काठमाडौं । जेन–जी आन्दोलनपछि एमाले अध्यक्ष केपी ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आन्दोलनको विषयमा केही टिप्पणी गर्लान कि भन्ने थियो । जेनजी आन्दोलनलाई सम्बोधन गर्ने क्रममा माफीसहित टिप्पणी गर्लान कि भन्ने थियो । सत्तामा भएको दलको नेताको हिसाबले उनको बोलीले अर्थ राख्ने भएकाले पार्टीभित्रका नेता कार्यकर्ताले पनि त्यही अपेक्षा गरेका थिए ।

जेन–जीले उठाएका मागलाई आफ्नो मागको रुपमा उठान गर्छन भन्ने आम अपेक्षा थियो । तर उनले त्यसो बोलेनन् । उनले आफूले गरेको काम सबै रेकर्डेड भएको भन्दै जेन–जी बतासिएको, बहकिएको र विदेशी शक्तिबाट परिचालित भएको दाबी गरेर टारे ।
उनले वर्तमान सरकार संवैधानिक बाटोबाट नभएर तोडफोडबाट आएको बताउँदै त्यो सरकारलाई आफूले गरेका कामको विषय बाहिर ल्याउन चुनौती दिए । उनले आन्दोलनको क्रममा मृत्यु भएका नागरिकप्रति दुःख लाग्यो मात्रै भनिरहे, माफी माग्ने, क्षमायाचना गर्ने र आत्मआलोचना गर्ने तहमा पुगेनन् ।
ओलीका लागि यो नयाँ विषय थिएन, उनको शब्दकोषमा आत्मालोचना भन्ने कुनै शब्द नै छैन । यसका लागि उनको पुरानो स्वाभावमा फर्कनुपर्ने हुन्छ । २०७४ सालमा प्रधानमन्त्री पदमा आसीन भएसँगै ओलीले सरकारको कार्यविभाजन नियमावली संशोधन गरेर आफ्नो कार्यालय मातहत ४८ वटा कार्यालय ल्याएका थिए ।
पहिले स्वतन्त्र रहेका राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग जस्ता शक्तिशाली निकायसमेत आफू मातहत ल्याएर प्रधानमन्त्री ओलीले आफ्नो शक्ति मोह प्रदर्शन गरेका थिए । उनी आफू शक्तिशाली छु भनेर देखाउनका लागि शासन सञ्जालको अन्र्तराष्ट्रिय अभ्यासमा लागेका थिए ।
त्यतिबेला दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री भएका ओलीले आफूलाई थप शक्ति सम्पन्न बनाउन संसदमा विभिन्न विधेयक दर्ता गराएका थिए । तीमध्ये केही हुन्, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाली ऐन संशोधन गर्न बनेको विधेयक र, मानवअधिकार आयोगसम्बन्धीको विधेयक ।
यी विधेयकमा प्रधानमन्त्रीलाई असीमित अधिकार प्रदान गरिने व्यवस्था छ । ठेकापट्टादेखि सेना परिचालन हुँदै विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्मको अधिकार आफूमा ल्याउन ओलीले यी विधेयक संसदमा दर्ता गराएका थिए । संसारभर स्वतन्त्र रहने मानवअधिकार आयोगलाई ओलीले महान्यायाधिवक्ताको कार्यालय मातहत ल्याउन चाहेका थिए ।
महान्यायधिवक्ताको कार्यालय प्रधानमन्त्री कार्यालय मातहत रहन्छ । उनले यी सबै ल्याएर शासनसत्तामा आफूमात्र हाबी हुन खोजेका थिए । पहिलो कमजोरी त्यही थियो कि, जब उनले राज्यका निकायलाई आफ्नो बह्माज्ञानले मात्र चलाउन सकिन्छ भन्ने सोच बनाए ।
त्यतिबेला ओलीले कतिसम्म गरे भन्ने विषयलाई कोट्याउदा शक्ति प्रयोगमा अब्बल नै देखिए । संस्कृति सम्मेलनमा भाग लिन क्यानडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अपहरण’ गरेर प्रधानमन्त्री निवास बालुवाटार लगेका थिए । त्यसको कारण आजसम्म खुलेको छैन ।
त्यतिबेला ओली काठमाडौंका ७ स्थानमा मात्र प्रदर्शन गर्न पाइने व्यवस्था ल्याउन खोजेको थियो । तर, चौतर्फी विरोध भएपछि यो निर्णय कार्यान्वयन हुन सकेन । कटाक्षपूर्ण बोली र व्यंग्यवाणका कारण ओली सधै विवाद र चर्चाको शिखरमै हुन्छन । समाचार शीखरमा पनि ओली नै हुन्छन । जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएका प्रधानमन्त्री बौद्धिक र बुद्धिजीवीमाथि भने अरिंगालजस्तै खनिन्छन् ।
कुनै एक कार्यक्रममा ओलीले बुद्धिजीवीलाई ‘विवेक कहाँ लगेर कतिमा बन्धक राखेको ?’ भन्दै प्रश्न गरेका थिए । कुनै बेला ओलीले गौतम बुद्धले कति कक्षा पढेका थिए भन्दै प्रश्न गरेका थिए । र जवाफ आफैंले दिँदै ओलीले भनेका थिए, ‘बुद्ध साक्षरसम्म पनि थिएनन् ।’
अधिकतम समय बौद्धिक र बुद्धिजीवीप्रति कटाक्ष गरिरहने ओली बेलाबेला नेपालीलाई बौद्धिक पुर्खाका सन्तान भन्न पनि पछि पर्दैनन् । कतिसम्म जान्नेसुन्ने ओली भने जेम्स वाटबारे टिप्पणी गर्दैे हवाईजहाज आविष्कारकर्ता राइट दाजुभाइबारे टिप्पणी गर्न पनि भ्याए । राइट दाजुभाइबारे टिप्पणी गर्दै ओलीले भने, ‘अहिले १६ सय वर्षअगाडि राइट ब्रदर्स यसो भाटासाटा जोड्दै थिए प्लेनमा । आजभन्दा ठ्याक्कै १६ सय वर्षअगाडि हो । आज यहाँ सुत्यो भने न्युयोर्क पुगिन्छ उठ्दाखेरि ।’
ओलीले नेपालीहरुलाई सपना र भावनाको बजार बनाइरहे, तर अन्नत आफै हेलिकोप्टरमा चढेर भाग्नुपर्ने अवस्थामा पुगे । त्यसपछि कसरी ज्यान जोगाउनुपर्ने अवस्थामा पुगे भन्नेचाहि नसोची यस्तो अवस्था ल्याउनमा सञ्चार माध्यमको पनि दोष रहेको भन्दै परिस्थितिलाई साझेदारी गर्न खोजे । तर उनले आफ्नो भागमा परेको दोष लिन चाहेनन् अर्थात ओलीको डिक्सनेरीमा माफी भन्ने शब्द नै छैन ।
ओलीले यी सबै विषयलाई राम्रोसँग बुझेका छन् । कस्तो बेलामा माफी माग्ने वा कस्तो बेला को सँग कुरा गर्ने भन्ने बुझेका ओलीले अहिलेको जेन–जी सरकारलाई रौ जत्तिको पनि गनेका छैनन । स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्षता, समावेशी लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहेको हाम्रो मुलुकमा पुरातन विरासत थामेको झल्को आउने गरी माफी, माग्न उनी चाहदैनन ।
माफी मागेमा आफूले गल्ती गरेको ठहर्ने सोचेका ओलीले रेल ल्याउनु गल्ती भो ? फाष्ट्र ट्याक बनाउनुमा गल्ती भो, धराहरा बनाउनु गल्ती भो भन्दै माफी नमाग्ने संकेत गरेका छन् । आफूले माफी माग्नु पर्यो भने विभिन्न काम देखाएर बहानबाजी गर्ने उनको पुरानै बानी हो ।
यो विषया नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ मा बनाइएको वाम गठबन्धन र पार्टी एकता केपी शर्मा ओलीका कारण गुमेको बताउदै माफी माग्नु पर्ने बताउदै आएका छन् । ‘राम्रो गर्लान् भनेर एउटा कम्युनिष्ट प्रधानमन्त्रीलाई अघि सारेका थियौँ ।
तर केपी ओलीले गणतन्त्र अपहरण गरे, महिला र दलितको अधिकार खोसे’, त्यही संघर्षको बीचबाट यो गठबन्धन बनेको थियो त्यसलाई भत्काए’, प्रचण्डले दुखेसेको पोख्ने गरेका छन् । तर ओलीले यस्ता विषयलाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेका छन् । ओली कुनै पनि विषयमा पश्चाताप न कुनै आलोचना र क्षमायाचना नै गर्छन । अर्थात उनको शब्दकोषमा यस्ता शब्द नै छैनन ।











