Logo
Logo

अन्तर्राष्ट्रमा नेपालको छवि


945
Shares



अन्तर्राष्ट्रमा नेपालको छवि धुमिल हुँदै गएको छ । पछिल्लो समय नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ग्रेलिष्टमा परेको छ भने, भ्रष्टाचार र सुशासनसम्बन्धी मामिला हेर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले पनि नेपाललाई भ्रष्टाचार मौलाएको देशको रूपमा हरेक वर्ष इङ्गित गरेको छ । अमेरिकी सरकारले नेपालीहरूमाथि अमेरिका प्रवेशमा कडा निगरानी राख्न थालेको छ । यो भनेको देशको छवि अन्तर्राष्ट्रमा धुमिल हुनु हो ।

गत हप्ता मात्रै स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा ‘अक्सफाम इन्टरनेशनल’ले पेश गरेको प्रतिवेदनमा नेपालमा भएको जेनजी विद्रोहलाई भ्रष्ट सरकारविरुद्धको सुनामीको संज्ञा दिएको छ । तर, नेपालमा जेनजी विद्रोहले उल्ट्याइदिएको भ्रष्ट सरकार चुनावी महोत्सवमा रमाइरहेको छ ।

जेनजी विद्रोहको जगमा उभिएको सुशीला कार्कीको सरकारले जुन अपराधका कारण भ्रष्ट सरकार विस्थापित भयो, त्यसलाई जेल सजाय गर्ने आँट नै गर्न सकेन । जबकि, जेनजीहरुले भ्रष्टाचारीहरूमाथि कारबाही र सुशासनलाई प्रमुख एजेन्डा बनाएर संघर्ष गरेका थिए, आखिर, ती अबोध बालबालिका गोलीको सिकार बने, सहिद भए ।

तिनको आत्माको शान्तिका लागि पनि सरकारले हत्यारा र भ्रष्टाचारीहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्ने थियो । त्यसमा सुशीला कार्कीको सरकार चुकेकै हो । भन्न त छानबिन आयोगको रिपोर्टपछि कारबाही गर्ने प्रतिबद्धता आउला, त्यस्तो उधारो प्रतिबद्धताको कुनै अर्थ छैन ।

निर्वाचन अगाडि नै त्यस्ता अपराधी, भ्रष्टहरूमाथि कारबाही गरेको भए कम्तीमा यी अनुहारहरू निर्वाचनको महोत्सवमा रमाउने थिएनन् । राजनीतिको आडमा भ्रष्टाचार गर्नु हुन्न भन्ने चेत नयाँ अनुहारमा पलाउँथ्यो । तर, दुर्भाग्य देशमा यति ठूलो दुर्घटना हुँदा पनि परिवर्तनको संकेत देखिएन । केवल सरकारको अनुहार मात्र फेरियो ।

के नेता, के व्यापारी, के गुन्डा, के बिचौलिया, के दलाल सबै विभिन्न राजनीतिक दलको आवरणमा निर्वाचनको मैदानमा होमिएका छन् । यसको एउटै उद्देश्य हो राजनीतिक सत्ताको आडमा कालो धनलाई सेतो बनाउने र आफ्नो अपराध पखाल्ने । नभए करोडौँ खर्च गरेर टिकट लिने र निर्वाचन जित्ने दुस्साहस यिनीहरूले किन गर्थे ? यस विषयमा चिन्ता व्यक्त गर्दै ‘अक्सफाम’ प्रतिवेदनले विश्वभरि नै चरम आर्थिक असमानताले ‘मुठ्ठीभर धनाढ्यहरुको अल्पतन्त्र’ रोज्ने कि आमनागरिकको लोकतन्त्र रोज्ने भन्ने प्रश्न उठेको प्रसङ्ग औँल्याएको छ ।

यो बाध्यताबाट नेपालको राजनीति पनि अछुतो छैन । टिकट बाँड्दादेखि भोट हाल्दासमेत करोडौँ खर्च गर्नुपर्ने अवस्थाले लोकतन्त्र लुटतन्त्रमा परिणत भएको जगजाहेरै छ । यसबाट लोकतन्त्रलाई जोगाउन हरेक तप्कामा इमानदार नागरिकलाई राज्यसत्तामा पु¥याउन निर्वाचन प्रणालीमा सुधार हुनु आवश्यक छ । अहिलेको समानुपातिक प्रणाली राम्रो भए पनि यसको व्यापक दुरुपयोग मात्र भएको छैन, संविधान जारी भएको १० वर्षसम्म पनि संविधान कार्यान्वयन नहुनु आर्थिक समृद्धि हासिल गर्न नसक्नु र राजनीतिक अस्थिरता निम्तनुले देशको भविष्यमाथि गम्भीर चिन्ता उत्पन्न भएको छ ।

त्यसैले अब निर्वाचनबाट आउने नयाँ जनादेशले देशको आमूल परिवर्तन गर्न आन्तरिक कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प हामीसँग छैन । देश बनाउने भनेको हामी नेपालीले नै हो, त्यसैले हरेक नेपालीलाई गरिखाने वातावरण देशभित्रै निर्माण गरिनुपर्छ ।

लोकतन्त्रकको माध्यमबाट देश परिवर्तन गर्न हिँडेकाहरू लोकतन्त्रको आवरणमा आफैँ परिवर्तन भएको परिणाम जेनजी विद्रोह हो । यस प्रकारको विद्रोह यस अगाडि कहिले पनि भएको थिएन, यस विद्रोहबाट हामीले पाठ सिकेनौँ र आर्थिक समृद्धि र सुशासनलाई ध्यान दिएनौँ भने यो भन्दा ठूलो विद्रोहको खतरा हामीसामु छ । त्यसैले बेलैमा चेतौँ ।

प्रतिक्रिया दिनुहोस्