
काठमाडौं । सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने शुल्क पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८४ सम्मका लागि ९७ हिमाल आरोहण गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको हो । मन्त्रालयका अनुसार कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशका सीमामा रहेका तीनवटा गरी ९७ वटा हिमालको आरोहण निःशुल्क हुनेछ ।
निःशुल्क आरोहणका लागि खुला गरिएकामा त्यस क्षेत्रका अपि, सैपाल, काञ्जिरोवा, कान्टी, जेठी बहुरानीलगायत छन् । यी ९७ हिमाल आरोहणका लागि हालसम्म विदेशीले १७५ डलरदेखि पाँच सय डलरसम्म रोयल्टी तिर्नुपर्दथ्यो ।
मन्त्रालयले नेपाल राजपत्रमा भदौ ९ गते सूचना प्रकाशित गरेको हो । यो छुट पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड (ख) बमोजिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।















