काठमाडौं । भैरहवा र पोखरास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि छलफल भएको छ ।

अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि कार्ययोजना तयार गर्ने विषयमा विचारविमर्श गरिएको हो । साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार व्यवस्थापन र गौतमबुद्ध तथा पोखरा विमानस्थलमा नियमित उडानका लागि सम्भावित उपायहरू पहिचान गरी कार्यान्वयनमा जोड दिइएको छ ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको सहभागिता थियो ।














