काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश भूभागमा मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ। यसैगरी बागमती र लुम्बिनीका केही स्थानहरू तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने तथा तराई भूभागमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। यसै क्रममा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिन्छ। तराईतर्फ लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरू तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति भने मौसम थप सक्रिय हुने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली हुनेछ। रातिको समयमा देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।














