छु । श्रीमानलाई ढोगेर पाउँ पानी खाएपछि मात्र व्रत पुरा गर्छु ।

पतिको खुट्टा धोएको पानी खाएर व्रत बस्दा नकारात्मक टिकाटिपणी हुने गरेको नि ?

मान्छेको आ–आफनो सोच–विचार हो । म चाहिँ पर्वहरुलाई बिश्वास गर्ने र भएको र धर्मप्रति आस्था राख्छु । धर्मकर्ममा विश्वास गर्ने भएको होला, सबै कुरा सकारात्मक सोच्छु । त्यसैले मान्छेहरुले जेसुकै भनून्, मलाई केही फरक पर्दैन । चाड पर्व मनाउन मलाई कसैले कर पनि गरेको छैन । मेरो श्रीमान र परिवारका लागि विश्वासले म व्रत बस्छु । त्यसैले कसले के भन्छ, के हुन्छ भन्ने त्यतातिर सोचदिनँ । म व्रत बसेर श्रीमानको खुट्टा धोएको पानी खान्छु भने अरुलाई किन आपत्ति ?

व्रतमा भोको पेट बस्न जरुरी छ ?
छैन । तर, एकदिन नखाँदा केही फरक पर्दैन । बिज्ञानले पनि सावित गरेको छ कि कहिलेकहिँ भोको बस्दा शरीर पनि राम्रो हुन्छ ।

तीजमा महिलाहरु धेरै सिँगारिन्छन् किन ?
तीज महिलाहरुकै पर्ब हो । यो विश्वास र पे्रमको पर्व पनि हो । महिलाहरुको विशेष पर्व भएकाले विवाहितहरु पनि चिटिक्क हुन्छन् । सौभाग्यको गहना लगाएर फुर्तिला हुन्छन् । पोते र सिन्दुर लगाउँछन् । अविवाहित महिलाहरु पनि चिटिक्क भएर व्रत बस्छन । नाचगान गर्छन् । यो संस्कार र परम्परा हस्तान्तरण हुँदै आएको हो ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
आफ्नो पसर्नल कामबाहेक गीत संगीतमै व्यस्त छु । म दैनिक कुमारी मन्दिरमा आरती गर्छु, भजन गाउँछु । आजभोलि भजनतिर निकै मन जान थालेको छ । एउटा सुरशक्ति भन्ने संस्था छ, म त्यहाँ पनि व्यस्त सक्रिय छु ।

यो सुरशक्ति भन्ने कस्तो संस्था हो ?
हामी स्रोह्र जना महिला कलाकारहरु मिलेर यो संस्थाको चलाइरहका छौँ । सुरशक्तिमार्फत बिभिन्न कार्यक्रम गरेर फण्ड कलेक्सन गर्छौँ । यो संस्थामा नाम चलेका गायिकाहरु हुनुहुन्छ । एकअर्कामा समस्या परेको बेला सहयोग पनि गर्छौँ । कुन बेला कस्तो अवस्था आउँछ, कसैलाई थाहा हुँदैन । यसैले हामी कलाकारहरु मिलेर यो काम गरिरहको छौँ ।

भक्ति संगीतप्रति तपाइँको झुकाव हो ?
हो, मलाई धर्मकर्म र भक्ति संगीतप्रति झुकाव छ । भक्ति संगीत गाउँदा मलाई आन्नद लाग्छ । अरु बिधाको संगीतझँै भक्तिसंगीत पनि गाइरहेकी हुन्छु । मैले कुमारी मन्दिरको कुमारी आरती आफ्नै शब्द संगीतमा गाएकी छु ।

अहिलेसम्म चलचित्रको गीतचाहिँ किन गाउनुभएन ?
यो प्रश्न धेरैले सोध्नुहुन्छ । मलाई अफर नआएको पनि होइन । तर, संयो भनौँ, मलाई सुहाउँदिलो गीत जुरेन । तर, अब चाँडै चलचित्रमा पनि गाउने छु । मलाई जर्वजस्ती गीत गाउन मन लाग्दैन । गीत आफँै बोल्छ र मार्मिक हुन्छ । चलचित्रमा कतै मेरो स्वरले साथ दिँदैन जस्तो लागेर पनि आजसम्म गाइनँ । पहिलो कुरा आफ्नो स्वरले दर्शक तथा श्रोताको मन जित्छ कि जित्दैन भन्ने कुरा गायक÷गायिकाले बुझनुपर्छ मलाई जस्तो लाग्छ । भविष्यमा भगवानको कृपा रह्यो भने पक्कै मेरो आवाज चलचित्रमा पनि सुन्न पाउनु हुनेछ ।

तपाइँ गाउनुअगाडि शब्द कि संगीत छनोछ गर्नुहुन्छ ?
पहिलो कुरा शब्द हेर्छु । त्यसपछि संगीत पनि किनकि शबदले नै गीत बनेको हुन्छ भने संगीतले लय दिएको हुन्छ । शब्द र संगीतले नै एउटा गीत पूरा हुन्छ ।

धर्मकर्ममा बढी तपाइँको जोड किन ?
धर्म गर्न मैले आमाबाट सिकेको हुँ । पछि सासुकै पे्ररणाबाट थप उर्जा मिलेको हो । म बाल्यकालदेखि नै धार्मिक स्वभावको थिएँँ । विवाहपछि सासुआमाले पनि सिकाउनुभयो । मलाई धर्मप्रति आस्था र विश्वास छ । म फुर्सदमा श्रीमानसँग मठमन्दिर जान्छु । म मात्र होइन, मेरो घरका सबै सदस्य धार्मिक आस्थामा विश्वास राख्छन् ।

एकथरी मानिस धर्म भन्ने कुरा ‘बकवास’ हो भन्छन् नि ?
मान्छेको आ–आफ्नो सोच हो । जसरी सोचिन्छ, त्यसरी बोल्न पाइन्छ । तर आस्था भने सबैमा छ । खाली व्याख्या गर्ने तरिका मात्र अलग भएको हो ।

छोरी र बुहारीमा केही भिन्नता भेटिन्छ ?
मेरो छोरी नभएको कारण छोरीको माया कस्तो हुन्छ भन्ने कुरा थाहा छैन । तर, दुई बुहारीहरुबाट राम्रै सम्मान र माया पाएको छु । खुशी लाग्छ ।

प्रतिक्रिया दिनुहोस्