Logo
Logo

शंकाले लंका जलाउँछ


1.1k
Shares



भनिन्छ, निदाएको मान्छे भन्दा निदाएजस्तो अभिनय गर्ने मान्छे खतरनाक हुन्छ । कुनै बेला काठमाडौंको मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने बालेन साह प्रधानमन्त्री बनेपछि ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने कुरा निद्रामै बोले होलान् भन्ने लाग्दैन । त्यो सँगसँगै नेपालको सीमा समस्या समाधान गर्न बेलायतसँग पनि कुरा गर्ने जुन प्रसङ्ग आयो, त्यसको पछाडि झन् डरलाग्दो खेल लुकेको हुनुपर्छ ।

यही कुरा बुझेर होला भारतले तुरुन्त प्रतिक्रिया दिँदै नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न तेस्रो पक्ष आवश्यक नभएको बतायो । यसबाट बालेनको अभिव्यक्ति कति हलुका रहेछ भन्ने बालेन पुष्टि गर्दछ । सीमा सम्बन्धमा बालेन तरंगले कम्तीमा पनि भारतको ध्यान आकर्षित ग¥यो । यसलाई हामीले नकारात्मक रूपमा लिए पनि छिमेकीले पक्कै पनि सकारात्मक रूपमा लिएको हुनुपर्छ ।

नेपालका सीमाविद्हरूले कूटनीतिक र वार्ताका माध्यमबाट समाधान खोज्न सुझाव दिएका छन् । यो प्रसङ्ग यत्तिमै समाप्त भने हुँदैन । नेपाल–भारत सीमाका विषयमा विवाद भएकै कारण पटकपटक द्विपक्षीय वार्तामा यो मुद्दा उठ्ने गरेको छ । नेपालको कमजोर कूटनीतिका कारण यो समस्याका रूपमा रहँदै आएको छ । वास्तवमा, नेपाल र नेपालीका लागि यो सधैँ आलो घाउ बनेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यो घाउमा नूनचुक छर्कने काम गरेको छ ।

नेपाल–भारतबीच सबैभन्दा ठूलो विवाद लिपुलेक, लिम्पियाधुरा र कालापानीमा क्षेत्रमा छ । ब्रिटिसकालकै नक्सा र प्रमाणहरूले उक्त जमिन नेपालको हो भनेर प्रमाणित गरिसकेको छ । भारत–चीन युद्धमा भारतीय सेनाहरूले सन् १९६२ देखि उक्त जमिन कब्जा गरेको हो । त्यसैले यो विषयमा भारतले आफ्नो दाबी प्रस्तुत गरे पनि धेरै बोल्न चाहँदैन । किनकि त्यहाँ उसले गल्ती गरेको छ ।

कुनै बेला भारत–चीन युद्धको बेला भारतले आफ्नो सुरक्षाकर्मी त्यहाँ तैनाथ गरेको भए पनि अहिले भारत–चीनबीच सम्बन्धमा सुधार आएपछि दुवै देशले व्यापारिक नाका सञ्चालन गर्न सहमति जनाएका छन् । नेपालको भूभागबाट नेपालको अनुमतिबिना भारत र चीनले व्यापारिक नाका किन खोल्यो भन्ने विषयमा नेपालले भारतलाई पटकपटक ‘कूटनीतिक नोट’ पनि पठाइसकेको छ ।

यसै विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणताका त्यहाँका राष्ट्रपति सी जिनपिङलाई ‘ब्रिफिङ’ समेत गरिसकेका छन् । चीन र भारत दुवै देशलाई उक्त भूभाग नेपालको हो भन्ने कुरा थाहा नभएको होइन । तर, हाम्रो कूटनीतिक कमजोरीका कारण भारतले फाइदा उठाइरहेको छ । यसपटक परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणमा राष्ट्रियताका बारेमा दह्रो अडान लिएका छन् भने रवि लामिछानेको नयाँ दिल्लीमा भव्य स्वागतले नेपालप्रति हेर्ने भारतको दृष्टिकोण बदलिएको अनुमान गर्न सकिन्छ ।

दुईतिहाइको सरकार भएकोले पनि नेपाल–भारतबीचका समस्याहरू समाधान गर्न रास्वपालाई सहज छ । त्यसैले भारतले नेपाललाई प्राथमिकतामा राख्दै सरकार बन्नु अगाडि नै रवि र बालेनलाई बधाई दिएको थियो । भारत चाहन्थ्यो नेपालका प्रधानमन्त्री बालेन साहको पहिलो भ्रमण भारतबाटै होस्, तर प्रधानमन्त्रीको ‘अनिच्छा’का कारण त्यो सम्भव भएन र त्यो गतिरोध अन्त्य गर्न र पार्टी पार्टीबीचको सम्बन्ध स्थापित गर्न भारत अग्रसर भयो ।

नयाँ राजनीतिक परिस्थितिमा परिपक्व कूटनीतिको खाँचो छ । अपरिपक्व राजनीति र कूटनीतिले परिणाम दिँदैन । आजको विश्वमा नजिकको मित्र र टाढाको दुस्मन छुट्याउन सकिएन भने देश अफगानिस्तान अथवा युक्रेन बन्ने खतरा हुनसक्छ । त्यसतर्फ हामी सचेत नभए पनि हाम्रा छिमेकीहरू पक्कै पनि सचेत छन् । त्यसैले छिमेकीहरूले हामीसँग सम्बन्ध सुधार्न खोज्नु उनीहरूको बाध्यता पनि हो । त्यो बाध्यतालाई बुझेर अगाडि बढ्न सक्यौँ भने सम्बन्धमा सुधार आउन सक्छ । अन्यथा, दुवै छिमेकीले शंकाको दृष्टिले हाम्रो गतिविधिलाई नियाल्न थाल्यो भने त्यसको परिणाम खतरनाक पनि हुनसक्छ । राज्यसत्ता भनेको ख्यालठट्टाको कुरा होइन, जिम्मेवारीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्