काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा ‘हाइड्रो बाजे’को उपनामले चर्चित गुरुप्रसाद न्यौपाने र उनको समूहले प्राथमिक तथा हकप्रद सेयरमार्फत सर्वसाधारणबाट अर्बौं रुपैयाँ संकलन गरिरहेका छन् ।

पछिल्लो समय अरुण काबेली पावर कम्पनी लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ, जसले लगानीकर्ताहरूमाझ जोखिम, पारदर्शिता, र पुँजीको सदुपयोगबारे गम्भीर प्रश्न खडा गरेको छ । न्यौपाने समूहका कम्पनीहरूमा पारिवारिक नियन्त्रण, इनसाइडर ट्रेडिङका पुराना काण्ड र लगानीको पारदर्शितामाथि उठेका प्रश्नहरूले यो मुद्दालाई थप जटिल बनाएको छ ।
हकप्रद सेयरको नयाँ अभियान
न्यौपाने समूहले हालै ट्रेड टावरको प्राथमिक सेयरबाट ३५ करोड रुपैयाँ संकलन गरेको थियो। अब अरुण काबेलीले आफ्नो चुक्ता पुँजी ३.८९ अर्ब रुपैयाँबाट हकप्रद सेयरमार्फत थप १.९४ अर्ब रुपैयाँ जुटाउने योजना बनाएको छ । यसका लागि कम्पनीले यहि २०८२ साल असोज ३ गते साधारणसभा बोलाएको छ । यसअघि २०८० भदौमा पनि अरुण काबेलीले १ः१ अनुपातमा १६.५३ करोड कित्ता सेयर जारी गरी १.६५ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
अरुण काबेलीमा अरुण भ्याली र गुरुप्रसाद न्यौपानेको मात्र १४ प्रतिशत सेयर हिस्सा छ, बाँकी ८६ प्रतिशत सेयर दोस्रो बजारका सर्वसाधारण लगानीकर्तासँग छ । यस्तै, अपी पावर कम्पनीले सुरुको १ अर्ब चुक्ता पुँजीबाट पटक–पटक हकप्रद सेयर जारी गरी हाल ६.७५ अर्ब रुपैयाँ पु¥याएको छ। अपीले हालै ५० मेगावाटको दिव्यज्योति हाइड्रोपावर खरिद गरेको छ भने इङ्वा हाइड्रोपावर, अपी हाइड्रो मेकानिकल, सूर्यकुण्ड हाइड्रो, दार्चुला पावर, अपी चमेलिया पावर, लत्तीनाथ पावर, अपी इन्फ्रा, अपी स्प्रिङ, र अपी होल्डिङ्स जस्ता कम्पनीहरूमा करोडौं लगानी गरेको छ ।
यी कम्पनीहरूले नयाँ जलविद्युत आयोजनामा लगानी बढाउने नाममा बारम्बार पुँजी संकलन गरिरहेका छन् । तर, पारिवारिक नियन्त्रणमा रहेका यी कम्पनीहरूले उठाएको रकमको सदुपयोग नभएमा सर्वसाधारण लगानीकर्ताको पुँजी जोखिममा पर्ने खतरा विज्ञहरूले औंल्याएका छन् ।
पारिवारिक नियन्त्रणमा कम्पनी
न्यौपाने समूहका कम्पनीहरूमा पारिवारिक सदस्य र नातेदारहरूको बाहुल्य छ । जस्तै उदाहरणका लागि अरुण भ्याली हाइड्रोपावर ः सञ्चालक समितिमा गुरु प्रसाद न्यौपानेका निकट व्यक्तिहरू छन् ।
अपी पावरमा अध्यक्ष गुरु न्यौपानेकी बुहारी सिर्जना खड्का अध्यक्ष र प्रबन्ध निर्देशकमा छोरा सञ्जीव न्यौपाने छन् । अन्य सञ्चालकहरूमा दिवाकर प्रसाद न्यौपाने, मधुसूदन कोइराला र मिलन खड्का जस्ता नातेदार छन् ।
अरुण काबेलीमा गुरु न्यौपानेका भतिज रमेशप्रसाद न्यौपाने कार्यकारी अध्यक्ष छन्, जो अरुण भ्यालीको प्रबन्ध निर्देशक पनि हुन् । अरुण काबेलीमा गुरु न्यौपानेको साला सुशील तिमिल्सिना सन्चालक छ्न् भने अन्य सन्चालक जीवनराज शाक्य, शलिन नेपाल शाश्वत चालिसे पनि गुरु न्यौपानेकै आसेपासे हुन् ।
रिदि पावरमा न्यौपानेले भान्जा कुबेरमणि नेपाललाई पहिला प्रबन्ध निर्देशक हाल अध्यक्ष बनाएका छन् । एउटै व्यक्ति विभिन्न कम्पनीमा फरक–फरक पदमा रहने र सञ्चालक समितिमा नातेदारहरूको बहुमत राख्ने शैलीले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ । अरुण भ्याली, अरुण काबेली, रिदी हाइड्रोपावर, र अपी पावर जस्ता कम्पनीका लगानीकर्ताहरू उच्च जोखिममा पर्न सक्ने देखिन्छ ।
इनसाइडर ट्रेडिङ र कानुनी कारबाही
यस अघि गुरुप्रसाद न्यौपाने सेयर बजारका विभिन्न काण्डमा मुछिएका छन् । उनलाई इनसाइडर ट्रेडिङको आरोपमा पटक–पटक कारबाही भएको छ ।
मार्च २०२४ मा विशेष अदालतले उनलाई इनसाइडर ट्रेडिङमा दोषी ठहर गर्दै १ वर्ष कैद, १.९९ करोड जरिवाना, र ३.९८ करोड बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनायो । अदालतले उनले आफ्ना कम्पनीहरूको सेयर मूल्य कृत्रिम रूपमा बढाएको र आन्तरिक कारोबार गरेको पुष्टि गरेको थियो । २०७८ मंसिरमा सम्पत्ति शुद्धीकरण विभागले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । २०७९ पुसमा नेपाल धितोपत्र बोर्ड (सेवोन)ले उनलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक कम्पनीको सञ्चालक बन्न नपाउनेगरी प्रतिबन्ध लगायो र ७५,००० जरिवाना तोकेको थियो । २०८० मा काठमाडौं जिल्ला अदालतले इनसाइडर ट्रेडिङमा दोषी ठहर ग¥यो ।
त्यसैगरि २०८१ चैतमा सेवानले आन्तरिक सेयर कारोबारको आरोपमा थप कारबाही गरेको थियो । यी घटनाले न्यौपानेलाई सेयर बजार र जलविद्युत क्षेत्रमा ठगीको नजिरका रूपमा स्थापित गरेको छ । लगानीकर्ताले आशा र भविष्यको प्रतीक मानेर खरिद गरेका सेयरहरू आज घाटामा डुबेका वा धितोमा परेका छन् । न्यौपाने समूहले नयाँ आयोजनाको नाममा सर्वसाधारणबाट अर्बौं रुपैयाँ संकलन गरिरहेको छ ।
विज्ञहरूले लगानीकर्तालाई यस्ता कम्पनीमा लगानी गर्नुअघि निम्न कुरामा ध्यान दिन सुझाव दिएका छन् ः
-कम्पनीको वित्तीय विवरण र लगानीको पारदर्शिता जाँच्ने ।
-नियामक निकायहरूको फैसला र कम्पनीको कानुनी इतिहास अध्ययन गर्ने ।
-पारिवारिक नियन्त्रण र सञ्चालक समितिको संरचनाको मूल्यांकन गर्ने ।
न्यौपाने समूहले उठाएको पुँजीको सदुपयोग हुने ग्यारेन्टी कसले लिन्छ ? भन्ने प्रश्न अझै अनुत्तरित छ । लगानीकर्ताहरूले यस्ता कम्पनीमा पैसा हाल्नुअघि गम्भीर विश्लेषण र सावधानी अपनाउनु जरुरी छ । साथै धितोपत्र बोर्डले न्यौपाने समुहको प्राथमिक सेयर, हकप्रद सेयर जारी गर्ने प्रस्ताव उपर गम्भीर ढंगले अध्ययन गर्नु पर्ने देखिन्छ ।











