काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ। योसँगै टोली प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ।

तीन खेल खेलेको काठमाण्डूले दुई जित र एक हार व्यहोरेको छ। काठमाण्डूले समान चार अङ्क बनाएको कर्णाली याक्सलाई रन रेटका आधारमा पछाडि पारेको हो।
बिहीबार काठमाण्डूले विराटनगरले प्रस्तुत गरेको ८४ रनको लक्ष्य ९.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। काठमाण्डूको जितमा ओपनर डेभिड वार्नरले अविजित ४४ रन बनाए। उनले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।
अर्का अविजित ब्याटर विलियम बोसिस्टोले २३ रन बनाए। उनले २४ बलमा तीन चौका प्रहार गरे। त्यसैगरी ओपनर साहिल पटेलले १० रन जोडे।विराटनगरका लागि रुपेश सिंहले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमा समेटियो। खेलमा विराटनगरले प्रतियोगिताकै निराशाजनक प्रदर्शन गर्यो। टोलीका प्रमुख ब्याटरहरू क्रिजमा टिक्न सकेनन्।
१.५ ओभरमा पाँच रन बनाएका ओपनर सहान जयसूर्यालाई जहाँदाद खानले रसिद खानबाट क्याच गराए। २.३ ओभरमा इमरान शेखलाई करण केसीले भीम सार्कीबाट क्याच गराउँदै पभेलियनको बाटो देखाए।
दुई ओभरपछि लोकेश बम पनि सस्तैमा समेटिए। उनलाई साहब आलमले जहाँदादबाट क्याच गराए। लोकेश १० रन बनाएर आउट भए। बसिर अहमदलाई ७.५ ओभरमा सहान अरच्चिगेले बोल्ड गरे। बसिरले पनि १० रन मात्र जोड्न सके।
बसिरपछि क्रिजमा आएका एन्जेलो म्याथ्युजले टोलीको इनिङ्स उकास्ने प्रयास गरे। उनले २६ रन बनाउने क्रममा तीन चौका र एक छक्का प्रहार गरे। तर, १६.२ ओभरमा सन्तोष यादवको बलमा ठूलो सट खेल्ने प्रयास गर्दा उनी क्याच आउट भए।
अरच्चिगेले नारायण जोशीलाई आठौँ ओभरको अन्तिम बलमा क्याच गराए। नवौँ ओभरमा शुभम रञ्जाने पनि सन्तोष यादवको बलमा विलियमको हातबाट क्याच हुन पुगे।
त्यसपछि तीन रन बनाएका आन्द्रे रसेल देव खनालको बलमा बाउन्ड्री प्रहार गर्ने प्रयास गर्दा आउट भए। रसेलको प्रहारलाई जहाँदादले बाउन्ड्री लाइन नजिकै उत्कृष्ट क्याच गरे।
रुपेश सिंह २६ रन बनाएर १६.६ ओभरमा पभेलियन फर्किए। उनी म्याथ्युजसँग ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयासमा थिए। टोलीको स्कोर ७४ रन हुँदा आठौँ विकेटका रूपमा उनी सन्तोष यादवको बलमा एलबीडब्लूको धरापमा परे।
उनीहरूबाहेक अपराजित पौडेलले दुई र कप्तान सन्दीप लामिछानेले अविजित तीन रन बनाए।
काठमाण्डूका लागि सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए। उनको इकोनोमी ३.६६ रह्यो। कप्तान करण केसी र सहान अरच्चिगेले समान दुई विकेट लिए भने जहाँदाद खान, साहब आलम र देव खनालको नाममा समान एक विकेट रह्यो।
यो हारसँगै विराटनगर रन रेटका आधारमा पछि पर्दै पाँचौँ स्थानमा झरेको छ।

















