Logo
Logo

लन्डनमा नेपाली मेलाको १६औं संस्करण सम्पन्न


252
Shares

लन्डन । बेलायतमा नेपाली कला, संस्कृति र परम्परा प्रबद्र्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको नेपाली मेलाको १६औं संस्करण भव्य कार्यक्रम गरि सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा तमुधिं यूकेले केम्पटन पार्क रेसकोर्समा आयोजना गरेको मेला आइतबार सम्पन्न भएको हो ।

उक्त मेलामा बेलायतका विभिन्न क्षेत्रबाट झन्डै १३ हजार नेपाली सहभागी भएका थिए । सन् २००९ देखि हरेक वर्ष हुँदै आएको मेला सहभागिता र सांस्कृतिक प्रस्तुति दुवै आधारमा अहिलेसम्मकै व्यापक र ऐतिहासिक बनेको आयोजकले जनाएका छन् ।

बेलायतका विभिन्न ४४ नेपाली संस्थाका तर्फबाट गरिएको आ-आफ्नो जातीय तथा सांस्कृतिक पहिचान र परम्परा झल्काउने कलात्मक झाँकी प्रस्तुति मेलाको प्रमुख आकर्षण थियो । सोही अवसरमा झन्डै दुई दर्जन संस्थाले मौलिक नेपाली सांस्कृतिक नृत्यसमेत देखाएका थिए ।

तमु समुदायको ट्होटे, नेवारहरूको गाईजात्रा र मौलिक बाजामा घिन्ताङ घिसी, किरातहरूको साकेला, लिम्बूहरूको हाक्पारे, धाननाच र च्याब्रुङदेखि मगर समुदायको कौरा, मारुनी र झ्याउरे, नौमति बाजासम्मका विविध मौलिक प्रस्तुतिले मेलालाई साँच्चिकै नेपालमय बनाएका थिए ।

पासा पुचः गुथिले ४० जनाको सहभागितामा मौलिक धिमे नाचको उत्कृष्ट प्रस्तुति देखाएको थियो  । बन्टओर्क नेपाली समाजका तर्फबाट केयरसिंह गुरुङको संयोजनमा ससाना बालबालिकाले प्रस्तुत गरेको सारंगी र मादलको प्रस्तुतिले पनि धेरैको मन जित्यो । मेलामा प्रस्तुत झाँकी तथा मौलिक सांस्कृतिक नृत्यतर्फ उत्कृष्ट प्रस्तुति गर्दै पासा पुचः गुथि यूकेले ११ सय पाउन्ड नगद पुरस्कारसहितको एम्बासडर कप जित्यो ।

किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा क्रमशः दोस्रो र तेस्रो भए । झाँकीतर्फ मगर संघ यूके, पासा पुचः यूके र किरात याक्थुङ चुम्लुङ तथा सांस्कृतिक नृत्यतर्फ पासा पुचः गुथि यूके, तनहुँ समाज यूके र किरात याक्थुङ चुम्लुङ क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार जित्न सफल बने ।

मेलास्थलमा राखिएका नेपाली खाना, पोसाक र मौलिक सामग्रीहरूदेखि विभिन्न व्यापार, व्यवसाय र च्यारिटीलगायतका ७५ वटा स्टलमा मेला हेर्न आएका सहभागीको दिनभर भिड लागेको थियो ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न मेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपालको विशिष्ट पहिचान र सांस्कृतिक विविधतालाई नेपाली मेलाले बेलायतमा ल्याएकोमा खुसी व्यक्त गरे ।

बेलायतमा नेपाली परम्परा, कला र संस्कृतिको यो प्रस्तुतिले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा बिस्तार र सुदृढ गर्न योगदान गरेको राजदूत घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्