Logo
Logo

बालेनमाथि तरबार


126
Shares

-गत पुस १३ गते सभापति रवि लामिछाने र बालेन साहबीचको ७ बुँदे सहमतिअनुसार पार्टीको नेतृत्व सभापतिले र सरकारको नेतृत्व वरिष्ठ नेताले गर्ने भनिएको थियो । त्यसमा विधानको ११ (क) को ‘अ’ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलको नेता स्वतः पदमुक्त भएको मानिनेछ भनिएको छ ।

-विधानको दफा ६८ (१) ङ को प्रावधानअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद स्वतः रिक्त हुने विधान रास्वपा महाधिवशेनले पारित गरेको छ । त्यस्तै, पार्टी संसदीय दलको नेतालाई ‘प्रत्याह्वान’ गर्ने व्यवस्था पनि गरिएको छ । त्यसरी प्रत्याह्वानमा परेमा पनि संसदीय दलको नेताको पद स्वतः रिक्त हुनेछ ।

-रास्वपा विधानले पार्टीमा दुईभन्दा बढी वरिष्ठ नेता हुने प्रावधान पनि राखेको छ । विधानमा दुईभन्दा बढी पहिलोपटक वरिष्ठ नेताको व्यवस्था गरिएको हो ।

बालेन नेतृत्वको सरकारले सय दिन पूरा गर्दैगर्दा रास्वपाको विधान चर्चामा छ । रास्वपाको विधानमा उल्लेखित बुँदाले पक्कै पनि प्रधानमन्त्री बालेनलाई झस्काएको हुनुपर्छ । सरकारको सय दिने काम कारबाही हेर्दा सरकार लगामबिनाको घोडा बन्न खोजेको भान हुन्छ । त्यसलाई यो विधानले पक्कै पनि रोक्ने छ । अर्थात्, यो विधान बालेनमाथिको तरबार हो ।

हेक्का होला रास्वपाको चितवन महाधिवेशनमा प्रधानमन्त्री बालेनले आफू ‘एक्सप्रेस वे’मा कुदेको र बीचमा कतै नरोकिने बताएका थिए । अब यो विधानले एक्सप्रेस वेमा ‘स्पिड ब्रेकर’को व्यवस्था गरेको छ । एक्सप्रेस वेमा कुदेको छु भन्दैमा उनले ‘स्पिड ब्रेकर’लाई बेवास्ता गर्न मिल्दैन । यो विधान ट्राफिक नियमजस्तै हो । त्यो उल्लंघन गरे बालेन स्वतः कारबाहीमा पर्ने छन् ।

पार्टी सभापतिले यो दुर्दशा भोग्न नपरोस् भनेरै अनियन्त्रित गतिमा कुदेको सरकारलाई दुर्घटनाबाट जोगाउन विधानमा कडा बुँदाहरुको व्यवस्था गरेको हो भने, बालेन नेतृत्वको सरकारले पनि राज्यका सम्पूर्ण अंगलाई आफ्नो नियन्त्रणमा लिएर गन्तव्यमा नपुग्दासम्म गाडीको ‘स्पिड’ नरोकिने संकेत गरेको छ । कथंकदाचित, ‘स्पिड’मा कुदेको गाडीलाई पार्टीले अचानक ब्रेक लगाउन खोज्दा त्यो गाडी दुर्घटना पर्न सक्छ । त्यसमा पार्टी सभापति लामिछाने सचेत हुनैपर्छ ।

राजनीति भनेको फोहरी खेल हो । यसमा नियम हुँदैन । मधेशतिर एउटा भनाइ छ– ‘जिसका लाठी उसका भैस’ यो कुरा बालेनले राम्रैसँग बुझेका छन् । त्यसमाथि उनको स्वभाव आफ्नै खालको छ । उनलाई चित्त बुझेन भने उनले आफूलाई जे मन लाग्यो, त्यो गर्ने छुट उनलाई छ । उनको विगतको स्टाटस हेर्ने हो भने पनि उनी ‘अराजक’ शैलीका मान्छे हुन्, देश बनाउने हुटहुटीले मात्र उनी राजनीतिमा हामफालेका हुन् भन्ने बुझ्न गाह्रो छैन । विधानमा जेसुकै लेखिएको भए पनि बालेन निर्देशन मान्ने मान्छे होइनन्, निर्देशन दिने मान्छे हुन् ।

दुईतिहाइको सरकार नेपालमा पहिलोपटक रास्वपाले मात्र बनाएको होइन, ०१५ सालमा कांग्रेस र ०७४ सालमा नेकपाले पनि बनाएका थिए । ती सरकारहरु अरुका कारणले नभई आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वले ढलेको उदाहरणहरु छन् । विगतको तीतो अनुभवबाट शिक्षा लिनुबाहेक पार्टी सभापति लामिछानेले रबरको डोरीलाई धेरै तन्काउन खोज्दा डोरी चुडिन सक्छ । पाँचै वर्ष बालेनलाई प्रधानमन्त्री स्वीकारेका रविले सय दिन बित्दा नबित्दै विधानलाई तेस्र्याएर बालेनसँग मतभेद निम्त्याउने दुष्प्रयास गरे भने यो दुईतिहाइको सरकार पनि ‘नरहे बाँस, नबजे बाँसुरी’ बन्न सक्छ ।

अन्त्यमा, रास्वपाको यस विधानले पार्टी सभापतिलाई सर्वोच्च कमाण्डर त बनाएको छ, तर राज्यसत्ता अरुको हातमा हुँदा सभापतिबिना बन्दुकको सिपाहीजस्तो बनेका छन् । जसको नीति, उसको नेतृत्व भनेझैँ पार्टी सभापति नै प्रधानमन्त्री बन्ने संसदीय परम्पराजस्तै उनको हातमा राज्यसत्ता आयो भने मात्र पार्टी र सरकारबीच सन्तुलन मिलाउन सकिन्छ, नभए विगतमा दुई जना पाइलटले चलाएको विमान दुर्घटना भएजस्तो दुर्घटना रास्वपामा पनि निम्तन सक्छ ।

प्रतिक्रिया दिनुहोस्