
जेनजी आन्दोलनले देशमा ठूलो क्रान्ति ल्यायो । तर, त्यही क्रान्तिसँगै गहिरो संकटको बीउ पनि रोपियो । आन्दोलनपश्चात् देशको राजनीतिक संरचना दिशाहीन र अस्थिर बनेको छ । आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ, तर त्यसको साकारता अझै अन्योलमै छ । हुने/नहुने कुनै टुंगो छैन । आन्तरिक अविश्वासले शासनको मेरुदण्ड हल्लाएको छ । दलहरू अन्तरिम सरकारप्रति विश्वस्त छैनन्, सरकार पनि दलहरूको विश्वास जित्न सकेको छैन ।
अर्थतन्त्र डामाडोल छ । दिशाहीन छ । लगानीकर्तामा भरोसा छैन । निजी क्षेत्र ध्वस्त भइसकेको छ । भाटभटेनी सुपरमार्केटजस्ता रोजगारीका मुख्य स्रोतहरू पनि खरानीमा परिणत भएका छन् । रोजगारीको ग्यारेन्टी हराइसकेको छ । वैदेशिक रोजगारी पनि ठप्पजस्तै छ । भविष्य अनिश्चित र असुरक्षित बनेको छ । युवा पुस्ता के गर्ने ? कसो गर्ने भनेर आत्तिएको छ ।
सामाजिक सद्भाव र सहअस्तित्व पनि भड्किएका छन् । अराजकताले सीमा नाघिसकेको छ । सत्ता र दबाबको प्रतिस्पर्धामा सबै ‘मपाइ’ भएका छन्, कसले कसलाई छिटो जेल पठाउने भन्ने खेल चलिरहेको छ ।
त्यसमाथि सरकार आफैँ कमजोर छ । सुशीला कार्की नेतृत्वको यस अन्तरिम सरकार जनआन्दोलनको प्रतिफलजस्तो देखिए पनि विश्वास हराउँदैछ । दलहरूको समर्थन छैन, जनता आशावादी छैनन् । यहाँसम्म कि जेनजी आन्दोलनका समूहहरू पनि सरकारको आलोचनामा उत्रिएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग भइरहेको छ । सरकार गठनको दुई महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । भएका मन्त्रीहरू पनि विवादमा तानिन थालेका छन् ।
आन्दोलनको सत्य पत्ता लगाउन गठन गरिएको आयोग पनि निष्क्रिय देखिन्छ । आन्दोलनको मर्मअनुसार काम गर्न सक्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि छानबिनको साहस आयोगले देखाएको छैन । छानबिनको दायरा सीमित छ । २३ गतेका घटनाका अनुसन्धान गर्न चासै दिएको छैन । २४ गतेका सतही पक्षमात्रै अनुसन्धानको केन्द्रबिन्दु बनेका छन् ।
प्रहरी प्रशासन पनि राजनीतिक प्रभावमा लम्पसार परेको छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि अनुसन्धान गर्न दबाब दिँदा डा. निकोलस भुसालजस्ता व्यक्तिहरू ‘भड्काउ’ आरोपमा पक्राउ पर्छन् । तर निकोलस भन्दा कयौँ गुणा बढी ‘भड्काउ’ अभिव्यक्ति दिने महेश बस्नेतजस्ता दलका नेताहरूलाई छुन पनि सक्दैन । त्यति मात्रै होइन आयोगको निर्देशनलाई टर्दैन प्रहरी ! मागेको विवरण पनि पठाउँदैन । यसले राज्य संयन्त्र नै निष्क्रिय र विभाजितको प्रस्ट हुन्छ ।
त्यस्तै वर्ग, जात र पुस्ताबीचको मनोवैज्ञानिक दूरी पनि बढ्दै गएको छ । परिवर्तनको नारा आज अनिश्चित यात्राको प्रतीक बनेको छ । देश परिवर्तनको नाममा अनिश्चित यात्रामा धकेलिएको अनुभूति सर्वत्र छ । यस अन्धकारभित्र जनता निराश छाएको छ । मूल्यवृद्धि, बेरोजगारी, भ्रष्टाचार, सामाजिक विभाजनले राष्ट्रिय मनोबल घटाएको छ । आशा धुम्मिएको छ । जनता कुहिरोको कागजस्तो बनेका छन् ।
यता, दल र नेताहरूले सुध्रने छाँटकाँट देखाएका छैनन् । जेनजी आन्दोलनको नाममा शक्ति आर्जन गर्ने प्रयत्न जारी छ । पार्टी एकता स्वार्थका लागि भइरहेको छ । दल फुटेका छन्, जेनजी पनि एकजुट छैनन् । सबै आ-आफ्नै रोटी सेक्न लागिपरेका छन् । एकले अर्काको नेतृत्व स्वीकार गर्न तयार छैन ।
भन्ने गरिन्छ-आन्दोलनले नेता जन्माउँछ । तर इतिहासकै ठूलो यस आन्दोलनले नेतृत्व जन्माउन असफल भयो ! देशलाई वर्तमान संकटबाट उन्मुक्त पार्न सक्ने व्यक्तिहरू अहिलेसम्म देखिएका छैनन् । आगामी फागुन २१ मा निर्वाचन भए पनि त्यसले स्थायी निकास दिने विश्वास दिन सक्ने अवस्था छैन । संकट अझै मौन, अडिग र गहिरो छ । नेतृत्वको रिक्तताले राष्ट्रलाई दिशाहीनतामा धकेलिरहेकै छ ।
यस परिस्थितिमा राष्ट्रलाई उज्यालो दिशातर्फ लैजाने नायकको खोजी अपरिहार्य छ । तर अहंकार र दम्भको प्रबलताले नेपालमा शालीन नायकको अभाव स्पष्ट देखाउँछ । आशा गरिएका व्यक्तिहरूमा पनि अनुशासनभन्दा उच्छृंखलता बढी देखिएको छ । राजनीतिक दल र उनका नेताहरूले आफ्नो गल्ती स्वीकार्न सकेका छैनन् । जिम्मेवारी लिन तत्पर छैनन् ।
जेनजी नेताहरूको अवस्था पनि उस्तै छ । उनीहरूमा ‘हामीले जे भन्यौं त्यही हुनुपर्छ’ भन्ने घमण्ड छ । कतिपय त पुराना दलको बाटोमा लागेका छन् । यस्तो परिस्थितिले नेतृत्वमा शालीनता र जिम्मेवारीको कमी प्रष्ट भएको देखिन्छ । आज रूपान्तरणकारी नायक अतिआवश्यक बनेको छ, तर यहाँ सब खलनायक देखिएका छन् । व्यक्तिगत अहंकार र दम्भभन्दा माथि उठ्न सकेका छैनन् ।
संकटका बेला नेतृत्वको वास्तविक परीक्षा हुन्छ । आजको यथार्थमा नायकले सामना गर्नुपर्ने चुनौतीहरू केवल राजनीतिक र आर्थिक नभएर सामाजिक विखण्डन र मनोवैज्ञानिक पनि छन् । नायकको खोजी केवल नेतृत्वको खोजी होइन । त्यो त राष्ट्रिय चेतना, नैतिकता र प्रणालीगत सुधारको खोजी हो । वर्तमान युगको नायक केवल एक व्यक्ति नभई, समाज, प्रणाली र मूल्यको संगम हो, जसले अस्थायी मुक्ति होइन, दीर्घकालीन राष्ट्रिय पुनर्जागरण ल्याउन सकोस् ।
यस खोजीमा सबैले भूमिका खेल्नु पर्छ । नायकको वास्तविक शक्ति तब मात्र उजागर हुन्छ जब समाजले आफूलाई बदल्न तयार हुन्छ । अरुलाई दोष दिने मात्र होइन, आफ्ना कमजोरी र दोष चिनेर सुधारको बाटो अपनाउनु अब अपरिहार्य छ । जेनजी आन्दोलनले देखाएको सत्य यही हो-हामीलाई नायक चाहिन्छ, तर त्यो नायक केवल व्यक्तित्व होइन, प्रणाली, संस्कार र उत्तरदायित्वको प्रतीक हुनुपर्छ ।
संकटका बेला एउटा व्यक्तिले ल्याएको राहत अस्थायी हुनसक्छ । दीर्घकालीन परिवर्तन तब मात्र सम्भव हुन्छ जब संस्थाहरू जवाफदेही हुन्छन् । राजनीतिक नेतृत्वमा बहुआयामिक दृष्टिकोण हुन्छ । र, नागरिक सक्रिय रूपमा शासनमा सहभागी हुन्छन् ।
हामी अब ‘केहीले देश बचाउनेछ’ भन्ने निराश्रित भावनाबाट मुक्त हुनुपर्छ । परिवर्तनको नायक हामी आफैँ बन्न सक्छौं । बन्नुपर्छ । अवलोकक नभई सहभागी, दायित्व माग्ने र संस्थागत सुधारका लागि आवाज उठाउनुपर्छ ।
जेनजी आन्दोलनले दिएको महत्त्वपूर्ण पाठ यही हो– नायकको खोजीले केवल व्यक्तिपरक आशा जन्माउँछ । साँचो नायकत्व भनेको सामूहिक, संरचनागत र दीर्घकालीन प्रयासबाट निर्माण हुने हुन्छ । तर, हातमा हात काँधमा काँध मिलाउन ढिला गर्नुहुँदैन । नत्र बेलाबेला देशमा यस्तै आन्दोलन भइरहन्छ । र, देश संकटमा फसिरन्छ ।











