Logo
Logo

दिनको संकेत बिहानीले गर्छ


630
Shares


भदौ २३ गते सोमबार बिहान हाँसी हाँसी स्कुलको ब्याग बोकेर स्कुल हिँडेका छोराछोरीहरू अब कहिल्यै घर फर्किँदैनन् भन्ने कुरा कसरी विश्वास गर्ने ? आजसम्म पनि ती छोराछोरीहरू घर फर्केलान् कि भनेर तिनका आमाबाबु बाटो कुरेर बसेका छन् । तिनका आँखाबाट अहिलेसम्म पनि आँसु थामिन सकेको छैन । आफ्नो प्यारो सन्तान गुमाउनु पर्दाको पीडाले बेलाबेला उनीहरूको मन भक्कानिएर आउँछ ।

नेपालको इतिहासमा निहत्था स्कुले विद्यार्थीमाथि राज्यले अन्धाधुन्ध गोली चलाएर १९ जना कलिला विद्यार्थीहरूको हत्या गरेको यो नै पहिलो घटना हो । जुन घटनाका आरोपी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक कानुनको कठघरामा उभिएका छन् । कार्की आयोगको प्रतिवेदनले उनीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने कुरा उल्लेख गरेअनुसार यी प्रमुख अभियुक्तहरूमाथि बालेन सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

प्रधानमन्त्री, गृहमन्त्री, आइजीलगायतका हत्या अभियोगमा संलग्न व्यक्तिहरू कानुनी दायरामा आएको पनि यो नै पहिलो घटना हो । यस अगाडिका आन्दोलन दमन गर्नेहरूको छानबिन आयोग त बनाइयो, तर आजसम्म ती प्रतिवेदनहरू लापत्ता छन् । आजको यो घटनाले कानुनभन्दा माथि कोही छैनन् र निहत्था जनताको हत्या गर्ने जतिसुकै शक्तिशाली शासक किन नहोस्, तिनीहरू कानुनको कठघरामा उभिनै पर्छ भन्ने प्रमाणित गरिदिएको छ ।

नेपालमा जस्तै आजभन्दा दुई दशक अगाडिको कुरा गर्ने हो भने भ्रष्टाचार, कुशासन, बेरोजगारी र अन्याय अत्याचारबाट पीडित ट्युनिसिया, इजिप्ट, लिबिया, यमन र सिरियालगायतका देशका शासकहरूलाई त्यहाँका जनताले लखेटेको इतिहास छ । त्यसमध्ये ट्युनिसियाका राष्ट्रपति जीनएल अविदिन बेनले देशै छाडेर भागे, त्यहाँको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै इजिप्टका राष्ट्रपति होस्न मुबारकलाई प्रदर्शनकारीहरूको हत्याको जिम्मेवार ठह¥याउँदै जन्मकैदको सजाय दियो ।

यसैगरी, यमनका राष्ट्रपति अली अब्दुल्ला सालहे, लिबियाका मुअफर गद्दाफी, सिरियाका वसर अल असदको हालत पनि माथि उल्लेखित घटनाभन्दा फरक छैन । पछिल्लो घटना हेर्ने हो भने बंगलादेशकी राष्ट्रपति शेख हसिनामाथि त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । बंगलादेशमा विद्यार्थीहरूको विद्रोह दबाउन उनले सयौं निहत्था विद्यार्थीहरूको हत्या गरेकी थिइन् । पछि, उनलाई त्यहाँको सेनाले हेलिकप्टरबाट उद्धार गरेर भारत पु¥याएको थियो ।

नेपालमा चुलिँदो भ्रष्टाचारको अन्त्य, सुशासनको ग्यारेन्टी र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीहरूलाई दमन गर्न तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र आईजी चन्द्रकुवेर खापुङको निर्देशनमा तत्कालै नयाँ बानेश्वरमा १९ जना स्कुले विद्यार्थीको हत्या गरिएको थियो ।

अन्य देशका शासकहरूले गरेको क्रूर दमन र नेपालमा भएको हत्याको पृष्ठभूमि फरक भए पनि उद्देश्य एउटै थियो, आफ्नो शासन सत्ता जोगाउने । ‘अतिले खती’ निम्त्याउँछ भन्ने कुरालाई शासकहरूले समयमै बुझ्न नसक्दा उनीहरूकै कारण भदौ २४ गते जन्मियो, जसको मूल कारण भनेको यिनैको सत्तामा टिकिरहने अहङ्कारी प्रवृत्ति नै हो ।

जेनजी विद्रोहले ओलीजस्ता तानाशाह, निरंकुश शासन अन्त्य मात्र गरेको छैन, फागुन २१ गते सम्पन्न निर्वाचनबाट कांग्रेस, एमालेलगायतका पुराना दलहरूलाई कहिल्यै उठ्न नसक्ने गरी थेचारिदिएका छन् । तै पनि सर्पको टाउको फुटे पनि पुच्छर हल्लिएजस्तै उनीहरूले हिरासतमा पुच्छर हल्लाइरहेका छन् ।

अन्त्यमा, जेनजी विद्रोहको जगमा उभिएको दुईतिहाइको बालेन सरकारले जेनजी सहिदहरूको सपना पूरा गर्ने अभिभारा बोकेको छ । उनीहरूको सपना साकार पार्न ‘हत्यारा’हरुमाथि कडाभन्दा कडा कारबाही गरिनुपर्छ र, यो ५ वर्षभित्र ३५ वर्षदेखि कांग्रेस, एमाले र माओवादीले लोकतन्त्रका नाममा थुपारेका फोहरको डङ्गुर सफा गर्नुपर्ने छ । दिनको संकेत बिहानीले गर्छ भनेझैँ त्यसको सुरुवात गरेकोमा बालेन सरकारलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्