‘हामीले लडेको, हामीले गोली खाएको, हामी मरेको, हाम्रो रगत बगेको र हामी अङ्गभङ्ग भएको तिमीहरूलाई सांसद अनि मन्त्री बनाउन हो त?’ यो कुनै क्षणिक आवेगको कहानी वा नारा होइन । यो त सहिद दिवसको दिन युवा पुस्ताले गरेको गम्भीर प्रश्न हो ।
यो प्रश्न आन्दोलनमा गोली खाएर बाँचेका, शरीरका अङ्ग गुमाएका र आजीवन पीडा बोकेर बाँच्न बाध्य बनाइएका योद्धाहरूको मुखबाट निस्किएको इतिहासको कठोर प्रश्न हो । यो प्रश्नमा केवल पूर्वाग्रह, व्यक्तिगत पीडामात्र होइन, तीन दशक लामो राजनीतिक संघर्ष, बलिदानको मूल्य र भविष्यको दिशामाथि उठाइएको गम्भीर प्रश्न हो ।
सहिद दिवस नेपालमा लामो समयदेखि औपचारिक कर्मकाण्डमा सीमित हुँदै आएको दिन हो, जहाँ सहिदका तस्बिरमा माला चढाइन्छ, ठूला शब्दमा भाषण गरिन्छ, भावुक कविता पढिन्छ र सामाजिक सञ्जालमा दुई–चार लाइनको श्रद्धाञ्जली पोस्ट गरिन्छ । तर सहिदहरूको रगतले जन्माएको राजनीतिक संरचना कति न्यायपूर्ण भयो त ? भन्ने प्रश्न सधैँ दबाइँदै आइएको छ र यही दबिएको प्रश्न यसपालि जेन–जी आन्दोलनका घाइते योद्धाहरूले उठाएका छन् ।
नेपाली राजनीतिक इतिहास हेर्दा बलिदान र सत्ताबीचको दूरी कहिल्यै बराबरीमा रहन सकेन । राणा शासनविरुद्ध लड्नेहरूले स्वतन्त्रताको सपना देखेका थिए, तर त्यो सत्ता थोरैमा मात्रै सीमित हुन पुग्यो । पञ्चायतविरुद्ध लड्नेहरूले प्रजातन्त्रको नारा लगाए तर बहुदलीय व्यवस्थामा पनि शक्ति उही वर्गका वरिपरि घुमिरह्यो ।
२०४६ को आन्दोलनले आशा जगायो, तर त्यसको फल आम जनतासम्म पुग्न सकेन । उही वर्गकै सत्तामा हालीमुहाली रह्यो । माओवादी जनयुद्ध र ०६२/६३ को जनआन्दोलनले इतिहासकै ठूलो बलिदान माग्यो तर त्यो बलिदानको राजनीतिक प्रतिफल आजसम्म न्यायोचित देखिँदैन ।
जनयुद्ध र जनआन्दोलनका दिनमा बन्दुक बोकेका, ढुङ्गा हानेका, गिरफ्तारी भोगेका, यातना सहनु परेका र गोली खाएर अपाङ्ग बनेका हजारौँ युवाहरू आज सामान्य जीवनयापनका आधारभूत सुविधाबाट समेत वञ्चित छन् । कतिले उपचार पाएनन्, कतिले शिक्षाको अवसर गुमाए, कतिपयले परिवार र भविष्य दुवै गुमाए । तर विडम्बना उनीहरूको नाम र बलिदानको प्रयोग गरेर सत्ता, पद र सुविधा उपभोग गर्नेहरू भने सेलिब्रेटी नेता को रूपमा स्थापित भए । सिधा अर्थमा भन्दा इतिहासलाई इमानदारीपूर्वक पढ्ने हो भने नेपालमा सत्ता कहिल्यै बलिदान गर्ने वर्गको हातमा पुग्न सकेन ।
यस्तै विकृति र विसंगतिबाट जेन–जी चेतनाको बीउ रोपिएको सत्य हो । यो चेतनालाई राजनीतिक दलहरूले आत्मसात् गर्नुभन्दा पनि आफ्नो फाइदाका लागि प्रयोग गरे । अचेल झन् जेन–जी पुस्तालाई केवल उमेर समूहको ब्रान्ड बनाएर प्रयोग गर्ने होडबाजी नै चलेको छ । सामाजिक सञ्जालमा आकर्षक अनुहार, डिजिटल लोकप्रियता र बोलचालको चातुर्य भएका तर आन्दोलनसँग असम्बन्धित पात्रहरूलाई युवा नेता घोषणा गरियो र यसरी नक्कली जेन–जी उत्पादन गर्ने कारखाना सञ्चालनमा आयो ।
सहिद दिवसमा घाइते योद्धाहरूले उठाएको प्रश्नले यही कारखानाको ढोका भत्काउन खोजेको प्रस्ट हुन्छ । किनकि अब युवाले सोध्न थालेका छन् ’तपाईँ कुन आन्दोलनमा कहाँ उभिनुभएको थियो ?’ तपाईँले कस्तो जोखिम लिनुभयो ? तपाईँले कस्तो मूल्य चुकाउनुभयो ? तपाईँको योगदान कहाँनेर के थियो ? आज देश निर्वाचनमय भएको छ । आफ्नो चुनावी अभियानमा सबैजसो दल र उमेदवारहरुले युवा पुस्ताको आन्दोलनलाई भजाउने कोसिस गरिरहेका छन् । यद्यपि यी प्रश्नहरूको उत्तर नदिई अब कुनै उम्मेदवार केवल फेसबुके लोकप्रियताका भरमा अगाडि बढ्न सक्ने अवस्था छैन ।
२०६२/६३ को १९ दिने जनआन्दोलन र त्यसपछिको राजनीतिक उथलपुथल नेपाली इतिहासको सबैभन्दा महँगो परिवर्तन थियो । जसले सयौँ सहिद र हजारौँ घाइते जन्मायो । माओवादी जनयुद्धका दिनमा गाउँ–गाउँबाट उठेका युवाहरूले गोली, जंगल र भूमिगत जीवन भोगे । कतिले आफ्नै आँखाअगाडि साथी परिवारका सदस्य गुमाए । कतिले शरीरका अङ्ग गुमाए, कतिले जीवनभरि निको नहुने मानसिक घाउ बोके । तर शान्ति प्रक्रियापछि बनेको राजनीतिक संरचनामा ती घाइते र बलिदान दिने नागरिकको स्थान कहाँ गयो ? भन्ने प्रश्न आजसम्म अनुत्तरित छ ।
राज्य पुनर्संरचना, संविधान निर्माण र गणतन्त्रको घोषणाले ऐतिहासिक उपलब्धि त दिलायो, तर त्यही परिवर्तनको मेरुदण्ड बनेका युवाहरू क्रमशः अप्ठ्यारोमा धकेलिँदै गए । घाइते योद्धाहरूको पुनस्र्थापना, उपचार र सम्मानका कुरा कागजमा सीमित भए । उनीहरूको पीडालाई अनुदान र आश्वासनले छोप्ने प्रयास गरियो, यद्यपि वास्तविक राजनीतिक सहभागिताको ढोका उनीहरूका लागि कहिल्यै खुलाइएन ।
इतिहासका यिनै कहाली लाग्दा पृष्ठभूमिमा टेकेर नै आज युवा पुस्ताको विद्रोह जन्मिएको हो । यो पुस्ताले इतिहास किताबका अक्षरहरूमा मात्र होइन, आफ्नै शरीर र जीवनमा आन्दोलनको मूल्य तिरेको छ । उनीहरूले सोधेको प्रश्न केवल वर्तमान नेताहरूलाई लज्जित गराउने उद्देश्यले होइन, यो इतिहाससँगको हिसाबकिताब हो । यदि बलिदान र योगदानको आधारमा प्रतिनिधित्व नहुने हो भने, आन्दोलनको नैतिक आधार नै कमजोर हुन्छ । हामीलाई इतिहासले बारम्बार देखाएको छ कि जब आन्दोलन गर्ने र शासन गर्नेबीचको दूरी बढ्छ, तब परिवर्तन खोक्रो बन्छ, नेपालमा पनि भएको यही हो ।
आन्दोलनपछि सत्ता कब्जा गर्नेहरू क्रमशः जनताबाट टाढिँदै गए । उनीहरूका लागि सहिद स्मरण दिवस भाषण र फोटो खिच्ने अवसर बन्यो । तर सहिद परिवार र घाइते योद्धाहरूको वास्तविक अवस्था सुधार्ने इच्छाशक्ति कहिल्यै प्राथमिकतामा परेन । त्यसैले आज जेन–जी आन्दोलनका घाइते योद्धाहरूले उठाएको प्रश्न केवल वर्तमानको असन्तोष होइन, यो विगतका सबै अपूर्ण न्यायहरूको सङ्ग्रह हो । आजको पुस्तालाई यो भ्रम बेचिँदै छ कि अघिल्लो सबै पुस्ता दोषी थियो, र अब हामी आएपछि सबै शुद्ध हुनेछ । यही भ्रमले कतिपयले चुनाव जित्ने सपना पनि देखेका छन् ।
सत्ता परिवर्तनभन्दा चेतना परिवर्तन कठिन हुन्छ । सिंहदरबार जलाउनु सजिलो थियो, तर सिंहदरबारभित्रको सोच जलाउन कसैले सकेन । आज नयाँ नाराले पुरानो सोचलाई रङ्ग मात्र लगाइरहेको छ, यदाकदा रङ्ग फेरिए पनि क्यानभास भने ठ्याक्कै उही छ ।
इतिहास कहिल्यै मौन हुँदैन, मौन त हामी हुन्छौँ । आज नयाँ युग, नयाँ पुस्ता र जेन–जीको राजनीति भनेर चर्को स्वरमा नारा लगाइँदै छ, तर त्यो स्वरले इतिहासको प्रतिध्वनि सुन्न चाहँदैन । सिंहदरबार जलाउने आगो र नरसंहार बन्दुक एउटै मानसिकताको फरक–फरक औजार मात्र थिए भन्ने सत्य स्वीकार गर्न नसक्दा हामी फेरि उही चक्रमा घुमिरहेका छौँ ।
यो देशले राजाको निरङ्कुशता मात्रै भोगेन, क्रान्तिको नाममा आएको निरंकुशतासमेत भोग्यो । फरक यत्ति हो—पहिले सत्ता वंशानुगत थियो भने अहिले गिरोहगत छ । इतिहासले देखाइसकेको छ कि जब कुनै राजनीतिक धाराले आफूलाई नै नैतिकताको एक मात्र ठेकेदार ठान्छ, त्यहीँबाट पतन सुरु हुन्छ ।
२०६३ पछि सत्तामा पुगेका क्रान्तिकारीहरू दरबार छिरे, तर दरबारको संस्कारले तिनीहरूलाई छोडेन । सिंहदरबार जलाउनेहरूले सिंहदरबारकै कुर्सीमा बसेर उही फाइल, उही कमिसन, उही बिचौलिया अँगालो हाले । आज जेन–जीको नाममा देखिएको आक्रोश पनि यहीँनेर अड्किएको छ ।
आजका नयाँ भनिने अनुहार पुरानालाई गाली गर्छन्, तर पुरानाको गल्तीबाट पाठ सिक्ने धैर्य राख्दैनन् । उनीहरूलाई लाग्छ कि फेसबुक लाइभ, भाइरल भाषण र कडा शब्द नै राजनीति हो । तर राजनीति स्मृतिविहीन भीड होइन, निरन्तर उत्तरदायित्वको प्रक्रिया हो । इतिहाससँग हिसाब नगरी अघि बढ्ने हरेक शक्ति अन्ततः इतिहासकै कठघरामा उभिन बाध्य हुन्छ । आजका जेनजी युवाहरूको प्रश्न पनि यही हो ।
लमही दाङ, हालः साउदी अरेबिया











