
अधिनायकवादी सोचबाट अगाडि बढिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै चेतेका छैनन् । उनले जेनजी आन्दोलनलाई एमालेविरुद्ध पश्चिमा शक्तिको षड्यन्त्र हो भनेर मात्र बुझिरहेका छन् । त्यसैले जेनजी आन्दोलनविरुद्ध पश्चिमा शक्तिलाई चेतावनी दिन काठमाडौंमा जनप्रदर्शनको तयारी गरिरहेका छन् । एमालेको यो विरोध प्रदर्शन आगामी फागुन २१ गते तोकिएको निर्वाचन बिथोल्ने षड्यन्त्र हो ।
जेनजी आन्दोलनबाट लखेटिएका ओलीमा निर्वाचन सामना गर्न सक्ने मनोविज्ञान अझै विकास नभएकाले उनी विदेशी शक्तिकै आडमा पुनः सत्तामा फर्कन चाहन्छन् । त्यसैले एमालेले निर्वाचनलाई भन्दा संसद् पुनःस्थापनालाई प्राथमिकतामा राखेको हो ।
जेनजीको आन्दोलनबाट स्थापित वर्तमान सरकारलाई असफल बनाउन एमालेले अनेकौँ षड्यन्त्र बुनिरहेको छ । कथंकदाचित फागुन २१ गते निर्वाचन हुन सकेन र प्रतिनिधिसभा पुनःस्थापनाको ढोका पनि बन्द भएको अवस्थामा देशको राजनीति कता जान्छ भन्ने कुराको विश्लेषण एमालेले गरेको छैन । उसको एकमात्र उद्देश्य निर्वाचन बिथोल्ने कुरामा केन्द्रित छ ।
जेनजी आन्दोलन ओलीका लागि सोम शर्माको कथाजस्तै बन्यो । एमालेले भदौ २३, २४ गतेको विद्रोहलाई आकस्मिक, अस्वाभाविक र विनाशकारी भुइँचालोजस्तो भएको निष्कर्ष निकालेको छ । त्यो भुईँचालो आफ्नो कारणले गयो कि अरूको कारणले भन्नेतर्फ एमालेले विश्लेषण गर्न आवश्यक ठानेको छैन ।
भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमाथि गोली बर्साएर विद्यार्थीहरूको हत्या नगरेको भए, भदौ २४ गतेको अवस्था आउने थिएन । तर, तानासाही सोचबाट अगाडि बढेको तत्कालीन ओली सरकारले भदौ २३ को आन्दोलन दबाउन गत चैत १५ गतेको सुरक्षा रणनीति अवलम्बन गर्दा यो परिस्थिति उत्पन्न भएको हो ।
त्यही कुरा बुझेर सुरक्षा निकायका प्रमुखहरूले भदौ २३ गते नै ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, ओली राजीनामा दिन तयार भएनन्, उल्टै सुरक्षा निकायका प्रमुखहरूलाई झपार्न पुगे । जसका कारण भदौ २४ गतेको अवस्था आयो । त्यो अवस्थालाई सम्हाल्न सुरक्षा निकायले सकेनन् । यसैलाई एमालेले सुरक्षा निकायका कारण सरकार ढलेको निष्कर्ष निकालेको छ ।
यदि, भदौ २४ गते पनि सुरक्षा निकाय आन्दोलन दमन गर्न सडकमा आएको भए बंगलादेशमा जस्तै हजारौं नागरिकले ज्यान गुमाउने थिए । नेताहरूमाथि ठाउँका ठाउँ आक्रमण हुने थियो । धन्य त्यो अवस्थाबाट सुरक्षा निकायले नेताहरूलाई जोगाए र तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सफल भए । यसमा सुरक्षा निकायका नेतृत्वप्रति ओली कृतज्ञ हुनुपर्नेमा उल्टै सुरक्षा निकायमाथि दोष थोपर्नुले उनको आपराधिक मानसिकता उजागर भएको छ ।
जेनजी आन्दोलन एकैदिन एकैरातमा उठेको थिएन । आम नेपाली जनता वर्षौँदेखि भ्रष्टाचार, कुशासन, बेरोजगारी, बेथितिका कारण पिल्सिरहेका थिए । खासगरी तीसौं वर्षदेखि आलोपालो सत्तामा बसेका कांग्रेस, एमाले र माओवादीका कारण जनता आजित थिए । अझ, ओलीका कारण जताततै विग्रहको अवस्था थियो ।
खासगरी २०७७ साल पुस ५ गतेको संसद् विघटनपछि कम्युनिष्ट आन्दोलनले बाटो बिराएको थियो । त्यही दिनदेखि बग्दै आएको विद्रोहले ओलीको पतन निम्त्याएको हो । यसबाट ओलीले शिक्षा लिएर राजनीतिबाट अलग भए त्यो कम्युनिष्ट आन्दोलनका लागि सुखद क्षण हुने छ । अन्यथा, एमालेकै कारण देशमा अर्को दुर्घटना निम्तिने कुराप्रति समयमै सबै सचेत हुनुपर्छ ।











