Logo
Logo

ब्रह्मनालमा ओली, एमालेको चुनावी वैतरणी


4.9k
Shares

अमेरिका उड्ने बेला मेरो सामु एउटै प्रश्न फालिम लागेको थियो– के खोज्न हिँडेको अमेरिका ? अझ केही शुभचिन्तकले त ५० वर्ष नाघेको मेरो उमेर सम्झाउँदै भने पनि, यो अमेरिका जाने उमेर हैन ।

त्यतिबेला मेरो एउटै जवाफ थियो, छोरोको भविष्य । म उसैलाई भविष्य दिन देश छोड्दै छु । यसोभन्दा मलाई गौरवको अनुभूति हैन, एक किसिमको पीडा हुन्थ्यो । यसोभन्दा म डराइरहेको पनि हुन्थे, कतै उहाँहरूलाई सुनाउन लायक भविष्य पो नहोला कि मेरो छोरोको । किनकि, बाबुआमाले चाहेर मात्र त छोराको भविष्य बन्ने हैन । मैले छोराछोरीको भविष्यकै लागि देश छोडे पनि उल्टै भविष्य भत्केर हतास भएका थुप्रै बाबुआमा देखेको छु ।
म कामना गर्थे, म त्यस्तो बाबु बन्न नपरोस् ।

हिजो जस्तो लाग्छ, नौ वर्ष बितेछ । यही वर्ष छोरो रोजेकै विश्वविद्यालयको स्कूल अफ प्रि–मेडिसिन गयो । उसले मलाई वचन दिएको छ, बाबा म तपाईँलाई उत्तरविहीन बनाउँदिन । अब तपाईँ ढुक्कले भन्न सक्नुहुन्छ, मैले छोरालाई भविष्य दिएँ । त्यतिबेला उहाँहरूले थप प्रश्न पनि सोध्न सक्नुहुन्छ, के हुन्छ ऊ ? त्यसको उत्तर पनि दिनु होला, हाडजोर्नी शल्य चिकित्सक ।

छोराले दिएको उत्तर लिएर म यसपटक नेपाल आएँ । यो मेरो नौ वर्षमा तेस्रो नेपाल भ्रमण थियो । पछिल्लोपटक म तीन वर्षअघि नेपाल आएको थिएँ । हरेक पटक नेपाल आउँदा मैले दशैंकै छेको पारेको छु । चाडबाड पनि भेटघाट पनि ।

नेपाल आइपुग्ने टिकट भदौ २३ गतेको थियो । संयोगले भनौ, त्यही दिन जेनजी आन्दोलनको पहिलो दिन पनि प¥यो । दिउँसो कतारको दोहा ट्रान्जिटमा जेनजीहरू माइतीघर मण्डलामा भेला हुँदै गरेको समाचार हेरेको थिएँ । साँझ, त्रिभुवन विमानस्थल अध्यागमन पार गर्दा अध्यागमन अधिकारीले भने, ‘बाहिर तनाव छ, १७ जना त मारिसके । आउन त आउनु भयो मातृभूमि । घर पो कसरी पुग्नुहुन्छ ?’

बढो मुस्किलले घर पुगियो । घर पुग्नेबित्तिकै समाचार हेरेको मर्नेको संख्या १९ पुगिसकेको थियो । त्यसपछि रातभर समाचार हेर्दै बित्यो । भोलिपल्ट भदौ २४ गते, के भयो भन्दा पनि के भएन ? भन्नुपर्छ । जगजाहेरै छ, ठूलो जनधनको क्षति भयो ।

केपी ओलीका असली कार्यकर्ता माननीय सूर्य थापाको वासस्थान ठीक अगाडि घर । तनावपूर्ण रह्यो बसाइ । चारैतिर आगोको मुस्लो । कामना एउटै थियो, आन्दोलनकारीले थापाजीको घर नचिनुन् । नभन्दै त्यस्तै भयो । बालबाल बचियो त्यो दिन, बच्यो हाम्रो टोल ।

सत्ताधारी सारा भागे । दुई तिहाइको दुवाइ दिने केपी शर्मा ओली सैनिक हेलिकोप्टर चढेर सुपारीटार भागे । त्यो दिन ओली, देउवा र प्रचण्डका सारा नेता कार्यकर्ता गच्छेअनुसार भागे र लुकेर ज्यान बचाए । त्यसमाथि पनि मूल निशानामा थिए, तत्कालीन प्रधानमन्त्री ओली । केही अपवादलाई छोडेर उनी र उनका अनुयायीहरूका सारा घर–बंगला नियोजित किसिमले नै जले । देउबा र उनकीपत्नी आरजूमाथिको आक्रोश त क्यामेराले ढाटेन, देखाइहाल्यो । बढो मुस्किलले बाचे उनीहरू ।

काठमाडौं केही साम्य भएर बाटो खुलेपछि झापातिर लागियो । झापामा हाम्रो घर ओलीकै निर्वाचन क्षेत्र दमकमै पर्छ । बसको यात्रामा लगभग सबै यात्री एकैस्वरमा ओलीलाई नै सरापिरहेका थिए । उनीहरूमध्ये धेरैले ठाडै भने, ‘ओली हत्यारा हो ।’

ओलीको गृह क्षेत्र दमक तहसनहस थियो । उनका घर त जलेकै थिए, शुभचिन्तक र आफन्तका घर पनि लगभग बाँकी रहेनन् । केहीका घर भने छिमेकीहरूको दरिलो प्रतिवादका कारण बचे । स्थिति यस्तो थियो कि, दमकमै एमाले कार्यकर्ताको घरमा बास थिएन । बाहिर निस्कने अवस्था थिएन, केही निस्किएका पनि मुख छोपेर हिँड्थे ।

पहिलो तीन दिने दमक बसाइको क्रममा थुप्रै स्थानीयसँग कुरा भयो । उनीहरू कोही पनि ओलीको निर्वाचन क्षेत्रको हुँ भनेर गर्व गरिरहेका थिएनन् । मेरा एकजना छिमेकी जो ओलीलाई सधैँ मत दिन्थे । उनी पनि निराश हुँदै भन्दै थिए, ‘अब त ओलीको निर्वाचन क्षेत्रको मान्छे हुँ भन्यो भने पनि कुटाइ खाने स्थिति छ ।’

त्यसपछि इलाम, पाँचथर हुँदै ताप्लेजुङ लागियो । एकसातासम्मको यो यात्रामा सयौं मानिससँग कुराकानी भयो । हरेक मानिसमा ओली र एमालेप्रति बढी नै आक्रोश थियो । त्यसपछिको आक्रोश क्रमशः देउवा र कांग्रेस अनि प्रचण्ड र माओवादीविरूद्ध थियो । ती पार्टीका कट्टर समर्थक र मतदाता पनि उनीहरूको पक्षपोषण गर्ने अवस्थामा थिएनन् ।

त्यस्तै एउटा उदाहरण, ताप्लेजुङमा देखियो । एकजना यात्रुले ओलीको के दोष, सबै विदेशीको योजना मात्र हो के भनेका थिए, बाँकी सबै यात्रु ऊमाथि ओइरिहाले । उनीहरूले चालकलाई भने, कि उहाँलाई ओराल्नुहोस् कि हामी ओर्लिन्छौँ । अन्तमा चालकले आफ्नो गाडीको सुरक्षाको चिन्ता रहेको बताउँदै ती ओली–समर्थकलाई बीच बाटोमै ओरालिदिए ।

त्यो दृश्य प्रिय थिएन, तर म उनलाई नओराल्न भन्न सक्ने अवस्थामा थिइनँ । यदि, मैले विचार वा पार्टी फरक हुने बित्तिकै यसो गर्नुहुन्न भनेको भए मेरो पनि ती ओली–समर्थककै हालत हुने थियो । छोटो समयका लागि २५ वर्षपछि श्रीमतीसँगै जन्मजिल्ला ताप्लेजुङ गइरहेको मैले त्यो आँट गर्न सकिनँ ।

मेची अञ्चल एमालेको वर्चस्व भएको जिल्ला हो । तर, यसका चारवटै जिल्लामा एमाले अझ खासगरी ओलीप्रति यति आक्रोश थियो कि त्यसको सीमा नै थिएन । लगभग सबैको एउटै आवाज थियो, ‘ओली आफू पनि सकियो, पार्टी पनि सक्यो र बाँकी नेताहरूको राजनीतिक भविष्य पनि सकिदियो ।’

मेची अञ्चलका तीन पहाडी जिल्लाको एक साता लामो भ्रमणपछि दमकमा दशैं मनाइयो । त्यही क्रममा मोरङ र सुनसरी जिल्लाका केही महत्त्वपूर्ण स्थानहरूको पनि संक्षिप्त भ्रमण गरियो । ती जिल्लाका सहरदेखि गाउँसम्म लगभग उस्तै धारणा र आक्रोश थियो ।

दसैँपछि लुम्बिनी र मुक्तिनाथलाई गन्तव्य बनाएर दुई साता लामो यात्रा गरियो । यस क्रममा देशका थप १७ जिल्लाको यात्रा गरियो । यात्राका क्रममा कम्तीमा पनि एक हजार मानिसको समसामयिक धारणा सुनियो । उनीहरू पनि लगभग उही कुरा दोहो¥याइरहेका थिए ।

तिहार दमकमा मनाएपछि काठमाडौं लाग्ने क्रममा अरू ६ जिल्लाको भ्रमण गरियो । काठमाडौं आएपछि उपत्यकाका तीनै जिल्लाका गाउँदेखि सहरसम्म पुगियो । यसरी हेर्दा बितेका ५० दिनमा नेपालका २९ जिल्ला भ्रमण गरिएछ र लगभग दुईहजार मानिसका धारणाहरू बुझिएछ ।

फरक उमेर समूह, लिंग, धर्म, जात, क्षेत्र, शैक्षिक तथा आर्थिक अवस्था रहेका तमाम मानिसहरूको लगभग एउटै धारणा थियो–यो देशको भविष्य छैन । नेपाल असफल राष्ट्र हुँदैछ । ओली, देउवा र प्रचण्ड नै राजा भए । पार्टी जति उनीहरूका कम्पनी । राजनीतिको अपराधिकरण हैन, अपराधको राजनीतिकरण भयो । भ्रष्टाचार, कुशासन, जवाफहिनता, अपारदर्शिताको सीमा छैन । लोकतन्त्रको नाममा दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र हुँदै लुटतन्त्र मात्र आयो । नेपालमा अपवादलाई छोडेर हैसियतअनुसारको कसैले पनि लुट्न बाँकी राख्दैनन् । नेपाल एक राष्ट्रका रूपमा अत्यन्तै कमजोर भयो, यस्तो भएपछि बाह्य चलखेल त हुने नै भयो । नेपालको संविधान पनि न संसदीय न कार्यकारी भयो । यी त भए समस्या । यी तमाम समस्याहरूको समाधान पनि उनीहरू आफैँ बताइरहेका थिए ।

कम्तीमा पनि ओली, देउवा र प्रचण्डले राजनीतिक विश्राम लिनुप¥यो । हरेक पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउनुप¥यो । हरेक पार्टीलाई गतिशील र कामकाजी बनाउन नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुप¥यो । भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शिता, जबाफदेहिता, विधिको शासनको परिपालन हुनुप¥यो । दलतन्त्रको लुटतन्त्र हैन, योग्यतामा आधारित अवसर हुनुप¥यो । संविधानको उचित संशोधन गरी प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउनुप¥यो । अहिलेजस्तो भार नै बोक्न नसकिने संरचना भएको संघीयता पुनर्विचार हुनुप¥यो । राज्यसंयन्त्र जड हैन, समयसापेक्ष परिवर्तनकारी हुनुप¥यो ।

समस्या पनि छन्, समाधान पनि । तर, समाधान गर्ने कसले अहिलेको मूल प्रश्न यही हो । समस्या समाधान तीन नेताको राजनीतिक बहिर्गमनबाट सुरु हुनुपर्ने हो । त्यति मात्र भयो भने धेरै ठूलो परिवर्तनका लागि ढोका खुल्छ । तर, यति भीमकाय आकारको जनधनको क्षति ब्यहोर्न बाध्य जेनजी आन्दोलनपछि चुचे ढुंगो उही टुंगो भयो ।

अहिलेको सारा बेथितिको कारक रहेका तीन मुख्य राजनीतिक दलले आफ्नो सान्दर्भिकता र समयको आवाज नै बुझ्न÷सुन्न सकेनन् । त्यसका लागि उनीहरूले गर्नुपर्ने न्यूनतम कार्य भनेको कम्तीमा पनि पार्टीको शीर्ष नेतृत्वमा बदल्नुपथ्र्यो, त्यो नै गर्न सकेनन् । उल्टै यी पार्टीहरूले ओली, प्रचण्ड र देउवासामु नै आत्मसमर्पण गरे । यसो गर्दा नेताहरूसँगै दलहरू पनि सती जाने भएर त्यसले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ । अहिलेको चुरो समस्या भनेकै यही हो र यही नै तत्कालका लागि एक किसिमको प्रतिक्रान्ति पनि हो ।

नेपालमा फागुन २१ गते आमचुनाव घोषणा गरिएको छ । अब त्यो आउन १२९ दिन मात्र बाँकी छ । त्यसका लागि दुई ठूला दलमध्ये एमाले तयार नै छैन भने कांग्रेस ढुलमुले अवस्थामा छ । माओवादी र रास्वपा भने चुनावका लागि तयार देखिन्छन् । तर, त्यसअघि नै संसद् पुनस्र्थापनाका एक ठेली मुद्दाहरूको संवैधानिक निरूपण हुनुपर्ने छ । एकातिर जेनजी आन्दोलनकारीहरू विभाजित भएर कमजोर हुँदैछन् भने अर्कातिर एमाले–कांग्रेसजस्ता प्रतिक्रान्तिकारीहरू भूतझँै जागिसके ।

यसै पनि अहिलेको सर्वोच्च अदालतका अधिकांश श्रीमानहरूलाई पूर्वप्रधानन्यायधीशसमेत रहेकी चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्की खासै मन पर्दैन । एकातिर जेनजी क्रान्तिकारीहरू कमजोर हुँदै जाने अर्कोतिर प्रतिकारीहरूले फिट गरेका श्रीमानहरू तागतदार हुँदै जाने हो भने संसद् पुनस्र्थापना नहुने कुरै छैन ।

संसद् पुनस्र्थापना भएपछि त्यसले सरकार बनाउने संवैधानिक भूमिका खोज्छ । संसद्को चुनाव नै गराउने भनिसकेको सरकारले त्यो म्यान्डेट पूरा नगरी सरकार छोड्ने सम्भावना हुँदैन । त्यस्तो अवस्थामा पुनस्र्थापित संसद् फागुन २१ सम्म रहने कि यसले पुरै कार्यकाल पूरा गर्ने भन्ने अर्को सङ्गिन प्रश्न खडा हुन्छ । यो द्वन्द्व बढ्दै जाँदा बाह्य शक्तिहरूको चलखेल पनि स्वतः बढ्छ । त्यसो हुँदा दक्षिण र सेनाको सहयोगमा राजा आउने विकल्प प्रखर हुन्छ । त्यो भनेको पनि देशले समाधान पाउनु हैन, अर्को समस्यामा फस्नु हो ।

देशलाई सही ट्याकमा ल्याउन सबै राजनीतिक दल र शक्तिहरू फागुन २१ को चुनावमा जाने र ताजा म्यान्डेट लिएर अग्रगामी परिवर्तनका साथ अगाडि बढ्ने नै हो । तर, त्यसो गर्न चौतर्फी तगाराहरू छन् । एकातिर चुनावको दिन नजिकिँदै छ भने अर्कोतिर आन्दोलनकारी ज्यानजीहरू असंगठित हुँदैछन् ।

यही बीचमा यो आन्दोलन दबाउन चाहेर पनि नसकेर भागेका भगौडाहरू संगठित भएर चुनाव नै हुन नदिने प्रपञ्च गरिरहेका छन् । त्यसको नेतृत्व भगौडा प्रधानमन्त्री केपी ओलीले लिएका छन् । अझ, चुनावी सरकार नै पनि चुनाव गराउन चाहँदैन भन्ने खालको षडयन्त्रको सिद्धान्तमाथि मिडिया ट्रायल जारी छ । यसको सूत्रधार पनि ओली नै हुन् ।

कुनै पनि दल अहिलेकै नेतृत्व लिएर चुनावमा जाने अवस्था छैन । अझ त्यसमा पनि ओली र देउवाको नेतृत्वमा त ती दलहरू चुनावमा जान नै सक्दैनन् । के अब ओलीलाई फेरि प्रधानमन्त्री बनाउने भनेर एमाले चुनावमा जान सक्छ त ? देउवाले त शारीरिक रूपमा छोड्ने छनक देखाएका छन्, छोडेनन् भने पनि उनलाई बोकेर कांग्रेस चुनावमा जाँदैन । जेनजी दबाउने हत्यारा सरकारको अंग नभएकाले प्रचण्डलाई केही सहज पनि छ ।

तर, ओलीको कुरा बेग्लै छ । उनको नेतृत्वमा एमाले चुनावमा जानु भनेको एक किसिमको राजनीतिक आत्महत्या नै हो । उनीमाथि जेनजी आन्दोलन दमन गर्ने क्रममा ७६ जनाको हत्या गरेको आरोप छ । यसका लागि उनी नैतिक रूपमा मात्र हैन, प्रत्यक्ष रूपमै जिम्मेवार छन् ।

चुनावको बेला उनलाई हत्यारा भनेर प्रक्षेपण गरिन्छ र एमालेलाई हत्यारा पार्टी । चुनाव आउन केही महिना बाँकी रहेको यतिबेला ओलीको बकबक समाचार बने पनि चुनावको बेला भने उनी एक हत्याराको हैसियतभन्दा बाहिर आउन सक्ने अवस्था रहँदैन । एमाले– कांग्रेस गठबन्धनको सरकारमा कांग्रेस पनि नैतिक रूपमा जिम्मेवार छ । तर, उसलाई सरकार प्रमुख आफ्नो पार्टीको नभएकाले केही राहत हुन्छ ।

नेपाल अब कम्तीमा पनि ओली, देउवा र प्रचण्ड अनि उनीहरूकै निजी प्राइभेट लिमिटेड बनेका दलहरूलाई उही रूपमा स्विकार्न तयार छैन । यति प्रस्ट तस्बिर हुँदाहुँदै पनि जबर्जस्तीसँग उनीहरूकै नेतृत्वमा चुनावमा जानु भनेको ती दलहरूको राजनीतिक आत्महत्या नै हो । देशका २९ जिल्ला घुमेर हजारौँ मानिसका धारणाहरू बुझेपछि मलाई यति भन्न कुनै आइतबार पर्खनु पर्दैन ।

जाँदाजाँदै, म के पनि भन्न सक्छु भने नेपालमा केही नै भएको छैन भन्ने खालको जुन भाष्य बनाइदैछ, त्यो सरासर गलत हो । यसबीचमा नेपालमा धेरै भएको छ । तर, यो धेरै समयले ल्याउने स्वाभाविक परिवर्तनले भएको हो । यदि, नेतृत्व ल्याकतदार हुन्थ्यो र उनीहरूको नियत साफ हुन्थ्यो भने नेपालमा योभन्दा धेरै हुन सक्थ्यो ।

रह्यो, नेपाली बिदेसिने कुरा, यो बाध्यता मात्र हैन, फिरन्ते चाहना पनि हो । यही कारणले मात्र नेपाल बस्न लायक देश हैन भन्न मिल्दैन । नेपाल बस्न लायक छ तर अहिलेको पेचिलो अवस्थालाई समयमै सही सम्बोधन गर्न सकिएन भने एक राष्ट्रका रूपमा असफल हुनबाट कसैले पनि रोक्न सक्दैन ।

अमेरिका फर्केपछि छोरालाई भन्नेछु, ‘छोरा तिमी जस्तो मान्छे नेपालमा बाँच्न सहज छैन । मैले तिमीलाई देश छोडाएर बेठीक गरिनछु । नेपालमा बाँच्न योग्यता भएर पुग्दैन, ‘अतिरिक्त कला’ पनि चाहिन्छ । त्यो तिम्रो बाबासँग पनि थिएन । त्यसैले उसले पनि तिमीसँगै देश छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्