जेनजी आन्दोलनपछि नेपालका सबै क्षेत्रमा परिवर्तनको दबाब सिर्जना भएको छ । त्यसमा पनि राजनीतिक क्षेत्रमा त एक किसिमको तरङ्ग नै पैदा गरिदिएको छ । खासगरी देशका ठूला राजनीतिक दलहरूमा पार्टी पुनर्गठन र रूपान्तरणको जबरजस्त दबाब छ । कम्तीमा पनि देशका ठूला र पुराना राजनीतिक दलले आफ्नो शीर्ष नेतृत्व नबदलिई जनतामा जानसक्ने स्थिति देखिँदैन ।

यस्तो अनुभूति नेपालका सहरदेखि गाउँसम्म जहाँजहाँ पुगे पनि जोकोहीले सहजै गर्न सक्छ । नेपालको पछिल्लो धरातलीय यथार्थ यही नै हो । तर, यो यथार्थलाई स्वीकारेर अगाडि बढ्नेतिर कुनै पनि राजनीतिक दल तयार भएजस्तो देखिँदैन । खासगरी दलहरूको संस्थापन पक्ष सामान्य हलचल पनि गरिरहेको छैन । यसले पार्टी पुनर्गठन र रूपान्तरण केवल ती दलको संस्थापनइतर पक्षको मूल नेतृत्वविरुद्ध बज्ने बेमौसमी बाजाजस्तो मात्र देखिएको छ ।
तर, अवस्था त्यस्तोचाहिँ पटक्कै हैन, त्यो भन्दा धेरै संगीन र माथि हो । जेनजी आन्दोलनलगत्तै त्यसको महसुस पनि भएकै हो । यद्यपि, समयक्रमसँगै त्यसलाई नजरअन्दाज गर्ने क्रम बढ्दो छ । नौ दिनमा नौलो र बीस दिनमा बिस्र्यो हुने समाजमा यस्तो हुनु स्वाभाविक हो । र, यस्तो भएको यो पहिलोपटक पनि हैन, पटकपटक भइरहेकै हो ।
यसो हुनुको पछाडि मूलतः पाँच कारण छन् । पहिलो, जेनजी आन्दोलनको म्यान्डेटबाट गठित अन्तरिम सरकारले आफ्नो म्यान्डेट र मूल प्राथमिकता बिर्सनु हो । दोस्रो, जेनजी आन्दोलनकारी नेतृत्वविहीन र योजनाविहीन हुनुमात्र हैन, उनीहरूमा आएको विभाजन र देखिएको केटाकेटीपन हो । तेस्रो, पहिलेकै सत्ताबाट पालित–पोषित नोकरशाहीतन्त्र, प्रहरी प्रशासन र अदालतको नयाँ सरकारलाई मिलेको असहयोग र खडा गरिएको चुनौती हो । चौथो, आन्दोलनलाई गिजोल्ने देशीविदेशी शक्तिहरूको आआफ्नो स्वार्थको रसाकस्सी हो । पाँचौँ तर महत्त्वपूर्ण कारण, प्रतिगामी षड्यन्त्रका सिद्धान्तहरूमाथिको चरम मिडिया ट्रायल र यसबाट सिर्जित भ्रमको दुव्र्यसन हो ।
के थियो सरकारको म्यान्डेट ?
अन्तरिम सरकारको म्यान्डेट भनेकै भ्रष्टाचारमाथि निर्मम प्रहार गरेर सुशासन स्थापित गर्नु थियो । त्यसका लागि उसले भ्रष्टाचारलाई संस्थागत गर्ने विगत १० वर्षका कम्तीमा पनि तीन शासकमाथि निर्मम हुनुपथ्र्यो । त्यस क्रममा उसको पहिलो काम भनेकै भदौ २३ गते १९ जना निहत्था जेनजी आन्दोलनकारीको हत्या गर्ने सत्तारूढ दलका मुखिया प्रधानमन्त्री र उनका गृहमन्त्रीलाई सिधै कारागार पु¥याउन सक्नुपथ्र्यो । बालुवाटारबाट भागेर सुपारीटार पुगेका ओलीलाई सिधै कारागार पु¥याउन त्यतिबेला कुनै आइतबार पर्खनैपर्ने थिएन । अर्का सत्तारूढ दलका मुखिया शेरबहादुर देउवाका मतियार तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि सजिलै चिसो छिँडीमा पु¥याउन सकिन्थ्यो । त्यसो गर्न सकेको भए न ओलीको भूत जाग्थ्यो, न देउवाको ।
तर, दुर्भाग्य अन्तरिम सरकार उल्टै संविधानको रट लगाउन थाल्यो । उसले के बिस्र्यो भने ऊ कुनै संविधानको धाराबाट हैन, जेनजी आन्दोलनको म्याण्डेटबाट आएको थियो । त्यसैले उसले संविधानको रट लगाउनु भनेको चरम मांसाहारीले साकाहारी अभियान चलाउनुजस्तै थियो । यति मात्र पनि हैन, फागुन २१ मा चुनाव गराउनु नै मूल दायित्व भनेर सरकार उल्टै दलका मुखियाहरूलाई रिझाउन थाल्यो । त्यो भनेको जसको विरूद्ध भएको आन्दोलनले उनीहरूलाई सत्तामा पुर्याएको थियो, त्यसैको शरणमा पर्नु थियो ।
आन्दोलनको म्यान्डेट बिर्सेर यस्तो निहुरमुण्टी लगाउँदा पनि उनीहरू खुसी छैनन् । उल्टै यो सरकार चुनाव गराउन आएको हैन र फागुन २१ मा चुनाव नै गराउँदैन भनेर षड्यन्त्रका सिद्धान्तहरूमाथि ट्रायल बलुन गरिरहेका छन् । यही बीचमा कालाकोटे हनुमानहरू संसद् पुनस्र्थापनाका दर्जनौँ मुद्दा लिएर सर्वोच्च पुगेका छन् भने ओली र देउवाले भर्ना गरेका सर्वोच्चका श्रीमानहरू आन्दोलनको क्रममा खरानी भएको सर्वोच्चमा बेन्च थापेर सरकारको नाडी छामिरहेका छन् ।
अब के गर्छ सरकार ?
२८ घण्टामै सत्ता परिवर्तन गर्नसक्ने अथाह शक्तिबाट आएको सरकार पानीमरूवा भइसकेको छ । अब उसमा कुनै पाइन नै देखिँदैन । उसको यही लोतिकर्ने व्यवहार देखेर बालुवाटारबाट भागेर सुपारिटार पुगेका भगौडा ओलीले गुण्डुमा अखडा खडा गरिसकेका छन् । उनको बोली र व्यवहार देख्दा लाग्छ, उनी राजनीतिक नेता हैन, महेश बस्नेतको गुण्डा दलका डन हुन् र त्यहीबाट एक किसिमको समानान्तर सत्ता चलाइरहेका छन् ।
आफ्नै नालायकीपनले ‘गर या मर’ को स्थितिमा पुगेको सरकारले अब खुट्टा टेक्न आवश्यक हैन, अपरिहार्य भइसकेको छ । उसले ‘यदि.. तर’ केही पनि नभनी भ्रष्टाचारका नाइकेहरूलाई खोरमा थुन्नुपर्छ । त्यसको सुरूवात जेनजी आन्दोलनको पहिलो दिन मारिएका नवयुवाहरूका हत्यारा ओली र लेखकबाट गर्नुपर्छ । त्यसो गर्दा एकातिर जेनजीहरूको आत्मबल उच्च हुन्छ भने अर्कोतिर भ्रष्टाचारका नाइकेहरूको नूर गिर्छ । यसो हुनु भनेको प्रतिक्रान्तिमा चिसो पानी खन्याउनु हो । त्यसो गर्न सकियो भने मात्र देशमा भएको जेनजी आन्दोलन र त्यसको सहादतको सम्मान हुन्छ ।
पुराना दलको चाला
बितेको एक दशक सत्ताको म्युजिकल चियर खेलिरहेका ओली, देउवा र प्रचण्ड नै यो वा त्यो नामका तमाम भ्रष्टाचारका पालक, पोषक र प्रायोजक हुन् । उनीहरू र उनीहरूका दलका नेताहरूको सहभागिता बिना देशमा न कुनै नीतिगत भ्रष्टाचार भएका छन् न अन्य कुनै ठूला भ्रष्टाचारजन्य काण्ड । यद्यपि उनीहरू पानीमाथिको ओभानो भएकै छन् । यसको मूल कारण भनेको मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको ढाल र अख्तियारमा प्रमुख आयुक्त र आयुक्तका नाममा भर्ना गरिएका हनुमानहरूको मालिक भक्ति मात्रै हो । यदि त्यसो नहुँदो र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइएको भए यिनीहरू यतिखेर जेलको चिसो छिँडीमा सडिसकेका हुने थिए ।
भनाइ नै छ, ‘नेपालमा शक्तिमा रहुञ्जेलसम्म इन्द्रेको बाबु चन्द्रेले पनि केही गर्न सक्दैन । ‘सत्ताका माहिर खेलाडीहरूलाई यो अजब गजबको सूत्र राम्ररी नै थाहा छ । त्यसैले उनीहरू आफ्ना कुकृत्यहरूबाट बाँचुञ्जेल बच्नकै लागि मात्र पनि शक्तिमा रहिरहन चाहन्छन् । सरकारको सत्तामा सधैँ रहिरहन सम्भव नभए पनि पार्टी सत्तामा रहन सम्भव हुन्छ । त्यही सम्भावना जीवित राखेर कुकृत्यको वैतरणी तर्न पनि उनीहरू पार्टीको सत्ता छोड्न चाहँदैनन् ।
सत्ताको यो फोहोरी खेलमा ओली, देउवा र प्रचण्ड तीनै जनालाई महारथ प्राप्त छ । यस क्रममा उनीहरूले पार्टी जीवनको आन्तरिक लोकतन्त्रको घाँटी निमोठेर आआफ्ना पार्टीलाई नै प्राइभेट लिमिटेड कम्पनी बनाइसकेका छन् । यति ठूलो घनत्वको जेनजी आन्दोलनपछि पनि मदौरीले सर्प खेलाएझैँ खेलाइएका पार्टीहरूको दिशा र दशा हेर्यो भने राजनीतिक दलहरू पूरै उनीहरूको कब्जामा गइसकेको प्रष्ट हुन्छ ।
जेनजी आन्दोलनमा गालैगालामा थप्पड खाएर टाउका १२ टाका लगाएका देउवाको एक मान्छेका रूपमा हुनसक्ने सम्मको नूर गिरेकै हो । अझ उनको घरमा देखिएका र डढाइएका पैसाका बिटाबाट त उनको सक्कली अनुहार पनि देखिएकै हो । यसरी पैसाको बिटाले पुरिँदा र जनताको थप्पडले नूर गिर्दा पनि देउवा टेरेकै छैनन् । अझ उनका अनुयायीहरू त उनै नूर गिरेका देउवाबाट आफ्नो र कांग्रेसको बैतरणी तरिन्छ भनेर लागिपरेका छन् । योभन्दा सत्ताको बिद्रुप रूप र पदलोलुपता के हुनसक्छ ?
योभन्दा पनि तन्नम र बिद्रुप रूप एमालेमा छ । जेनजी आन्दोलनका कारक नै एमाले अध्यक्ष ओली हुन् । तत्कालीन सरकार प्रमुख रहेका ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएकै कारण जेनजी आन्दोलन भएको हो । यही आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको र राष्ट्रिय सम्पदा र सम्पत्तिको अथाह तबाह भएको हो । यति ठूलो राष्ट्रिय अपराध गर्दा पनि ओलीले न नैतिक जिम्मेवारी लिएका छन् न उनमा कुनै अपराधवोध नै अनुभूत छ । उल्टै लाज पचाएर ओली यो आन्दोलन विदेशीले गराएको भनेर षड्यन्त्रको सिद्धान्तको तानाबाना बुनिरहेका छन् ।
त्यति मात्रै होइन, सेनाले सुपारिटार लगेर मुस्किलले ज्यान जोगाएका यी भगौडा अहिले पनि एमाले भनेकै म हुँ भनिरहेका छन् । आन्दोलन लगत्तैको प्रकाण्ड घानमा पार्टीको महाधिवेशन सारेर आफूविरूद्धको माहोललाई विषयान्तर गरेका यी चण्डालले अहिले महाधिवेशनका नाममा भक्तहरूको जम्बोरी गर्न लागेजस्तो देखिन्छ । उनी हाकाहाकी भनिरहेकै छन्, महाधिवेशनमा मैले सम्बोधन गर्ने हो, काम तमाम । अरू केही हुँदैन ।’
यो भनेको ‘एमाले भनेकै म हुँ, म जे भन्छु त्यही मान भन्ने फर्मान जारी गरेको त हो । जेनजी आन्दोलनका नवयुवाहरूका हत्यारा ओलीको यो हैकमले एमाले भनेको ओलीको टाट्नोभन्दा बढी केही हैन भन्ने नै देखाउँछ । जो यो टाट्नोमा बाँधिएर ओलीले दिएको घाँस खान तयार हुन्छ, ऊ त्यहाँ बस्छ । उनले भनेकै छन्, जसलाई जान मन लाग्छ, गए हुन्छ ।
विडम्बना यो टाट्नोमा बाँधिनेको कमी छैन । पुराना त छँदैछन्, नयाँ पनि भित्रिन तयार छन् । पछिल्लोपटक रामकुमारी झाँक्री पनि घुम्दैफिर्दै त्यही भित्रिएर घाँटीमा दाम्लो झुण्ड्याउन पुगेकी छन् । कुनैबेला ओलीको विरोधमै सर्वश्व देख्ने उनी अहिले उनै ओलीको देवत्करणमा श्वास फेरिरहेकी छिन् । गणतन्त्रकी एक आइकन रामकुमारीको व्यक्तित्वको यो स्खलन आफैँमा एक मानक हो । आखिर यो सब के का लागि ? ढिलोचाँडो यसको उत्तर रामकुमारीले दिन पर्ला नै । तर, उनी यति स्खलित भैसकिन् कि अब उनको उत्तर स्वयंले पनि उनीमाथि खिसिट्यूरी गर्छ ।
विघटित संसद्को तेस्रो ठूलो दल माओवादीका अध्यक्ष प्रचण्डको त कुरै भएन । उनी आफ्ना लागि के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने नेपाली राजनीतिका अजीव पात्र हुन् । उनले यस बीचमा पार्टी मात्रै हैन, माओवाद नै त्यागिदिए । त्यो सबै के का लागि ? फेरि पनि पार्टी सत्ता कब्जा गरेर त्यसैको बैशाखीमा सरकारी सत्ताको स्वाद चाख्नलाई नै हो । यसका लागि उनले अर्का पदलम्पटलाई मिसाएर नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् । भाष्य जे बनाउन खोजे पनि यो भनेको प्रचण्डको निर्देशन र माधवको सहनिर्देशनमा मञ्चन गरिएको एक गरीवखानाको नौटङ्की नै हो ।
यो त थरिथरिका पुराना पदलोलुप राजनीतिक लम्पटहरूको कुरा भयो । नयाँ भनिएकाको नकचरो ताल पनि उस्तै छ । यसको रोल मोडल हुन्, रवि लामिछाने । अहिले उनी धरौटी राख्दा पनि छुट्न नसक्ने गरी ठगीको अभियोगमा खोरमा छन् । तर पनि उनी कुनै पनि हालतमा पार्टी सत्ता छोड्न चाहँदैनन् । खोर बाहिर हुँदा पनि त्यही केटी चाहिन्छ भन्ने तहमै ओर्लेर गृह तथा उपप्रधानमन्त्री पदमै उनले आफ्नो श्वास अड्काएका थिए । यसले के सिद्ध गर्छ भने पदलोलुपताको मामलामा रविले छोटो अवधिमै ओली, प्रचण्ड र देउवालाई पनि पछाडि पारिदिए । उनकै लागि रास्वपा भन्ने पार्टी पनि सती गयो र केही गर्छन् भन्ने आस लागेका थुप्रै नयाँ छिमलका नेताहरू पनि दुई वर्ष नपुग्दै दुङ्दुङे बोकाजस्तै गन्हाए । नयाँका नाममा भएको यो दर्दनाक विसर्जन पनि जेनजी आन्दोलनको पृष्ठभूमी हो ।
सक्किने तर नसच्चिने !
जेनजी आन्दोलनपछिको नेपाली राजनीतिको पाठ पल्टाएर हेर्ने हो भने आफ्नै विरुद्धको यति ठूलो आन्दोलनबाट पनि नेपालका स्थापित राजनीतिक दल तथा तिनका नेताहरूको मतिमा कुनै परिवर्तन देखिएको छैन । उनीहरूले जेनजी आन्दोलनको गति र समयको चापअनुसार आआना राजनीतिक दललाई पुनर्गठन र रूपान्तरण हुन नै दिएका छैनन् ।
यस बीचका उनीहरूका कथनी र करणीले त्यसैका सबुत प्रमाण हुन् । यसले के देखाउँछ भने बरु उनीहरू सक्किन तयार छन् तर सच्चिन तयार छैनन् । यो भष्मासुर प्रवृति हो । यसबाट उनीहरू त सक्किन्छन् नै जनताले आस गरेका केही नेताहरूको भविष्य र इतिहास भएका राजनीतिक दलहरूको भविष्य पनि स्वतः सकिन्छ । त्यसका लागि प्रजा परिषद् र टंकप्रसादको पाठ पढे पुग्छ ।
समय नेपाली इतिहासको एक पेचिलो मोड अगाडि आएर ठक्क अडिएको छ । यस्तो अवस्थामा गर्ने के त ? आफैँमा यो एक यक्षप्रश्न हो । तर, यसको सपाट उत्तर पनि छ । त्यो भनेको पहिला त ती दलमा भएका स्वाभिमानीहरूले आफ्नो विवेक जगाउने र विद्रोह गर्ने नै हो । त्यसो गर्न सकियो भने उनीहरूको भविष्य त बाँच्छ नै, दल पनि बाँच्छ । तर त्यसो गर्न सकिएन भने अन्ततः जनता जागेर उनीहरूलाई किनारा लगाउनेछन् । पछिल्लो समय पहिलोभन्दा पनि दोस्रो सम्भावना मुखरित हुँदैछ । यद्यपि, यो प्रिय छनोट हैन र हुनु पनि हुन्न ।
जेनजी हत्यारा ओली र उनको मतियार देउवालाई शीरमा लिएर एमाले र कांग्रेस फागुन २१ को चुनावमा जानेबित्तिकै त्यसको परीक्षण भैहाल्छ । आफ्ना लागि जे पनि गर्ने प्रचण्ड र रवि अनि तिनीहरूका प्राइभेट लिमिटेड कम्पनीको हालत पनि ओली र देउबा कम्पनीको भन्दा भिन्न हुँदैन ।
जनता आफ्ना शत्रु हराउने शर्तमा जसलाई पनि जिताउन स्वतन्त्र हुन्छन्, छन् । जनता जागेर सार्वभौम भए भने कसको दैया चल्दैन । इतिहासका हरेक अध्यायको निचोड यही हो ।











