
हिन्दूबहुल नेपालको एक प्रमुख चाड दसैँ नेपाली जनजनका घर आँगनमा भित्रिसकेको छ । कुनै समय हिन्दू अधिराज्य भएकाले नेपाली मात्रकै सबैभन्दा ठूलो चाड थियो यो । अन्य धर्मवालम्वीहरूले पनि केही रहरले अनि केही कहरले यो चाड मनाउँथे । त्यसैले यो एक किसिमको राष्ट्रिय चाडजस्तै थियो ।
देशमा गणतन्त्र आयो । राष्ट्र धर्मनिरपेक्ष भयो । अनि, दसैँ पनि क्रमशः हिन्दूहरूको चाडमा सीमित भयो । यद्यपि, यसको राष्ट्रिय चाडको प्रभाव पूरै उत्रिसकेको छैन, ट्रिकल डाउन प्रभाव कायमै छ । त्यसैले अझै पनि दसैँलाई नेपाली मात्रको महान् चाड भन्नेहरूको कमी छैन ।
दसैँ त आयो तर केही दिनअगाडि देशलाई लागेको दशाले साँचो मानेमा दसैँ आउने बाटो नै छेकिदियो । दशा पनि सानो हैन, ७४ जनाको ज्यान जानेगरी आयो । सयौँ अङ्गभङ्ग भए । हजारौँ घाइते भए । एक हैन, अनेकौँ राष्ट्रिय धरोहरहरू खरानी बनाइए । खरानीको थुप्रोमा सरकारी र सार्वजनिक सम्पत्ति मात्र थिएन, ठूलो मात्रामा व्यक्तिगत सम्पत्ति पनि थियो ।
यो त भौतिक क्षतिको कुरा भयो । यसको नापजाप हुन्छ र समयक्रममा हुँदै गर्ला पनि । तर, मानसिक रूपमा भएको क्षतिको कुनै लेखाजोखा नै छैन । नेपालका पुराना भनिएका तीन ठूला राजनीतिक पार्टीहरूको सत्वस् स्वाहा भयो । नयाँ भनिएका रास्वपालगायतका दलहरू पनि तीन वर्ष नपुग्दै असान्दर्भिक भए । नेता भनिएकाहरूको छवि लगभग अपराधीको जस्तै भयो । देशमा राजनीतिक पार्टी र नेताहरूको यो हविगत हुनु भनेको अथाह राष्ट्रिय क्षति हो ।
आन्दोलनको क्रममा जुन किसिमको आगजनी र आतंक मच्चाइयो, त्यसले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छवि साह्रै खराब भयो । नेपाल भनेको असुरक्षित राष्ट्र हो, त्यहाँ जानु हुँदैन भन्ने किसिमको भाष्य बन्यो । त्यति मात्र हैन, नेपाली भनेको आगो झोस्ने जाति हो । उनीहरूको नजिक बस्नु हुँदैन भन्ने किसिमको थप खराब भाष्य पनि बन्यो । नेपाललाई सहयोग गर्नेहरूमा पनि आगो लगाउन किन निर्माण गरिदिने भन्ने किसिमको सोच बन्यो ।
यो अपूरणीय क्षति हो । यसको लेखाजोखा सहज मात्र हैन, लगभग सम्भव पनि छैन । यद्यपि, सकारात्मक सोच राख्नुपर्छ भन्ने सोच र कोणबाट भनिटोपल्न चाहिँ सकिन्छ । आखिर बोल्ने कुरा त रहेछ, जिब्रोलाई ठेस लाग्ने हैन ।
जसोतसो दसैँ आएको छ । देश दुखेको बेला आएको दसैँ समयसँगै आउँछ-जान्छ । यसले ल्याउने खुसी, यसपटकलाई यस्तै भयो । त्यसैले दसैँको कुरा यति नै ।
फेरि एकपटक दशाकै कुरा गरौँ । जेनजी आन्दोलन एक किसिमको सामाजिक विद्रोह थियो । त्यसलाई दबाउन एमाले–कांग्रेस सत्ताका मुखिया केपी ओलीले नरसंहार नै गरे । त्यसको प्रतिरोधमा भएको विस्फोटले जुन किसिमको तबाह मच्चायो, त्यो अकल्पनीय छ । यो राष्ट्रिय तबाह कसैको पनि पक्षमा छैन । त्यसैले कोही पनि त्यसको जिम्मेवारी लिन चाहँदैन । यतिबेला जो कोही पनि जिम्मेवारीबाट पन्छिन अनेक षड्यन्त्रका सिद्धान्तहरूको तानाबाना बुनिरहेका छन् । त्यसैको आधारमा मिडिया ट्रायल जारी छ ।
यो नरसंहारका सूत्रधार र कर्ता दुवै ओली हुन् । यो घामजत्तिकै सत्य हो । यति मात्रै हैन, के पनि उत्तिकै सत्य हो भने १९ जनाको ज्यान लिएपछि आफ्नो ज्यान जोगाउन सैनिक हेलिकोप्टर चढेर बालुवाटारबाटै भागेका भगौडा हुन् उनी । त्यसअघि उनले रहरले हैन, कहरले राजीनामा दिएका थिए । यो भनेको अन्य देशमा विद्रोह हुँदा भागेका तानासाहको जस्तै स्थिति हो । धेरै टाढा जानै पर्दैन, बंगलादेशको विद्रोहमा ज्यान जोगाएर भागेकी जियाजस्तै भगौडा शासक हुन् उनी ।
ओली नौ दिनसम्म सैनिक ब्यारेकमा ज्यान जोगाएपछि यतिबेला गुण्डुमा डेराको बास बस्न पुगेका छन् । पार्टीका गुण्डा कमाण्डर महेश बस्नेतको सुरक्षामा बसेका उनले संविधान दिवसको अवसरमै एक वक्तव्य जारी गर्न भ्याएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।’
वक्तव्यमा ओलीले नरसंहारको कारक आफू भएको कतै पनि स्वीकारेका छैनन् । उनले उल्टै घुसपैठ भएको आरोप लगाउँदै प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको दाबी गरेका छन् । त्यति मात्र हैन, उनले पूरै लाज पचाएर आफूलाई काजी भीम मल्लसँग तुलना गरेर इतिहासकै धज्जीसमेत उडाएका छन् ।
मात्र नौ दिन पहिले बालुवाटारबाट ज्यान जोगाएर भागेका भगौडा शासक हुन्, ओली । यति छिट्टै उनले यस्तो वक्तव्य जारी गर्नु एक किसिमको दुस्साहस त हो नै, जेनजी क्रान्तिलाई खुलेआम चुनौती दिँदै प्रतिक्रान्तिको संकेत दिनु पनि हो ।
ओलीको बोलीमा लोली मिलाउँदै यतिबेला उनका कारिन्दाहरू अनेक किसिमका मिडिया ट्रायलमा व्यस्त छन् । एकथरिको भनाइ छ, यो सबै ओलीले लिपुलेकका बारेमा कुरा उठाएपछि भारतले चालेको कदम हो । दोस्रोथरि भनिरहेका छन्, दलाई लामाको पक्षमा चीनलाई एक्ल्याउन अमेरिकाको रणनीतिक चाल हो । तेस्रोथरिको दाबी छ, यसमा ओलीविरोधी रवि लामिछाने, बालेन साह र दुर्गा प्रसाईँको हात छ । उनीहरूलाई माओवादीले पनि भरपूर सहयोग गरे ।
अन्तर्राष्ट्रिय चलखेलसम्बन्धमा भएको मिडिया ट्रायलका बारेमा अहिले नै केही भन्न सकिन्न । तर, देशभित्रका खेलाडीहरूका बारेमा भने ओली कारिन्दाहरूले लगाएका सबै आरोप गलत हुन् पनि भन्न सकिने अवस्था छैन । सिंहदरबारमा लगाइएको आगोलाई बालेन साहले पटकपटक सिंहदरबार जलाइदिने भनेर दिँदै आएको धम्कीसँग जोड्न सकिन्छ । उनका हरेक शब्दलाई मन्त्र ठान्ने अनुयायीहरूले मौकामा चौका हान्दै सिंहदरबारमा आगो लगाएका हुन सक्छन् ।
यसैगरी, अदालत, प्रहरी कार्यालय र कान्तिपुरसँग रविको जानी दुस्मनी छ । उनका अनुयायीहरूले आफ्ना भगवान्का सारा मुद्दाका मिसिल, अनुसन्धानका फाइल र दशीप्रमाणहरू मेटाउन यो आन्दोलनलाई प्रयोग गरेनन् होला भन्न सकिन्न । रविले १२ भाइको जेठो भाइ भन्दै हिटलिष्टमा राखेको कान्तिपुरमा रास्वपाका कार्यकर्ताबाहेक अरूले आगो लगाउने कुरै हुँदैन । यसैबीच, आगजनीमा संलग्न भएको भन्दै रास्वपाले केही नेता तथा कार्यकर्तालाई कारबाही पनि गरेको छ । यसले पनि रास्वपा प्रत्यक्षरूपमै आगजनीमा संलग्न भएको प्रमाणित हुन्छ ।
कुरा रह्यो दुर्गा प्रसाईँको, उनी सुरूदेखि नै एमाले, कांग्रेस र माओवादी पार्टी र भारतीय मूलका व्यापारीहरूमाथि धारेहात लगाउँदै आएका थिए । उनका उद्दण्ड अनुयायीहरूका लागि ती सबैसँग बदला लिने योभन्दा उत्तम अवसर अरू कुनै हुन सक्दैनथ्यो । त्यसैले उनीहरूले छानिछानी आगो झोसेनन् होला भन्न सकिने स्थिति देखिन्न ।
अझ बालेनको सन्दर्भमा त थप विचारणीय कुरा के पनि हो भने, भदौ २४ गते खरानी भएका राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनजस्ता ऐतिहासिक धरोहरहरू काठमाडौँ महानगरपालिकाभित्रै पर्छन् । यी सारा सम्पदा खरानी हुने महानगरपालिका मेयर उनै हुन् । अनि, उनै मेयर बालेन जेनजी आन्दोलनका अघोषित नेता पनि हुन् । आफ्नै महानगरभित्र रहेका राष्ट्रिय सम्पदा खरानी हुँदा पनि उनी रमितेमात्र बने । यो भन्दा अस्वाभाविक र विडम्बनापूर्ण कुरा के हुनसक्छ र ?
होला, ओलीविरोधी सबै एक ठाउँमा उभिए र जेनजी आन्दोलनको खोलमा आतंक मच्चाए । समयक्रममा यसको खोजबिन होला र दोषीमाथि कारबाही पनि होला । तर, मूल प्रश्न त्यो हैन, मूल प्रश्न भनेको त यो परिस्थिति सिर्जना गर्ने को हो भन्ने नै हो ?
जगजाहेर छ, यो परिस्थितिको मूल सिर्जनाकार केपी ओली हुन् भने उनका सहायक हुन् देउवा । उनीहरू त दोषी हुन् नै, यी सत्तापिपासुलाई पार्टीको मूल नेतृत्वमा पु¥याउने एमाले र कांग्रेस पार्टीका हरेक नेता तथा कार्यकर्ता पनि उत्तिकै दोषी हुन् । तर, यो घानमा माओवादी पनि नराम्ररी पिसियो । आक्रमणको निशानामा माओवादी सुप्रिमो प्रचण्ड, उनको परिवारका सदस्य र पार्टी कार्यालय पनि परे । तर, सत्य के हो भने माओवादीले सुरूदेखि नै सामाजिक सञ्जाल बन्द नगर्न र जेनजीका माग सम्बोधन गर्न सरकारलाई खुलारूपले नै भनेको हो ।
यो घानमा माओवादी पनि पर्नुको मूल कारण माओवादी सुप्रिमो प्रचण्ड पनि तीनदलीय सिण्डिकेटका एक पात्र हुनु हो । जेनजी पुस्ताले विगत १० वर्षयता ओली, देउवा र प्रचण्ड नै आलोपालो नेपालका प्रधानमन्त्री भएको देखेको छ । उसलाई लागेको छ कि यी तीन सुप्रिपोहरूको नेतृत्वकालमै देशमा सुशासन बलात्कृत भएको छ र भ्रष्टाचारको सगरमाथा ठडिएको छ ।
अब के हुन्छ ?
नेपाली जनता दसैँ-तिहार-छठ मनाउन लाग्छन् । यी चाड सकिँदा एक महिना बितिसक्छ । यसै पनि नौ दिनमा नौलो बीस दिनमा बिस्र्यो हुने समाज हो, नेपाली समाज । धेरै कुरा त यसै पनि विस्मृतिमा जान्छन् । रह्यो, आन्दोलनकारी पक्ष जेनजीको कुरा । यो आफैँमा कुनै संगठन हैन, समय बित्दै जाँदा या त यो आफैँ तितरबितर हुन्छ या त आपसमा गाँड कोराकोर गरेर शक्तिविहीन हुन्छन् ।
आन्दोलनले समाजका विभिन्न क्षेत्रका पपुलिस्टहरू जम्मा गरेर एक अन्तरिम सरकार बनाएको छ । यो त एक अस्थायी सरकार न हो । स्थायी सरकार भनेको त कर्मचारीतन्त्र हो । मुख्यसचिव उही, सारा सचिव उही । यी सबै एमाले–कांग्रेस गठबन्धनमा फिट गरिएका एमाले-कांग्रेस पार्टपूर्जा न हुन् । यिनीहरूले सरकारलाई काम गर्नै दिँदैनन् । कर्मचारीतन्त्रमा यसै पनि कांग्रेस र एमालेका ट्रेड युनियनहरूको वर्चस्व छ ।
अर्कोतिर, जेनजीको निशानामा रहेका एमाले, कांग्रेस र माओवादीका सुप्रिमोहरू बरु सकिन तयार सच्चिन तयार नभए जस्तो देखिन्छ । तीनै सुप्रिमोका प्राइभेट लिमिटेड भैसकेका पार्टीहरूमा पुनसंरचनाको कुरा छिटपुट उठेको त छ, तर त्यसले कुनै फुल पार्ने छाँट देखाएको छैन । यी पार्टीको आधिकारिक धारण भनेको यो सरकारलाई संविधानले नचिन्ने र संसद् विघटन असंवैधानिक भन्ने नै हो । यी पार्टीको हैकम रहेका पेशागत संस्थाहरूले पनि त्यही लाइनमा वक्तव्यवाजी सुरू गरिसकेका छन् ।
दसैँ–तिहार लगत्तै संसद् विघटन असंवैधानिक भनेर सर्वोच्च अदालतमा मुद्दा पर्न सक्छ । त्यस्तो अवस्थामा, जेनजी आन्दोलनले खरानी बनाएको सर्वोच्च अदालतका एमाले–कांग्रेस कोटाका श्रीमानहरूले नुनको सोझो गर्दै संसद् पुनस्र्थापना र अन्तरिम सरकार विघटन गरिदिन सक्छन् । त्यो भनेको जेनजी क्रान्ति तुहाएर ओली–देउवा प्रतिक्रान्तिको जीत सुनिश्चित गरिदिनु नै हो ।
कामना गरौँ, देश त्यतातिर नजाओस् । जेनजी क्रान्तिले खेदेका भगौडाहरूमा सद्बुद्धि आओस्– उनीहरूले राजनीतिक विश्राम लिउन् । मिथक नै सही, शक्तिरूपिणी नवदुर्गा भवानीले सबैको कल्याण गरून् । सबैमा बडादसैँको शुभकामना– सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु । मा कश्चित् दुःख भाग्भवेत् ।











