Logo
Logo

लैङ्गिक हिंसाविरुद्ध अभियानको सार्थकता


315
Shares

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्षझैँ यस पटक पनि विविध कार्यक्रमसहित चलिरहेको छ । १९९१ मा विश्वव्यापी रूपमा सुरु गरिएको यो अभियान कुनै प्रतीकात्मक ‘औपचारिकता’ मात्र होइन, महिलामाथि प्रणालीगत रूपमा दोहोरिने हिंसालाई अन्त्य गर्न समाजको चेतनामा गहिरो प्रभाव पार्ने अन्तर्राष्ट्रिय प्रयास हो । यसको मूल उद्देश्य हिंसालाई निजी पीडाको रूपमा होइन, संरचनागत समस्याको रूपमा बुझ्न प्रेरित गर्नु र त्यसविरुद्ध नीतिगत हस्तक्षेपदेखि सांस्कृतिक रूपान्तरणसम्मको दबाब सिर्जना गर्नु हो ।

बदलिँदो प्रविधि र विस्तारिँदो डिजिटल संसारले हिंसाका स्वरूपलाई झनै जटिल बनाइदिएको छ । त्यही प्रविधि दुरुपयोग भई हिंसाको नयाँ आयाम बन्न थालेको यथार्थलाई आत्मसात् यस वर्ष ‘सबै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गरौँ, एकजुट बनौँ’ भन्ने नारा अघि सारेको छ । नेपालको राष्ट्रिय नारा भने ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । यो नारा केवल प्रविधि प्रयोगको नैतिकता मात्र होइन । हिंसाविरुद्धको सामूहिक जिम्मेवारी, नागरिक सचेतना र कानुनी कठोरतामा जोड दिने एक गहिरो प्रतिज्ञा पनि हो ।

१६ दिने अभियानले लामो समयदेखि बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुतजस्ता शताब्दीौँदेखि जरा गाडेर बसेका कुप्रथाहरूविरुद्ध सङ्घर्ष गर्दै आएको छ । समाजका अन्धविश्वास, धार्मिक अपव्याख्या र पितृसत्तात्मक संरचनाबाट जन्मिएका यस्ता प्रथाले महिलाको अस्तित्व नै कुण्ठित बनाउने गहिरा घाउहरू इतिहासभर बोकेको तथ्य भयावह छ ।

तर समय बदलिएझैँ हिंसाका स्वरूप पनि निरन्तर रूपान्तरित भइरहेका छन् । डिजिटल युगमा प्रविधिले महिलालाई अनेक अवसरहरू प्रदान गरेपनि यसले सँगै हिंसाका नयाँ आयामहरू पनि जन्माइदिएको छ । अनलाइन ह्यारास्मेन्ट, साइबरबुलिङ, डीपफेक प्रविधि, अनलाइन ट्रोलिङदेखि लिएर व्यक्तिगत डाटाको दुरुपयोगसम्म डिजिटल क्षेत्र आज हिंसाको अत्यन्त घातक बनेको छ । यसको प्रभाव वास्तविक, गहिरो र दीर्घकालीन हुन्छ ।

अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो । डिजिटल हिंसा केवल भर्चुअल पीडा होइन, यसले महिलाहरूको मानसिक स्वास्थ्यमा गहिरो चोट पु¥याउँछ र उनीहरूको सामाजिक, शैक्षिक तथा पेसागत जीवनलाई समेत प्रतिकूल प्रभाव पार्छ । अभियानले प्रविधिको सही र उत्तरदायी प्रयोगको महत्वलाई जोड्दै यस्ता हिंसाविरुद्ध सक्रिय प्रतिकार गर्दछ ।

नेपालमा बढ्दो इन्टरनेट पहुँच र डिजिटल पहुँचसँगै अनलाइन हिंसाका घटनाहरू तीव्र रूपमा बढ्दैछन् । महिलामाथि हुने अनलाइन गाली, यौनिक हिंसासम्बन्धी सामग्रीको शेयरिङ, गोपनीयता उल्लङ्घन र साइबर धम्कीहरू सामान्य घटना बन्दै गएका छन् । तथापि, यी समस्याहरू केवल प्राविधिक चुनौती मात्र होइनन् । समाजका संरचनागत असमानता र सांस्कृतिक जडसँग गहिरो रूपमा जोडिएका छन् ।

पितृसत्तात्मक सोच, पुरुषहरूको प्रभुत्ववादी मानसिकता र महिलालाई कमजोर ठान्ने सामाजिक मान्यताले डिजिटल हिंसालाई केवल सम्भव बनाउँदैन, यसलाई निरन्तरता र संरक्षण पनि दिन्छ । यसैले डिजिटल हिंसाको समस्या समाधान गर्न प्रविधि मात्र होइन, सामाजिक चेतना र संरचनागत सुधार अपरिहार्य छ ।

यो वर्षको नारा शक्तिशाली छ । चेतना जगाउने प्रयासमा अर्थपूर्ण भूमिका खेल्छ । तर समस्या जति जटिल छ, त्यसलाई केवल नाराले समाधान गर्न सक्दैन । अझ खतरनाक पक्ष यो छ कि अभियान कतिपय ठाउँमा पुरुषलाई समग्र रूपमा दोषी ठहराउने, गाली गर्ने अभ्यासमा सीमित भइरहेका छन् । तर हिंसा कुनै एकल लिंगको जन्मजात गुण होइन, यो समाजले निर्माण गरेको संरचनागत असमानता, डिजिटल साक्षरताको कमी, दण्डहीनता र कमजोर नीतिको प्रतिफल हो । त्यसैले समाधान पनि केवल आलोचना र गालीमा होइन, संरचनात्मक सुधार, नीति निर्माण र सामाजिक जागरणमा खोजिनुपर्छ ।

महिला र बालिकामाथि हुने डिजिटल हिंसा केवल इनबक्सका अभद्र सन्देश वा अश्लील टिप्पणीमा सीमित छैन । यसले व्यक्तिगत गोपनीयता भत्काउँछ । आत्मसम्मानलाई गहिरो चोट पु¥याउँछ । मानसिक स्वास्थ्य कमजोर बनाउँछ । काम–पेशा तथा करियरका अवसरहरूमा बाधा पु¥याउन सक्छ । साथै, चरित्र हत्यामार्फत यसले सामाजिक हिंसा जन्माउँछ । तरपनि हाम्रो समाज अझै पनि डिजिटल हिंसालाई “इन्टरनेटको सामान्य घटना” भनेर उपेक्षा गर्दै आएको छ । जबसम्म यसलाई वास्तविक हिंसा, वास्तविक क्षति र वास्तविक अपराधको रूपमा स्वीकार गरिँदैन, तबसम्म यसको प्रभावकारी समाधान असम्भव छ ।

डिजिटल हिंसाको ठूलो हिस्सा पुरुष हुने सत्य हो । तर, सबै पुरुष अपराधी होइनन् । सबैलाई एउटै खाल्डोमा राखेर हेर्न मिल्दैन । त्यसैले हिंसा अन्त्यको अभियानलाई प्रभावकारी बनाउन पुरुषहरूलाई साझेदार, सहयोगी र क्रियाशील सहभागीको रूपमा समावेश गर्न आवश्यक छ । यसले मात्र लैङ्गिक हिंसाविरुद्धको प्रयासलाई दिगो र सार्थक बनाउँछ ।

सुरक्षित डिजिटल वातावरण निर्माण गर्न चाहने, महिला अधिकारको संरक्षणमा विश्वास राख्ने र लैङ्गिक समानताको पक्षमा अडिग पुरुषहरूको ठूलो समूह छ । यस अभियानले उनीहरूलाई साझेदारको रूपमा समेट्नुपर्छ, दुस्मनको रुपमा लिनु हुँदैन । सहकार्य र समझदारी बिना हिंसाविरुद्धको प्रयास प्रभावहीन रहन्छ ।

डिजिटल हिंसाका चुनौतीहरू मूलतः संरचनागत र प्रणालीगत छन् । पहिलो, दण्डहीनता–साइबर अपराध दर्ता, अनुसन्धान र कारबाही प्रक्रिया अत्यन्तै धिमा र जटिल छ । दोस्रो, डिजिटल अनपढ– धेरैलाई गोपनीयता सुरक्षा, प्रविधिको सुरक्षित प्रयोग वा कानुनी सहायता प्रक्रियाबारे पर्याप्त जानकारी छैन । तेस्रो, अनियन्त्रित प्रविधि कम्पनीहरू– प्लेटफर्ममा रिपोर्ट गर्दा पनि प्रभावकारी कारबाही हुँदैन । चौथो, सामाजिक दृष्टिकोण—पीडितलाई दोष दिने संस्कृति अझै प्रबल छ ।

यी चार चुनौतीहरूको समाधान गर्न १६ दिने अभियान केवल “पोस्टर टाँस्ने र गाली गर्ने” औपचारिकता बन्नु हुँदैन । वास्तविक प्रभाव, दीर्घकालीन परिवर्तन र हिंसाको अन्त्य तब मात्र सम्भव हुन्छ जब संरचनागत, कानुनी, सामाजिक र प्राविधिक आयाममा समग्र सुधार हुने वातावरण सिर्जना गरिन्छ ।

डिजिटल हिंसा केवल गाली-गलौज र नाराले अन्त्य हुँदैन । यसका लागि व्यापक संरचनागत सुधार आवश्यक छ । डिजिटल अधिकार र साइबर सुरक्षा शिक्षा अब स्कुलदेखि अनिवार्य गर्नुपर्छ, ताकि बालबालिकाले साना उमेरदेखि सुरक्षित प्रविधि प्रयोग र गोपनीयता संरक्षणको महत्त्व बुझुन् ।

साइबर अपराधका मुद्दामा द्रुत, पारदर्शी र पीडितमैत्री प्रक्रिया अपनाउनु अनिवार्य छ । अनलाइन प्लेटफर्महरूलाई कठोर जबाफदेही बनाउने नीति लागू गर्नुपर्ने आवश्यकता यथार्थ हो । पुरुष, महिला, परिवार र समुदाय सबैलाई समावेश गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । पीडितलाई कानुनी, मनोवैज्ञानिक र प्राविधिक सहयोग सहज उपलब्ध गराउने संरचना सुनिश्चित हुनुपर्छ । डिजिटल हिंसा भावनाको आवेग वा सामाजिक आलोचनाले होइन, राज्यको प्रतिबद्धता, समाजको जिम्मेवारी र सबैको सक्रिय सहकार्यले अन्त्य हुन्छ ।

हिंसाबारे आवाज उठाउने महिलालाई ‘समस्या उचाल्ने’ भनेर होइन, समाज सुधारको नेतृत्व गर्ने व्यक्तिको रूपमा सम्मान दिनुपर्छ । त्यस्तै, पुरुषलाई ‘शत्रु’ होइन, परिवर्तनका साझेदारका रूपमा हेर्नु जरुरी छ । यदि अभियानले पुरुषहरूलाई शत्रुका रूपमा होइन, सहयोगी र सहभागीका रूपमा अगाडि ल्यायो भने मात्रै साँचो परिवर्तन सम्भव छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डिजिटल हिंसाको अन्त्यमा एक महत्त्वपूर्ण कदम हो, जसले नेपालजस्ता विकासशील देशमा महिलाहरूलाई सशक्त बनाउने अवसर प्रदान गर्दछ । तर यसको सफलताको आधार पुरुष वा समाजलाई गालीमा सीमित नभई सबैलाई एकजुट बनाएर काम गर्नमा निर्भर छ । यो अभियान केवल चेतना फैलाउने औपचारिकता होइन, यो दिगो समाधान खोज्ने र व्यवहारिक परिवर्तनको अवसर हो । यदि हामी प्रविधिको सही प्रयोग गर्दै लैङ्गिक समानता स्थापित गर्न सक्षम भयौँ भने, हिंसारहित र समावेशी समाज निर्माण सम्भव छ । यसको लागि सरकार, समाज र व्यक्तिगत स्तरमा समान प्रतिबद्धता अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्