
अतिले खती निम्त्याउँछ भन्छन्, नभन्दै यो कुरा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भले एमालेभित्र खती नै खती निम्त्याइरहेको छ । ‘तै पनि ओली बाले ठिक गरे’ भन्दै सामाजिक सञ्जालमा चाकरी गर्नेहरूको सङ्ख्या एमालेमा कमी छैन ।
हुँदाहुँदा संसद् विघटन पनि ठिक, पार्टी विभाजन पनि ठिक भन्नेहरूको जमात पार्टीभित्र निर्णायक शक्ति भएपछि त्यो पार्टी अवसानको डिलमा नपुगेर कहाँ पुग्छ ? पार्टी भनेको विचारले चल्ने संगठन हो । जहाँ विचार शून्य हुन्छ, त्यहाँ भिडले पार्टी सञ्चालन गर्छ । अहिले एमालेको अवस्था भनेको विचार शून्य भिडको जमात हो । जहाँ विचार प्रधान होइन, व्यक्ति प्रधान हुन्छ, त्यहीबाट सुरु हुन्छ कम्युनिष्ट पार्टीको ओरालो यात्रा ।
ओलीको दम्भकै कारण दुईतिहाइको सरकार तासको घरजस्तै गल्र्यामगुर्लुम ढल्यो । संविधान विपरीत दुई–दुईपटक संसद् विघटन गरेर आफ्नै विनाश निम्त्याए । माधवकुमार नेपालले विद्रोह गरेर नयाँ पार्टी खोले । ओलीका दम्भका सामु झलनाथ खनाल, वामदेव गौतमहरूजस्ता कम्युनिष्टका हस्तीहरू टिक्न सकेनन् । दोस्रो पुस्ताका आशालाग्दा नेताहरू घनश्याम भुसाल, भीम रावलहरूले रुँदै पार्टी छाड्नुपर्ने अवस्था खडा गरियो ।
एकतामा बल हुन्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि ओलीले रुखको हाँगामा बसेर फेद काट्ने काम गरिरहेका छन् । कालिदासको यो कर्मलाई एमालेभित्रका दासहरूले समर्थन जनाइरहेका छन् । विद्या भण्डारीजत्तिको नेता पनि एमालेभित्र अटाउन सकेनन् । उनको पार्टी सदस्यतासमेत नवीकरण गरिएन । राष्ट्रपतिबाट बिदा भएपछि एमालेको झण्डामुनि गोलबन्द हुन्छु भन्दा पनि विद्यालाई अपमानको घुँट पिउन बाध्य बनाइयो । विद्याले न्याय नपाउने पार्टीमा अन्य नेता, कार्यकर्ताहरू कसरी टिकिरहेका होलान्, तिनीहरूलाई विचरा भन्नेबाहेक अर्को शब्द छैन ।
सबै वामपन्थी, देशभक्तहरूलाई एकजुट बनाएर देश निर्माण गर्छु भन्ने अठोट नै विद्याका लागि अभिशाप बन्यो । यसको मूल्य ढिलोचाँडो ओलीले चुकाउनुपर्ने छ । किनभने, सत्ता, शक्ति र पैसा अस्थिर वस्तु हुन् । देउवाले हात झिकेको दिन ओलीको हालत के हुन्छ भन्नेतिर सायदै, उनले सोचेका होलान् । अथवा, त्यो दिन आउन नदिन उनले केही न केही खुराफाती दिमाग घुमाइरहेका होलान् ।
सबैले मिसन-८४ को सपना देखेका छन्, तर ओली त्यो मिसन ८४ माथि तातोपानी खन्याउने बाटो ढुक्दै छन् ।विधान महाधिवेशनमा ओलीको साढे सातको खड्को कटे पनि एघारौं महाधिवेशन उनका लागि फलामको च्यूरा बन्ने पक्का छ । त्यसैले आफू प्रधानमन्त्री भएकै बेला फेरि संसद् विघटन गर्ने दाउ हेरिरहेका छन् । यसो गर्दा सत्ता पनि जोगिने, ११औँ महाधिवेशन पनि टर्ने र ‘अर्लि इलेक्सन’ गरेर बहुमत जुटाउने सोम शर्मा पथमा ओलीको यात्रा जारी छ कि भन्ने आभास मिलेको छ ।
तर ओलीको यो षडयन्त्र पत्याउन कांग्रेस तयार छैन । उसले राष्ट्रपति आफ्नो भएकाले विघटन सम्भव छैन भनिरहेको छ । तर, कानुनका नौ सिङतिर उनको ध्यान गएको छैन । ओलीराज नेपालको राजनीतिमा यो नै अन्तिम हो । जतिसुकै षडयन्त्र गरे पनि उनको अस्त्रले अब काम गर्लाजस्तो लाग्दैन । देशलाई अर्को दुर्घटनाबाट जोगाउन पनि शेरबहादुर देउवा तयार हुनुपर्ने हो । तर, देउवालाई प्रचण्डको विश्वास छैन ।
राजनीतिमा एक पटक मुर्ख बनाउन सकिन्छ, सधैँ मूर्ख बनाउन सकिँदैन भन्ने कुरा देउवाले बुझेपनि प्रचण्डले बुझ्न नसक्दा उनीप्रतिको विश्वासमाथि शंकाको बादल मडारिएको छ । त्यसैले मिसन ८४सम्म देशको राजनीतिले कता कोल्टे फेर्छ, यसैभन्न सकिन्न । जननेता मदन भण्डारीले त्यसै भनेका होइनन् ‘कालीदाशको ‘क’ पढेर माक्र्सवाद बुझिँदैन ।’











